भ्रष्टाचार नियन्त्रण र सुशासनको खाँचो



खेमराज निरौला
भ्रष्टाचार नियन्त्रणका पक्षमा वकालत गर्दै आएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले यसपटक सार्वजनिक गरेको भ्रष्टचारसम्बन्धी सूचकांकले फेरि पनि नेपालको अवस्था दक्षिण एसियाली मुलुकमा भ्रष्ट मुलुकको स्थानमा अग्रपंक्तिमा देखाउनुले पुनः हामीलाई लज्जित बनाएको छ। यसबाट भ्रष्टाचार नियन्त्रणका पक्षमा भएका प्रयासहरू निष्प्रभावी र फितलो भएको अनुमान गर्न सकिन्छ। अघिल्लो वर्ष नेपाल २७ अंकका साथ १ सय ३०औं स्थानमा थियो भने यसपटक २ अंकको सूधारसहित १ सय ३१औं स्थानमा रहेको देखाएको छ। विश्लेषकहरूका अनुसार यो सर्वेक्षणमा सामेल गरिएका मुलुकहरूले नेपालको भन्दा धेरै सुधार गरेको अवस्था देखिएको छ। तर नेपालको अवस्था भने विगतको तुलनामा झनै खस्केको छ। दक्षिण एसियाली मुलुकहरूमा भूटान ६५ अंकसहित सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको सूचीमा छ भने कुल १८० अंकका साथ डेनमार्क र न्यूजिल्यान्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेका छन्।

यो अवस्थावाट के अनुमान लगाउन सकिन्छ भने, हाम्रो मुलुकमा भ्रष्टाचार नियन्त्रणमा सक्रिय निकायहरूभन्दा भ्रष्टचारीहरू बढी सचेत भएर लागेका देखिन्छन्। भ्रष्टाचारीहरूको सञ्जाललाई ती निकायहरू सफल भएको देखिएन। फलस्वरूप भष्टाचार कम हुनेभन्दा झन् बढेर गएको अवस्था छ। मुलुकको राजनीतिक बागडोर सम्हालेका प्रमुख राजनीतिक दलहरू नै भ्रष्टचारको मामिलामा तैं चुप मै चुप भैदिँदा भ्रष्टाचारले प्रश्रय पाएको छ। केही समयअगाडि पुष्पकमल नेतृत्वको सरकामा भएका मंन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिकका क्रममा अधिकांश मन्त्रीहरूले दाइजो र पेवाबाट प्राप्त भनी देखाएको दरिद्रताले हाम्रो राजनीतिक नेतृत्व गर्ने व्यक्तिहरू कति पारदर्शी र स्वच्छ रहेछन् भन्ने कुरा सारा नेपालीका सामु छर्लंग भएको छ। मुलुकमा सुशासन र विधिको शासनको प्रत्याभूत गराउने काम राजनीतिक दलहरूको हो र उनीहरूलाई खबरदारी गर्ने काम आमनागरिकको हो। तर तिनै दलका नेताहरू आफू सरकारमा पुगेपछि छलकपटको नीति लिएर अघि बढ्छन् भने मुलुक कसरी भ्रष्टाचारमुक्त होला ?

विगत करिब दुई दशकदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा स्थानीय निकायबाट प्रवाह हुने सेवा–सुविधामा चरम अनियमितता बढेको छ। नापी, मालपोत, कर, राजस्व र भन्सारजस्ता क्षेत्रमा व्यापक भ्रष्टाचार हुने गरेको अध्ययनले देखाएको छ। सानोभन्दा सानो कामको लागि पनि घूस खुवानुपर्ने विवशतामा सेवाग्राहीलाई पुर्याइएको छ। विचार र सिद्धान्तमा विपरीत ध्रुवतिर फर्किएका राजनीतिक दलहरू भागवण्डा र कमिसनको खेलमा भने एकठाउँमा भेला भई जस्तोसुकै मतभेद पनि पन्छाउँदै बाँडिचुँडी खाने काममा एकमत हुने संस्कारको अन्त्य हुन जरुरी छ। राजनीतिक तहमा हुने भ्रष्टाचार नै मुलुकको सुशासनको प्रमुख चुनौतीको रूपमा रहेको छ। राजनीति सही बाटोमा हिँड्ने हो भने मुलुकका यावत क्षेत्रहरू स्वस्र्फूत सही बाटोमा लाग्छन्। अख्तियारले राजनीतिक तहमा हुने भ्रष्टाचारलाई अलग्गै रूपमा हेर्ने हो भने पनि यो तहबाट हुने भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ।

अब सचेत नागरिक सबैले भ्रष्टाचारविरुद्ध आवाज उठाउने बेला आएको छ। भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्दछ। सरकारले पनि भ्रष्टाचारलाई जघन्य अपराध भनी परिभाषित गरेर नियन्त्रणतर्फ लाग्नुपर्दछ। मुलुकमा भ्रष्टाचार बढ्नुमा नीतिगत र कानुनी कमजोरीहरू पनि त्यतिकै छन्। भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरूमा हुने राजनीतिक हस्तक्षेप, दलीय स्वार्थ, बलियो कानुन बन्न नसक्नु र कानुन कार्यान्वयनमा सरोकारवालाको उदासीनताले भ्रष्टाचार बढ्ने गरेको छ।

हरेक सरकारी निकायमा हुने चरम भ्रष्टाचारका शृङ्खलाले नेपालको अवस्था लाजमर्दो अवस्थामा पुगेको देखिन्छ। विदेशी सहयोगको पारदर्शी ढंगले खर्च भए⁄नभएको अनुगमन गर्ने विश्वसनीय निकायको अभावले रकमको दुरूपयोग बढेको छ भने अर्कोतर्फ दाता राष्ट्रहरूको विश्वाससमेत हराउँदै गएको छ।

भ्रष्टाचार नियन्त्रणको विषयलाई कुनै पनि फोरममा प्राथमिकताका साथ उठाउन नसक्नुले नेपाली राजनीतिककर्मीहरू शंकाको घेरामा पर्दछन्। यदि भ्रष्टाचारविरुद्धको अभियानमा राजनीतिक दलहरू प्रतिबद्ध भएर लाग्ने हो भने अख्तियारको दायरा अझै फराकिलो बनाउनुपर्दछ। यो आँट र साहस राजनीतिक तहबाट आउने हो भने अवस्थामा सुधारका संकेत देख्न सकिन्छ। उदासीन र बेखबर राजनीति नै भ्रष्टाचारको मुख्य कारक तत्व बनेको छ। सामान्य जनताले अनुभूत गर्ने खालका कार्यक्रम ल्याएर जनमानसमा सकारात्मक सन्देश दिन नसक्नु नै राजनीतिक दलहरूको कमजोरी देखिएको छ। देश सप्रिएला कि भन्ने आशामा रहेका जनताको विश्वासमा आघात पुग्ने खेलमा कसैले पनि लाग्नु कदाचित उचित र क्षम्य हुँदैन। जनस्तरसम्म भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने काममा आजैबाट लाग्न सकिएन भने भूकम्प र नाकाबन्दीले तहसनहस बनेको मुलुकको अर्थतन्त्र भ्रष्टाचारजन्य गतिविधिले थप मर्माहत बन्ने अवस्था नआउला भन्न सकिन्न।

प्रतिक्रिया दिनुहोस्