काभ्रेमा अक्षर बहस ः नालीबेली



मोहन दुवाल
गत फागुन २० र २१ गते दुई दिन अक्षर–बहसका लागि काभ्रेको बनेपामा बृहत् साहित्य गोष्ठीको आयोजना ‘पाइला फाउन्डेसन नेपाल’ ले गर्यो। जनमत वाङ्मय प्रतिष्ठान नेपालको सह–आयोजनामा र अन्य थुप्रै जिल्लाका साहित्यिक संघ–संस्थाको सहयोग भएको उक्त साहित्य गोष्ठी दुई दिन चलेर समापन भयो। पहिलो दिन पहिलोचोटि नै काभ्रेको माटो टेकेपछि काठमाडौंबाट आएका साहित्यकारहरूको स्वागत काभ्रे बहुमुखी क्याम्पसमा भयो।

टीका, खादा ओढाउँदै सबैजसो सहभागीहरूलाई भुजङ्ग, काभ्रे क्याम्पसबाट प्रकाशित पुस्तकहरूका साथै जनमत मासिकसमेत भएको काभ्रे क्याम्पसको झोला प्रदान गरेर सबै अतिथिलाई प्रवचन–कक्षमा लाने काम भयो। काभ्रे क्याम्पस सञ्चालक समितिका अध्यक्ष लम्बोदर कायस्थको सभापतित्वमा भएको उक्त सङ्क्षिप्त परिचय गोष्ठीमा सञ्चालक समितिका उपाध्यक्ष तथा जनमत वाङ्मय पुस्तकालयका अध्यक्ष भएको नाताले मैले स्वागत गर्दै भनेँ– ‘जनमत वाङ्मय पुस्तकालय छुट्टै खालको लेखकीय पुस्तकालयका रूपमा स्थापना गर्न खोजिएको र उक्त पुस्तकालयमा विभिन्न राष्ट्रभाषाका पुस्तकहरूको सङ्ग्रह गर्ने योजना रहेकोले पुस्तक सहयोग गर्नका लागि सबै लेखकलाई अनुरोध छ।’ यसै गरी साहित्यकारहरूको स्वागत गर्दै क्याम्पस प्रमुख के.जी. बयदारले क्याम्पसको ऐतिहासिकता र क्याम्पसले गरेका उपलब्धिहरूको परिचय दिएर सभा विसर्जन गरे। र, सबै अतिथिहरूलाई खानाका लागि काभ्रे बहुमुखी क्याम्पस परिवारले उग्रचण्डी ब्याङ्क्वेटमा डोर्याएर लगे। खानापछि उग्रचण्डीकै प्राङ्गणमा अतिथिहरूलगायत आयोजकहरूसमेत उद्घाटन–सत्रका लागि जुटे।
उग्रचण्डी ब्याङ्क्वेटको प्राङ्गण। घाम मुस्कुराउँदै न्यानो बाँड्दै गरेजस्तो मौसम। ठूलो ब्यानरमा लेखिएको छ– ‘बृहत् साहित्य गोष्ठी–२०७३’। काठमाडौं र काभ्रेका साहित्यकारहरू मुखामुख गर्दै छन्। प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको प्रतीक्षामा छन् सबै–सबैहरू। सञ्चारकर्मी तथा कवि रामगोपाल आशुतोषले कार्यक्रमको सञ्चालन गर्दै मुख्य अतिथि सत्यमोहन जोशी, म आफैं मोहन दुवाल, छविरमण सिलवाल, सूर्यप्रसाद लाकोजू, रामसुन्दर देउजा, हरि अधिकारी, रेशम विरहीलाई मञ्चमा आसनग्रहण गराए। नरेन्द्रकुमार नगरकोटीको सभापतित्वमा भएको उक्त बृहत् साहित्य गोष्ठीमा आफ्नो मन्तव्यको क्रममा सत्यमोहन जोशीले राणाकालीन अवस्थाको साहित्य लेखनबारे चर्चा गर्दै साहित्य लेख्नु भनेको नै त्यसताका अपराध गरेको मानिन्थ्यो। न किताब पढ्न पाउनु, न गोष्ठी गर्न पाउनु, न निर्भीक भएर लेख्न पाउनु, त्यसताकाको अवस्था अँध्यारो युग रहेको सन्दर्भ कोट्याउँदै अहिलेका साहित्यकारहरू भाग्यमानी रहेको चर्चा गरे। नेपाली साहित्यले विश्वमा पहिचान देखाउन नसकेको सन्दर्भ कोट्याउँदै नेपालको साहित्य विश्वमा पुर्याउने अभियानमा लाग्नुपर्ने, कृतिहरू अंग्रेजी भाषामा अनुवाद हुनुपर्ने आफ्नो मनका कुराहरू फुकाउँदै नोवेल पुरस्कारबाट नेपाली लेखकहरू पुरस्कृत भएको हेरेर मर्न पाए हुन्छ भनी मन्तव्य राखे। ९७ वर्षको उमेरमा एकनासले आफ्नो विचार सुनाइरहँदा सबै उपस्थित साहित्यकारहरू छक्क परेर जोशीका भाषण सुनिरहेको देखिन्छ। नकामीकन, नहडबडाईकन आफ्ना कुराहरू सिलसिलावर ढङ्गले मिलाएर प्रस्तुत भइरहँदा जोशीको वजनदार मुहार हेरिरहूँजस्तो लाग्दो छ।
