अंग्रेजी जान्ने मात्रै शिक्षित होइन



अशोक शोकी
आज शिक्षालाई गुणमा भन्दा आवरणमा हेर्न थालिएको छ। निजी विद्यालयमा पढ्ने योग्य तर सामुदायिक विद्यालयमा पढ्ने कमजोर भन्ने सामाजिक धारणा छ। आजको सन्दर्भमा निजी विद्यालयमा आफ्ना बालबालिका पढाइएन भने समाजमा हेराइको दृष्टिकोण फरक हुने गरेको छ। उता भने अभिभावकविहीन वा सडक बालबालिका आज पनि विद्यालय जानबाट वञ्चित छन्। आर्थिक स्थिति कमजोर हुने परिवार पराजित मानसिकताका साथ सामुदायिक विद्यालयमा भर्ना हुन्छन्। विडम्बना त के भने, सामुदायिक स्कुलका शिक्षकले पनि आफ्नै स्कुलमा आफ्ना बालबालिका पढाएको देखिँदैन। त्यसैले पनि निजी विद्यालयले बिहानको सूर्यजस्तो चम्केर आर्थिक लाभ आर्जन गरिरहेका छन् भने सामुदायिक स्कुल अस्ताउन लागेको घामझैं बनेका छन्।

यही चैत ३ गतेदेखि कक्षा १० को परीक्षा (स्कुल एजुकेसन इक्जाम एसईई शुरु भएको छ। यसमा सहभागी विद्यार्थीको परिमाण हेर्दा प्रसन्नताको अनुभूति हुन्छ। ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी रहनु र त्यसमा छात्राको संख्या अधिक हुनुले शिक्षाप्रति नेपालीमा बढ्दो अभिरुचि प्रमाणित हुन्छ। विगतको एसएलसी प्रवेशिकालाई यस वर्षदेखि एसईई भनिएको छ। शिक्षा ऐनमा यस वर्ष संशोधन गरी कक्षा १२ मा मात्र एसएलसी हुने भएको छ ।

शिक्षा सचिव सन्तबहादुर श्रेष्ठले २०७३ फागुन ३० गते पत्रकार समेलन गरी जानकारी गराएअनुसार काठमाडौंमा २ सय ४५ सामुदायिक स्कुल र ८ सय निजी विद्यालय रहेका छन्। प्रस्ट छ, शहरी क्षेत्र निजी स्कुलमय भएको छ। मुलुकको अवस्था र स्रोत–साधन तथा समृद्धिका आधारमा सामुदायिक विद्यालयलाई प्रोत्साहित गर्नुपर्छ भन्ने चिन्तनको सख्त अभाव देखिन्छ। काठमाडौंका जिल्ला शिक्षा अधिकारीको भनाइमा सामुदायिक स्कुल ८५ वटामा सयभन्दा कम विद्यार्थी रहेका छन्। ८ वटा विद्यालयमा मात्र हजारभन्दा माथि विद्यार्थी छन्। निजी विद्यालयमा सयभन्दा कम विद्यार्थी हुनेको संख्या १८० छ। १९ वटामा मात्र हजारभन्दा बढी विद्यार्थी छन्।

राष्ट्रकवि माधव घिमिरे हुन् वा संस्कृतिविद् सत्यमोहन जोशी अथवा पत्रकार मदनमणि दीक्षित, राजनीतिज्ञ डा. बाबुराम भट्टराई हुन् वा चिकित्सक उपेन्द्र देवकोटा, सबैले यो उचाइ हासिल गरेको निजी विद्यालयमा पढेका कारण होइन। सरकार वा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीमा उच्च योग्यता हासिल हुन्न भन्ने होइन। हिजो निजी विद्यालय खोल्ने रिवाज नभएका कारण आज सरकारी निकायमा उच्च ओहदामा बसी जिम्मेवारी बहन गरिरहेका सबै सामुदायिक स्कुलमै पढेका विद्यार्थी छन्। सामुदायिक स्कुलमा पढेर क्षमता विकास भएको प्रमाण देख्दादेख्दै पनि हामी ऋणमा डुबेर आफ्ना छोराछोरीलाई किन निजी विद्यालयमा पढाइरहेका छौं ? छक्क लाग्छ। विद्यार्थी पढ्नै नगएपछि सामुदायिक स्कुलको हालत बेहाल हुन थालेको छ।

