सभ्य समाज निर्माणमा नागरिक शिक्षाको भूमिका



डा. देवीप्रसाद आचार्य

नागरिक शिक्षा सभ्य, अनुशासित, सहयोगी, परोपकारी समाज निर्माणको आधार हो। नागरिक शिक्षाले सामाजिक सद्भाव, एकता र मेलमिलाप मैत्री व्यवहार निर्माण गर्न सहयोग गर्छ। समाजमा मिलेर काम गर्ने, आफ्ना विचार अरुलाई बुझाउने र अरुका विचार पनि बुभ्mने बानीको विकासमा नागरिक शिक्षाले सहयोग गर्छ। यसका साथै आफ्नो र अरुको अधिकारको ख्याल गर्ने चेतनाको विकास गर्न नागरिक शिक्षाको विषयवस्तु उपयोगी हुन्छ।

हाम्रो समाज बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक र बहुजातीय समुदायको मिश्रित बसोबास भएको मुलुक हो। यी समुदायहरूका आ–आफ्ना मूल्यमान्यता, रीतिरिवाज, चालचलन, प्रचलन र संस्कृतिहरू छन्। आ–आफ्नै चाडपर्ब, भेषभुषा, पेशा र जीवनशैली छन्। यी विबिधतालाई एकले अर्काको मान्यता, इज्जत, सद्भाव र अस्तित्वलाई स्वीकार गरी समय अनुकूल सामञ्जसस्य गर्न नागरिक शिक्षाको विषयवस्तुले सहजीकरणको भूमिका खेल्दछ।

हाम्रो समाजमा राजनीतिक परिवर्तन भए तापनि नागरिक चेतनाको अभावले सामाजिक असमभ्mदारी, जातीय द्वन्द्व, क्षेत्रीय विभाजनजस्ता मनोविज्ञानले समाज भाँडिएको छ। समाजमा सहिष्णुता हराएको छ। राज्यसंग अधिकारको लडाइँका नाममा सामाजिक असमझदारी, जातिवाद र क्षेत्रीयवादलगायत राष्ट्रियताको विखण्डनउन्मुख द्वन्द्वमा मुलुकलाई धकेल्नु किमार्थ राम्रो होइन। अहिले राज्यले दस्तावेजीकरण गरेका अधिकारहरूको सम्बन्धमा जातीय र क्षेत्रीय असन्तुष्टिहरू देखिएका छन्। एकातिर राज्यबाट समान अधिकार पाउनु हरेक नागरिकको अधिकार हो भने अर्कोतिर सामाजिक सद्भाव र राष्ट्रिय अखण्डता कामय राख्नु पनि सबैको कर्तव्य हो। तसर्थ अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा हुन् भन्ने कुरा प्रत्येक मानिसले बुझ्न जरुरी हुन्छ, जो नागरिक शिक्षाको विषयवस्तु हो।

नागरिक शिक्षा प्रजातान्त्रिक शिक्षासँग पनि जोडिने भएकाले यसले राज्यका संवैधानिक अंगहरूका काम, कर्तव्य, अधिकार र जिम्मेवारीको बोध गराइदिन्छ। प्रजातान्त्रिक मुलुकका हरेक नागरिकले आफ्नो देशमा बनेका नीति, नियम, कानुन र यसले निर्देशित गरेका सिद्धान्तहरूको जानकारी राख्न आवश्यक हुन्छ। मानवअधिकार, सामाजिक न्याय र समावेशी प्रजातान्त्रिक राज्य व्यवस्थाका नीति नियम र कानुनहरूको ज्ञानको स्रोत पनि नागरिक शिक्षा भएकाले प्रत्येक व्यक्तिले नागरिक शिक्षाको ज्ञानबाट शिक्षित हुन आवश्यक छ।

नागरिक शिक्षामा व्यक्तिका आत्मकेन्द्रित चिन्तनहरूलाई फराकिलो पार्न सक्ने क्षमता हुन्छ। आज शिक्षालयहरूमा अध्ययन गर्ने शिक्षार्थीहरू भविष्यका नागरिक हुन्। कस्तो शिक्षा दिई कस्ता नागरिकहरू उत्पादन गर्ने भन्ने कुरा राज्यले तय गरेको राष्ट्रिय शिक्षा नीति, पाठ्यक्रम, पाठ्यपुस्तक र यसमा समावेश विषयवस्तुमा निर्भर हुन्छ। तसर्थ राज्यले विद्यालय तहदेखि उच्चतहसम्म नागरिक शिक्षाको विषयवस्तुलाई पाठ्यक्रम र पाठ्यपुस्तकहरूमा समावेश गरी शिष्ट, सभ्य, अनुशासित, सहनशील र प्रजातान्त्रिक नागरिकहरू उत्पादन गर्नुपर्दछ।

