म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति भएको दोस्रो लेगमा रसियाको एफसी रोस्तोभलाई १–० ले हराएपछि युनाइटेडको क्वार्टरफाइनल यात्रा निश्चित भएको हो। उक्त जितपछि युनाइटेड दुई लेगको खेलबाट समग्रमा २–१ ले विजयी बनेको हो। युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो।

युनाइटेडका हेनरिक र जाल्टन इब्राहिमोभिचले गोलका लागि प्रयास गरे पनि असफल भएका थिए। खेलको ७०औं मिनेटमा भने हुँवा माटाले युनाइटेडका तर्फबाट गोल गरे। जुन गोल खेलकै निर्णायकसमेत बन्यो। यसअघि रसियामा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

क्वार्टरफाइनलमा स्थान पक्का गरे पनि युनाइटेडका लागि उक्त जित महँगो सावित भएको थियो। फ्रेन्च मिडफिल्डर पउल पोग्बा र ब्लाइन्ड चोटग्रस्त बनेपछि युनाइटेडलाई घाटा लागेको छ।

त्यस्तै शुक्रबार नै गरिएको युरोपा लिग ड्रमा युनाइटेडले बेल्जियमको एन्डरलेक्टलाई क्वार्टरफाइनलमा प्रतिद्वन्द्वीका रूपमा पाएको छ। स्पेनको सेल्डा भिगो र बेल्जियमकै जेन्कले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् भने नेदरल्यान्डको आयाक्स र जर्मनीको साल्के फोर तथा फ्रान्सको लियोन र टर्कीको बेसिक्टासले अन्तिम आठमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्