काठमाडौंको वसन्तपुरस्थित यट्खाको कन्या माध्यमिक विद्यालयमा १९ शिक्षक र ६२ विद्यार्थी रहेको दृष्टान्त धेरैलाई चकित बनाउन पर्याप्त छ। त्यस्तै भक्तपुरको इनाचोकमा रहेको समाज सेवा प्राविको एक रोपनी जग्गासहित राम्रै भौतिक सुविधा हुँदा पनि ३ कक्षामा एक विद्यार्थी छन्। दुई शिक्षकको दरबन्दी रहेको छ। जतिसुकै राम्रो पढाइ र भौतिक सुविधा भए पनि सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्न बाबुआमाको नौनाडी गल्छ, जस्तोसुकै निकम्मा भए पनि निजी स्कुलमा भर्ना गरेपछि उनीहरू आफ्नो प्रतिष्ठा बढेको ठान्छन्।

जिल्लाको कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढी जनसंख्या साक्षर भएमा साक्षरता जिल्लाको रूपमा घोषणा गर्ने प्रावधान छ। शिक्षा मन्त्रालयले वार्षिक रूपमा प्रकाशन गर्ने शैक्षिक तथ्यांक २०७३ अनुसार हालसम्म नेपालको २९ जिल्लामा सरकारले साक्षरता जिल्ला घोषणा गरेको छ। जसमध्ये सबैभन्दा बढी साक्षरता ललितपुर जिल्लामा सय प्रतिशत र सबैभन्दा कम दार्चुलामा ९५.४ प्रतिशत रहेको छ। तैपनि सामुदायिक स्कुल शिथिल हुँदै गइरहेका छन्। यसको कारण के हो त ? अभिभावकमा अंग्रेजी भाषाप्रतिको एकोहोरो मोह, शिक्षकहरूले गहनरूपमा छात्रछात्राको निगरानी नराख्नु, निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयका शिक्षकले विद्यार्थीमाथि कम स्नेहभाव राख्नु, सामुदायिक विद्यालयमा विद्यार्थीको असफलताप्रति शिक्षकहरू जवाफदेही नहुनु जस्ता कारण नै सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु हो।

सामुदायिक स्कुलमा पनि नर्सरीदेखि नै हेरविचार राख्ने महिला शिक्षिका राख्न जरुरी छ। महिलाले बालबालिकालाई हेरविचार गरी खेलाउन जानेका हुन्छन्। त्यस्तै कक्षा १ देखि नै १० कक्षासम्म नैतिक शिक्षा राख्न जरुरी छ। नैतिक शिक्षाले आमाबाबुको सम्मान, संस्कृति र सभ्यताको संरक्षण गर्न सिकाउँछ। अचेल बालबालिकालाई राष्ट्रभक्ति र देशप्रेमको पाठ सिकाउन छोडिएको छ। पाठ्क्रममा केही विषय राखे पनि त्यो परीक्षा उत्तीर्ण गर्नका लागि मात्र देखिन्छ, चरित्र निर्माणका लागि होइन। चरित्र निर्माण गराउने हो भने माध्यमिक स्तरको पढाइ पूरा गर्दा–नगर्दै विदेश पलायन हुने हतार हुने थिएन।

विदेश पलायनका कारण हाम्रो मुलुकमा युवायुवतीको खडेरी परिसकेको छ। कतिपय वृद्ध आमाबाबुलाई सन्तान भएर पनि नभएजस्तो र पाएर पनि हराएजस्तो भएको छ। हाम्रो शिक्षा देशका लागि होइन, विदेशका लागि जस्तो भएको छ। आज निजी विद्यालयमा भर्ना भएर बालबालिकाले अंग्रेजी बोलेको देख्दा दंग पर्ने बाबुआमा भोलि आफैंलाई परित्याग गर्दै हिँडेकोमा पछुताउनुपर्ने अवस्था छ। त्यसैले याद गरौं, अंग्रेजी बोलेर मात्र व्यक्ति शिक्षित हुँदैन।

प्रतिक्रिया दिनुहोस्