हाम्रो मुलुकमा लामो समयसम्म प्रजातान्त्रिक अभ्यास सफल हुन नसकेको राजनीतिक घटनाक्रमहरूले देखाएका छन्। देशमा राजनीतिक व्यवस्था बदलियो तर सामाजिक र आर्थिक अवस्था बदलिएन। राज्यले शिक्षामा ठूलो लगानी गरेको छ। शिक्षामा गरिएको लगानी बालुवामा पानी हालेझैं भएको जनगुनासो छ। आफ्ना छोराछोरीको शिक्षाका लागि आमाबुबाले पनि ठूलो लगानी गरिरहेका छन्।

एकातिर राज्यका संघसंस्थाहरू र प्रशासनतन्त्र जनसेवामैत्री नभएको जनगुनासो छ भने अर्कोतिर राज्यमा भ्रष्टाचार, नातावाद, कृपावाद, आफन्तवाद, भनसुन, राजनीतिक हस्तक्षेप व्याप्त छ। समाजमा आफ्नै सन्ततिहरूबाट जन्मदिने आमा–बुबाहरू अपहेलित हुने गरेका घटना पनि बढ्दै छन्। वैवाहिक जीवनका सम्बन्धविच्छेदका घटनाहरू बढिरहेको तथ्यांकहरूले पुष्टि गर्दछन्। नागरिक शिक्षाले व्यक्तिमा आफ्नो कर्तव्य र दायित्वबोधको चेतनाको विकास हुने भएकाले नागरिक शिक्षाबाट प्रशिक्षित हुनु आवश्यक छ।

नागरिक शिक्षा व्यक्ति, समुदाय, समाज र संघसस्थाहरूको सोचान्तरणको संवाहक र सामाजिक सबन्धको साँघु पनि भएकाले कर्तव्यनिष्ठ समाज निर्माणमा यसको महत्वपूर्ण भूमिका हुन्छ। नागरिक शिक्षाको आलोकले व्यक्तिमा प्रजातान्त्रिक आचरण, अनुशासित व्यवहार, देशप्रतिप्रेम र मानवतावादी चिन्तनको पनि विकास हुन्छ। त्यसैले नागरिक शिक्षाको महत्त्व भएको हो।

अहिले जनता विभिन्न राजनीतिक दलहरूको प्रभावमा बाँडिने र राम्रो राजनीतिक दलभन्दा हाम्रो राजनीतिक दल राम्रो भन्ने भावनाले प्रशिक्षित छन्। यस्तो नागरिक चेतना र संस्कृति भएको मुलुकमा जनतालाई नागरिक शिक्षाको विषयवस्तुले प्रशिक्षित गर्न आवश्यक हुन्छ। त्यस्तै राज्यमा दण्डहीनता र विधिको शासन हराएको छ। प्रजातन्त्र मनपरीतन्त्रमा प्रयोग हुँदा देशले विकासको गति लिन सकेको छैन। यस्तो अवस्थामा राज्यलाई देश र जनताका लागि काम गर्न नागरिक दबाबको महत्त्वपूर्ण भूमिका हुन्छ। राज्यले बाटो बिराउँदा सामुहिक नागरिक दबाबको आवश्यकता पर्दछ। यसका लागि नागरिक शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्दछ।

नागरिक शिक्षाले देशको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकालगायतका संवैधानिक अंगहरूको ज्ञानको क्षेत्रलाई पनि समेट्छ। हाम्रो घर, समुदाय, सामाजिक संघसस्था तथा शैक्षिक संस्थाहरूमा संविधानमा लेखिएका विषयवस्तुहरूमा नागरिक बहस, छलफल र अन्तरक्रिया हुने गरेको पाइँदैन। जनता संवैधानिक ज्ञानबाट वञ्चित छन्। नागरिक शिक्षाले राज्यको मूल कानुन र यसले व्यवस्था गरेका संवैधानिक अंगलगायतका नीति–नियम र कानुनहरूको प्रक्षिणमा गहन भूमिका खेल्दछ। तसर्थ नागरिक चेतनाको विकासका साथै लोकतान्त्रिक समाज निर्माण गर्न नागरिक शिक्षाको ठूलो महत्त्व हुन्छ।
(लेखक आचार्य शिक्षाविद् हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्