उद्घाटन सत्रमा अन्य वक्ताहरू थिएनन्। मलाई पनि बोल्न अनुरोध गरेअनुसार मैले उक्त गोष्ठीको समुद्घाटन सत्रमा बोल्दै भनेँ– ‘साहित्यकारहरू दल–बहुदलको चंगुलमा परेर विभाजित हुनुहुँदैन। भागवण्डाको संस्कृतिमा पर्दा र पार्दाका मुहारहरू हेर्न लायकका हुन्छन्। कुनै पनि स्रष्टाहरू पार्टीको भागवण्डामा पर्नुहुँदैन। देशमा अनेकौं विसङ्गतिहरू थपिएका छन्, ती विसङ्गतिहरू चिर्ने काम साहित्यकारहरूले गर्नुपर्छ। राजनीतिमा देखिएका भ्रष्टताले देशमा अराजकता थपिएको छ, कतै र कुनै पनि क्षेत्रमा सुशासन नदेखिनु यो देशकै लागि विडम्बना हो।’ कार्यक्रममा युवापुस्ताका चर्चित लेखक विजय सापकोटा, जो हाल बेलायतमा बसोवास गर्छन्, उनको कथासङ्ग्रह ‘अनावरण’ को विमोचन संयुक्तरूपमा सत्यमोहन जोशीसँग भएर गर्न पाइयो। नगरकोटीको सभापतित्वको मन्तव्यपछि पहिलो सत्र टुङ्गियो।
दोस्रो सत्रमा अक्षर–बहस शुरू भयो। काभ्रेको साहित्यिक इतिहास र परम्परामा नै नौलो अनुभूति र तरङ्ग दिने खालको बहस कार्यक्रम हुँदा श्रोतामाझ कौतुहलता थपिएको जस्तो भान हुन्थ्यो। बहसले निकै कुरा खोतल्यो। ‘काभ्रेली साहित्यिक संस्था ः अवस्था र गतिविधि’ बारे मैले काभ्रेमा रहेका र भएका समग्र साहित्यिक संघ–संस्थाको नालीबेली सुनाउन पाएँ। छविरमण सिलवाल र सूर्यप्रसाद लाकोजूले छुट भएको प्रसङ्ग र आ–आफ्ना वृत्तान्त सुनाए। रामसुन्दर देउजाले प्रस्तोताका रूपमा आफूलाई प्रस्तुत गरे। कथाको बहस चलाए अभय श्रेष्ठले। युवापुस्ताका दुईजना कथाकारहरू फूलमान बल र नवीन विभासले विषयवस्तु, शब्द–शैली र कुन परिवेश, सन्दर्भमा लेखिए आफ्ना कथा–प्रसङ्गहरू सटिक ढङ्गले राखे। कथाका अनेकौं आयामहरूको प्रसङ्ग चलाउँदै कथाकार बल, विभासले कथा विधाको मार्मिकताबारे बोल्दै आफूलाई प्रस्तुत गरे।
कवितामा बहस चलाउन देखा परे कवि तथा पत्रकार दीपक सापकोटा। बहसमा देखा परे हरि अधिकारी, रेशम विरही, रमेश श्रेष्ठ र निभा शाह। कवितामा आ–आफ्नो ठाउँ बनाइसकेका कविका रूपमा चिरपरिचित यी अनुहारहरूले नेपाली कवितामा समकालीन पुस्ताका कविहरू फरक चेतना र शैली बोकेर देखा परेको सन्दर्भ कोट्याउँदै अहिलेका कविताहरू उज्ज्वल रहेका सहभागी वक्ताहरूले बताए। सम्मेलनको अन्तिम सेसनमा हरि अधिकारी, डा. रामप्रसाद ज्ञवाली, रेशम विरही, निभा शाह, रमेश श्रेष्ठ, प्रोल्लास सिन्धुलीय, अभय श्रेष्ठ, दीपक सापकोटा, छम गुरुङ, हीरामाया घिसिङ, विवश पन्त, उर्मिका कोइराला, रमा अधिकारीलगायतले कविता वाचन गरे।
