जापान विकासको शिखरमा पुग्नुको कारण



भुवन रोका

एकजना साथीले आफूले काम गर्दै गरेको कम्पनीको बोसले साह्रै नराम्रो गरी हप्काएको कुरा सुनाए। मैले पनि साथीको पीडा थोरै भए पनि बाँड्न सकिन्छ कि भनी चाख मनेर सुनिरहेँ। साथीले प्रसंग अगाडि बढाउँदै थपे, ‘सधैँ मेरो कामको प्रशंसा गरिरहन्थ्यो तर आज अचानक नमज्जासँग गाली गर्यो ’।

मैले सोधेँ, ‘धेरै ठूलो काम बिगारेका थियौ होला ?’
उनले भने, ‘काम त केही बिगारेको हैन, ५ मिनेट जति ढिलो भएको थिएँ।’
मैले फेरि सोधेँ, ‘किन ढिला भएको, आफ्नै कारणले हो कि ट्रेन ढिला भएर हो ?’
‘होइन, हिँड्दाहिँड्दै ढिला भयो’ साथीको उत्तर थियो।

मैले अक्क न बक्क हुँदै अब सधैँ समयमा पुग्ने कोशिश गर, त्यसपछि फेरि प्रशंसा गर्छन् भनेँ। किनकि विशेष कारणले ट्रेन ढिला भएको अवस्थामा स्टेसनबाट बाँडिने कागज लिएर गएमा सामान्यरुपमा लिने जापानिज कम्पनीहरू अन्य व्यक्तिगत कारणले ढिलो भएमा राम्रो मान्दैनन्।

जापान विकसित देशहरूमध्येको एक हो। प्रविधिको विकासमा पनि धेरै अगाडि रहेको जापान विकास हुनुमा धेरै पक्षको महत्वपूर्ण भूमिका रहेको छ। विशेषतः जापानिजहरूको निरन्तर मेहनत गर्ने क्षमता नै प्रमुख कारण हो। समयको गतिसँगै हिँड्न साहस गर्ने जापानिजहरूको अर्को महत्वपूर्ण पक्ष हो। सही काम, सही व्यक्तिले, सही तरिकाले समयको परिधिमा रहेर गर्ने हो भने असम्भव केही छैन भन्ने कुरा जापानको विकासबाट विश्वले सिक्न सक्छ। जापानमा हरेक कुरा समयको गतिसँगै हुन्छ।

जापानमा समयको महत्वः
जापानिजहरू अति नै मेहनती, इमानदार, सहयोगी र नम्र हुन्छन्। समयलाई अति नै महत्व दिने जापानिजहरू कहीँ–कतै ढिलो हुँदैनन्। विशेष कारण यातायातका साधनहरू ढिलो हुँदा तोकिएको समयभन्दा एक मिनेट ढिलो भए पनि साह्रै नम्र तरिकाले क्षमा माग्छन्। कार्यालय समयमा नै पुग्छन्। जस्तोसुकै महत्वपूर्ण वा सामान्य भेटघाट तय भएको भए पनि अति नै महत्व दिएर समयमा नै पुग्छन्। कुनै सेमिनार, गोष्ठी वा अन्य केही कार्यक्रम गर्नुपूर्व तालिका सार्वजानिक गरिएको हुन्छ। त्यो तालिकाअनुसार नै ठीक समयमा कार्यक्रम शुरु हुन्छ र तोकिएको समयमा नै समापन गरिन्छ। प्रमुख अतिथिदेखि सम्पूर्ण व्यक्तिहरू ठीक समयमा नै उपस्थित हुन्छन्। समयमा नै सबै काम गर्ने मेहनती व्यवहारले होला समयभन्दा ढिलो भएको काम र ढिलो गर्ने व्यक्तिलाई नराम्रो मान्छन् जापानिजहरू।

