ट्रम्प कार्यकारी आदेश रोक्ने अदालतको फैसलाविरुद्ध अपिलमा जाने



वासिङटन, (एजेन्सी)
केही मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ यात्रा प्रतिबन्धसम्बन्धी कार्यकारी आदेशलाई मेरिल्यान्डका एक संघीय न्यायाधीशाले लगाएको रोकविरुद्ध अपिल गर्ने ह्वाइट हाउसले जनाएको छ।

अमेरिकाको न्याय विभागले मेरिल्यान्ड अदालतको उक्त फैसलाविरुद्ध भर्जिनियाको रिचमन्ड कोर्टमा अपिल गर्ने भएको छ। राष्ट्रपति ट्रम्पको नयाँ कार्यकारी आदेशमाथि मेरिल्यान्ड र हवाई राज्यको अदालतले रोक लगाएको थियो। मार्च ६ मा घोषणा गरिएको उक्त संशोधित यात्रा प्रतिबन्धसम्बन्धी आदेशमा ६ वटा मुस्लिम देशका नागरिक र शरणार्थीलाई प्रवेशमा आवधिक प्रतिबन्ध लगाएको थियो।

फोन ट्यापिङमा पुनः प्रहार
राष्ट्रपति ट्रम्पले फेरी एक पटक पूर्वराष्ट्रपति बाराक ओबामामाथि फोन ट्यापिङलाई लिएर आक्रमण गरेका छन्। अमेरिकाको भ्रमणमा रहेकी जर्मन चान्सलर एन्जेला मर्केलसँग ह्वाइट हाउसमा भएको भेटवार्तापछि ट्रम्पले भने– ‘हामीबीच केही समानता छ।’ उनले उनीहरू दुवैको फोन ओबामाले सुनेको हुनुपर्ने संकेत गरे। ओबामाको कार्यकालमा अमेरिकी गुप्तचर एजेन्सीले जर्मन चान्सलर एन्जेला मर्केलको फोन निगरानी गरेको तथ्य बाहिर आएको थियो। उक्त प्रकरणमा अमेरिका लज्जित हुनुपरेको थियो।

ह्वाइट हाउसमा भएको भेटवार्तापछि संयुक्त प्रेस सम्मेलनमा ट्रम्पले फोन ट्यापिङको मुद्दामा गरेको टिप्पणीमा मर्केल मौन रहिन्। ट्रम्पले भने– ‘हामी दुवैको फोन ट्यापिङ भएको थियो।’

यसअघि ट्रम्प र मर्केलले नेटो सैन्य गठबन्धन र व्यापारलगायत थुप्रै महत्त्वपूर्ण मुद्दामा छलफल गरेका थिए। ह्वाइट हाउसका प्रेस सचिव सेन स्पाइसरले अमेरिकी चुनाव प्रसारका क्रममा बेलायतको जीसीएचक्यू गुप्तचर एजेन्सीमार्फत् ट्रम्पको फोनमा निगरानी राख्न लगाएको बताएको विषयमा पनि ट्रम्पसँग प्रश्न सोधिएको थियो।

ट्रम्पले त्यसको जवाफमा स्पाइसरले उक्त बयान फोक्स न्युजमा आधारित रहेको बताए। उनले भने– ‘तपार्इंले मसँग होइन फक्स न्युजसँग सोध्नुपर्छ।’ अमेरिकी कंग्रेसमा रिपब्लिकन र डेमोक्र्याट नेताहरूले ट्रम्पको उक्त आरोपलाई खारेज गरेका थिए।

ट्रम्पविरोधी ट्विट ह्याक

विश्वकै सबैभन्दा ठूलो रेस्टुरेन्ट चेन म्याकडोनाल्डले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गरेको एउटा ट्विटले अमेरिकामा विशेष चर्चा पाइरहेको छ। कम्पनीको कर्पोरेट अकाउन्टबाट ट्रम्पलाई लिएर आपत्तिजनक ट्विट गरेको जनाइएको छ।
यद्यपि कम्पनीले आफ्नो उक्त अकाउन्ट ह्याक भएको बताउँदै २० मिनेटपछि उक्त ट्विट हटाएको बताए। तर, यो अवधिमा त्यसलाई २ सय पटक रिट्विट गरिसकेको थियो।

ट्विटमा लेखिएको छ– ‘तिमी राष्ट्रपति बन्न लायक छैनौं र हामी बाराक ओबामा पुनः फर्केमा खुसी हुन्थ्यौं।’ ट्विटमा राष्ट्रपति ट्रम्पको सानो हातलाई लिएर पनि टिप्पणी गरिएको छ। म्याकडोनाल्डको आवधिकारिक म्याकडानाल्ड कर्प ट्विटर अकाउन्टबाट बिहीबार उक्त ट्विट गरिएको थियो। करिब २० मिनेटपछि उक्त कम्पनीले ट्विट हटाइएको थियो। तर, त्यतिबेलासम्म २ सय पटक शेयर भएर सामजिक सञ्जालमा व्यापक चर्चामा आइसकेको थियो। कम्पनीले अकाउन्ट ह्याक भएको बताउँदै त्यसका लागि माफी मागेको छ।

ट्विटरले प्राइभेसी र सुरक्षाका कारण कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेको छ। राष्ट्रपति ट्रम्पको तर्फबाट पनी यस घटनालाई लिएर अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

म्याकडोनाल्डका प्रवक्ता टेरी हिक्कीले भने– ‘हाम्रो अनुसन्धानमा ट्विटर अकाउन्ट कसैले बाहिरी सोर्सले ह्याक गरिएको थियो। हामीले यसलाई सुरक्षित गर्नका लागि तत्काल लागि परेका छौं। कम्पनीको कर्पोरेट अकाउन्टबाट यो ट्विट गरिएको छ, यसका लागि हामी माफी माग्छौं।’

केही युजर्सले म्याकडोनाल्डको उक्त ट्विटका लागि म्याकडोनाल्डले दुखित हुनु नपर्ने प्रतिक्रिया दिएका छन्। केहीले यसलाई म्याडोनाल्डको सबैभन्दा उत्कृष्ट ट्विट भएको बताए।

प्रतिक्रिया दिनुहोस्