सम्मेलनको दोस्रो दिन ‘बालसाहित्यको प्रवृत्ति’ बारे आ–आफ्ना अनुभवहरू सुनाउन अनन्तप्रसाद वाग्ले, गङ्गा पौडेल र डा. सुमनराज ताम्राकार बहसमा उत्रे। हरिहर तिमल्सिनाले प्रस्तुत गरेको यस बहसमा बालसाहित्यको स्थिति र लेखनबारे आ–आफ्ना अनुभवहरू पाठकहरूसमक्ष प्रस्तुत गरे। त्यस सत्रमा नै प्रभात सापकोटाले ‘काभ्रेली काव्य सिर्जना परम्परा र प्रवृत्ति’का विषयमा सङ्क्षिप्तमा आफ्नो राय प्रस्तुत गर्दै वसन्त शर्मा, कृष्णप्रसाद पराजुली, मोहन दुवाल, अनिता लामा र फूलमान बलको काव्य सिर्जनाबारे परिचय गराए। रामसुन्दर देउजाबाट सम्पादित ‘काभ्रेली स्रष्टा परिचय कोश’ को सार्वजनिकीकरण हामी मोहन दुवाल र अनन्तप्रसाद वाग्लेले गर्यौं। उक्त कोशमा २१४ जना स्रष्टाहरूको सङ््क्षिप्त परिचय गराइएको छ।

शनिबारमा नै ‘साहित्यिक पत्रकारिता हिजो र आज’ मा आफूलाई प्रस्तुत गर्दै मैले ‘जनमत मासिक’ को प्रकाशनकालमा भोगेका दुःख–दर्दहरू, सुखानुभूतिका स्पर्शहरू र मनमा साँचेका सङ्कल्प र दह्रो इच्छाशक्तिले जनमतलाई ३४औं वर्षमा पुर्याएको सन्दर्भ सुनाएँ। साथमा रेशम विरहीले आफूले बटुलेका साहित्यिक पत्रकारिताका अनुभवहरू र सूर्यप्रसाद लाकोजूले ‘अक्षर–मार्गका व्यथा–कथाहरू’ सुनाए। पनौतीका राजाराम कर्माचार्यको प्रस्तुतिमा ‘संस्कृतिका विविध आयाम’ को बहस सञ्चालन भयो। उक्त बहसमा भक्तपुरका चर्चित संस्कृतिविद्हरू डा. पुरुषोत्तमलोचन श्रेष्ठ र विनोदराज शर्माले नेपाली संस्कृतिका विविध आयामहरूबारे यथार्थपरक परिचय सुनाए। ‘गीतसंगीतको पीडा’ विषयक बहसमा गायकहरू मच्छेश्वर सापकोटा, सुरेन्द्र श्रेष्ठ र रामहरि न्यौपाने प्रस्तुत भएको उक्त कार्यक्रमको समायोजन रामगोपाल आशुतोषले गरे। कविगोष्ठीमा कविता र गजल वाचन गर्नेहरूमा अनन्त वाग्ले, ईश्वर थोकर, रूपेश भट्टराई, नवराज पराजुली, नवीनप्रकाश श्रेष्ठ, दियेशरत्न शाक्य, नरेन्द्रकुमार नगरकोटी, अविरल ओझेल, हरिहर तिमल्सिना, रामसुन्दर देउजा, लक्ष्मी रुम्बा, दीपक सापकोटा, असीम सागर, अमर आकाश, सुरेन्द्र कार्की, अभय श्रेष्ठ, प्रोल्लास सिन्धुलीय, रामगोपाल आशुतोष, छविरमण सिलवाल, निर्भीकजङ्ग रायमाझी, ओतबहादुर खड्का, दीपक नेपाल, मंगल वादे छन्।
दुई दिनको अक्षर–बहसको प्रस्तुति नौलो र बृहत् नै लाग्यो। युवापुस्ताका साहित्यकारहरूको कर्मठता र सक्रियतामा भएको यो पाइला फाउन्डेसनको कार्यक्रममा विशेष सहयोग गरी साथ दिने जिविस, काभ्रेलाई विशेष धन्यवाद भनिदिनुपर्छ। राष्ट्रको सुन्दरतालाई अझ सुन्दर बनाइदिन कर्मशील हुँदै आएका स्रष्टाहरूका साथै सिर्जनाहरू राष्ट्रका धरोहर हुन्। सिर्जनालाई अर्थहीन सम्झिनेहरूको इतिहासमा चर्चा अवश्य हुनेछैन। पाइला फाउन्डेशन र मित्रहरू दिनमान गुर्मछान, अविरल ओझेल, शुकदेव थपलिया, श्रीराम समर्पण, निर्भिकजङ्ग रायमाझी र पल्पसा दाहालहरूको सक्रियता अझ साहित्यिक क्षेत्रमा मुखरित हुँदै जाओस्, शुभकामना छ।

प्रतिक्रिया दिनुहोस्