युरोपको चुनावलाई लिएर सतर्क फ्रान्सको चुनावमा रुसबाट ह्याकिङ हुने आशंका



पेरिस, (एजेन्सी)
अमेरिकी चुनावमा ह्याकिङ गरी डोनाल्ड ट्रम्पलाई मद्दत गरेको आरोप लागेको रुसको अर्को निसाना युरोपका तीन देशको चुनाव हुन सक्ने आशंका गरिएको छ।

यसमा फ्रान्स, जर्मनी र नेदरल्यान्ड्स पर्छन्। तर नेदरल्यान्ड्समा हालै भएको चुनावको नतिजाले कट्टर दक्षिणपन्थीलाई पाखा लगाएको छ। यसले युरोपको अन्य दुई प्रमुख राष्ट्रको चुनाव नतिजालाई पनि सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ।

यसबीच फ्रान्सेली सुरक्षा एजेन्सी (डीजीएसई) ले २३ अप्रिलमा हुन गइरहेको राष्ट्रपति चुनावलाई लिएर अत्यन्त सतर्क अपनाइरहेको छ। उसले आफ्नो रिपोर्टमा राष्ट्रपति चुनाव अगाडि दक्षिणपन्थी उम्मेदवार ली पेनलाई मद्दत गर्न, रुसविरोधी उम्मेदवारहरूको इमेल वेबसाइट ह्याक गर्न सक्ने उल्लेख गरेको छ।

मतदानपछिको मतगणनामा पनि असर पार्न सक्ने भएकाले हातैले मतपत्र गणना गर्ने निर्णय लिएको छ।

डीजीएसईले अमेरिकामा जस्तै रुसले फ्रान्समा पनि ह्याकिङ गर्नेदेखि लिएर सामाजिक सञ्जालहरूमा हल्लाहरू फिजाइरहेको जनाएको छ। उसले रुस समर्थक मेरिन ली पेन फ्रान्सको भावी राष्ट्रपति बनून् भन्ने चाहेको छ। रुसी एजेन्सीहरूबाट ली पेनको समर्थनमा सामाजिक सञ्जालमा लाखौं पोस्ट गर्नेछ र त्यसलाई भाइरल बनाउने प्रयास भइरहेको अनुमान गरिएको छ। ली पेनविरोधी उम्मेदवारको गोप्य इमेल पनि ह्याक हुने डर रहेको छ। ली पेनको जितपछि बेलायतमा जस्तै फ्रान्स पनि युरोपेली युनियनबाट बाहिर आउन सक्छ। यसले ईयू कमजोर हुनेछ र युरोपमा रुसको प्रभाव बढ्नेछ। तर, कमजोर ईयू अमेरिकाका लागि धेरै फाइदाजनक हुनेछैन।

यसले विश्व शक्तिराष्ट्रहरूबीचको सम्पूर्ण समीकरणमा असर पर्नेछ। अमेरिका ईयू नेटो गठबन्धन कमजोर हुनेछ र यसले रुस पुनः एकपटक विश्वको दोस्रो ठूलो शक्तिका रूपमा उदय हुनसक्छ।

फ्रान्सको पहिलो चरणको मतदान २३ अप्रिलमा हुनेछ। यस चुनावमा १० जना उम्मेदवार दौडमा रहेका छन्। तर, प्रमुख प्रतिस्पर्धा भने ४ जना उम्मेदवार मेरिन ली पेन, फ्राँस्वाँ फियो, बेनाय हेमन र इम्यानुल म्याक्रोबीच हुनेछ।

फेब्रुअरीमा भएका मत सर्वेक्षणमा ली पेन करिब २५ अंकले सबैभन्दा अगाडि बढेको देखाइएको छ। सर्वेक्षणमा फियो, बेनाय र म्याक्रोलाई १५ देखि २० प्रतिशत मत प्राप्त भएको थियो। मत सर्वेक्षणले पहिलो चरणमा कसैलाई बहुमत हासिल नहुने संकेत गरेको छ। ७ मेमा दोस्रो चरणमा उम्मेदवार फियो, ली पेन र म्याक्रोमध्ये दुईबीच प्रतिस्पर्धा हुन सक्छ।

आप्रबासी तथा मुस्लिमविरोधी ली पेन
नेसनल फ्रन्टका उम्मेदवार ली पेनको छवी आप्रबासी तथा मुस्लिमविरोधी रहेको छ। उनले गत महिना आफ्नो ती नीतिहरूलाई प्रस्ट पार्ने घोषणापत्र पनि जारी गरिसकेकी छिन्। उनले यसमा आफूले फ्रान्सलाई कट्टरपन्थी इस्लामबाट मुक्ति दिलाउने उल्लेख गरेका छन्। ग्लोबलाइजेसनबाट हुने नोक्सानबाट देशलाई बचाउने कुरा उठाएकी छिन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तै सबैभन्दा पहिला आफ्ना नागरिकलाई प्राथमिकता दिने मुद्दा अगाडि सारेकी छिन्। ईयूबाट बाहिरिनका लागि जनमत संग्रह गराउने उल्लेख गर्दै ‘यो हाम्रो देश हो’ भन्ने राष्ट्रवादी नारा दिएकी छिन्।

रिपब्लिकन उम्मेदवार फ्राँस्वाँ फियोको बारेमा विकिलिक्सले उनले पत्नी र बच्चाहरूका लागि लाखौं युरो सरकारी पैसा खर्च गरेको दाबी गरेको छ।

उनीहरूलाई सरकारी खर्चमा विदेश पठाएको उल्लेख गरको छ। यस विषयलाई लिएर जाँच पनि शुरु भइसकेको छ। शुरुमा ती दाबीहरूलाई आरोप मात्र भएको बताउँदै आएका फियोले त्यसलाई लिएर माफी मागिसकेका छन्। तर, उनी आफ्नो उम्मेदवारीमा डटिरहेका छन्।

रुसी सञ्चारमाध्यमहरूले फ्रान्सका अर्को सशक्त उम्मेदवार इम्यानुयल म्याक्रो अमेरिकी एजेन्ट भएको र समलिंगीप्रेमी भएको बताएका छन्। म्याक्रो सन् २०१४ देखि २०१६ को बीचमा अर्थ तथा डिजिटल मामिलामन्त्री बनेका थिए। उनले नयाँ पार्टी गठन गरेका छन् भने उनको लोकप्रियता पनि लगातार बढिरहेको छ।

यस पटक फ्रान्सको चुनावमा ब्रेब्जिट जस्तै फ्रेक्जिट प्रमुख नारा रहेको छ। त्यसै गरी इस्लामिक कट्टरपन्थी, दोहारो नागरिकता, राष्ट्रवाद, बेरोजगारी र आप्रबासी प्रमुख चुनावी मुद्दाका रूपमा देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्