चिचि पनि पापा पनि



स्थानीय चुनाव होला कि भन्ने धरहराले आशा गरे पनि पछिल्ला केही गतिविधिले भने अब नहुने हो कि भन्ने धरहरालाई पनि लाग्न थालेको छ। निर्वाचन आयोगले राप्रपाको विधान सच्याएको कुरा आएको छ। यदि राप्रपाले राखेको विचार गलत थियो भने यसअघिको चुनावमा कसरी उसले चुनावमा भाग लिन पाएको थियो त भन्ने कुरा पनि उठ्न थालेको छ। त्यति बेलाको संविधानअनुसार पाउने अहिले नपाउने व्यवस्था संविधानमा नै उल्लेख गरिएको हो भने संविधानमा के–के छ भन्ने कुरा अहिलेसम्म पत्तो नपाउने कस्तो चौथो ठूलो दल हो ?

यो कुरा झन् गम्भीररूपमा उठ्न पुगेको छ। जुन संविधानअनुसार सो पार्टीका अध्यक्ष अहिले उपप्रधानमन्त्री भइरहेका छन्, उनैको दल अब आन्दोलन गर्न जाने रे⁄ चुनाव पनि विथोलिन सक्ने रे⁄ क्या रमाइलो है, कस्को विरुद्धमा आन्दोलन गर्ने त ?

आफ्नैविरुद्ध पनि होला। कुन दिनदेखि एउटा मन्त्रालयको मन्त्रीविरुद्ध अर्को मन्त्रालयको मन्त्री आन्दोलनमा उत्रने कुरा पनि आउला। अब अहिले गृह मन्त्रालयविरुद्ध स्थानीय विकास मन्त्रालय आन्दोलनमा उत्रने होला। होइन आफ्नो विचार लिएर चुनावमा जाने, विधानमा सच्याउनुपरे सच्याउने जब चुनावमा दुई तिहाइ मत आउँछ त्यतिबेला आफूलाई लागेअनुसार संविधान संशोधन गर्न कसैले रोकेको छ र भन्या राप्रपालाई ? अनि केको आन्दोलनको जात्रा ? चिचीको पनि लोभ पापाको पनि लोभ गर्न पाइन्छ र ?

अब चुनाव विथोलियो भने मधेसवादी दल होइन राप्रपालाई जिम्बेवार ठान्नुपर्ने भएको छ। धरहराको छेउमै केहीको तर्क यस्तो चलिरहेका बेलामा यसले भने आफ्नो दूरबिन अन्यत्रै सोझ्याउनु ठीक ठान्यो। ठीक गरिएन त पाठकवृन्द ?

प्रतिक्रिया दिनुहोस्