यहाँको रेल र बस सेवाः
जापानमा प्रविधिको विकासको उत्कृष्ट उदाहरणमध्ये एक रेलसेवा पनि हो। जापानको मागलेभ बुलेट ट्रेन संसारको सबैभन्दा छिटो कुद्ने ट्रेन हो। सामान्य ९ सय जनाभन्दा माथि यात्रु बोक्ने यो ट्रेन एक घण्टामा ६०३ किलोमिटर दौडिन सक्छ। विभिन्न विशेषता बोकेका छन् जापानका ट्रेनहरूले। त्यसमध्ये तोकिएको समयमा पुगेर यात्रुहरूलाई सहज गर्नु महत्वपूर्ण पक्ष हो। हरेक स्टेसनमा ट्रेनको समय तालिका राखिएको हुन्छ। त्यस तालिकाअनुसार नै गुडिरहेका हुन्छन्। ठीक समयमा स्टेसन पुग्ने र ठीक समयमा हिँड्ने भएकोले हतारमा कुद्दै गरेको यात्रु देखिए पनि समय भएपछि ढोका बन्द हुन्छ।

त्यस्तै बसहरूले पनि समय तालिकाअनुसार यात्रुहरूलाई सुविधा दिइरहेका छन्। सबै सार्वजनिक र निजी सवारीसाधनहरू आ–आफ्नो नियममा चलेको कारणले सवारीसाधनको चाप हुने ठाउँहरूमा पनि ट्राफिक जाम कतै देखिँदैन। एक मिनेट ट्रेन ढिलो भयो भने पनि ट्रेन कम्पनीले यात्रुसामु क्षमा माग्दै ढिलो हुनुको चिट बाँडिरहेका हुन्छन्।

कार्यालयले समयमै दिने सेवाः
यहाँ ९ बजेदेखि खोलिने कार्यालयहरू आन्तरिक सम्पूर्ण तयारी पूरा गरी ठीक समयमा नै खोलिन्छन्। आफैं जिम्मेवार भएर कार्यालय समयमा पुग्ने जापानिजहरू त्यसमा पनि अधिकांश कार्यालयमा कर्मचारीको टाइम कार्ड प्रयोग गरिएको हुन्छ, जसले समयमा नै पुग्न अझै जिम्मेवार बनाएको हुन्छ। कार्यालय सुचारु हुनेबित्तिकै सेवाग्राहीले सेवा लिन पाउँछन्। जति धेरै ग्राहक र सेवाग्राहीको घुइँचो भए पनि समयमा नै काम गरिदिनु हरेक कार्यालयको प्रमुख विशेषता हो। चिठीदेखि आफूले पार्सलबाट मगाएका सामानहरू समयमा नै आइपुग्छन्। तोकिएको र गरिनुपर्ने काम समयमै सकेर निर्धारित समयमा बन्द गरिन्छन् कार्यालयहरू।

समयको गतिसँगै हामीले काम गर्न खोज्यौं भने असम्भव देखिने काम पनि सजिलो हुन्छ भन्ने कुरा जापानिजहरूबाट सिक्न सकिन्छ। समयलाई सही तरिकाले सदुपयोग गर्न जानेर नै जापान विकासको शिखर चुम्न सफल भएको छ। समयमा कुद्ने ट्रेन, समयमा नै कार्यालय पुग्न दौडिरहेका यात्रु अनि समयमा नै काम सक्ने गरी मेहनतका साथ काम गरिरहेका कर्मचारी देख्दा नै यो कुराको पुष्टि हुन्छ।

जापानिजको मेहनत, व्यवहार र ठीक समयमा काम गर्ने पद्धतिको सबैले सधैँ खुलेरै प्रशंसा गर्छन्। जापानबाट सिक्नुपर्ने धेरै कुरा छन्। मेहनत गर्ने बानी, इमानदारिता अनि नम्रता जापानिजहरूबाट सिक्नै पर्ने गुण हुन्। यी गुणहरूबाहेक पनि समयको सदुपयोग नै प्रमुख हो। नेपालमा समग्र क्षेत्रको विकासको निम्ति समयको महत्वलाई गहनरुपमा लिएर सबैले आ–आफ्नो जिम्मेवारी ठीक समयमा गर्ने हो भने विकासको आधार दह्रो बन्ने थियो भन्ने कुरामा दुई मत नहोला।
(लेखक रोका जापानमा कार्यरत हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्