उपभोक्ता अधिकार दिवसमा अधिकारकर्मी बेपत्ता



मोतीराम तिमल्सिना,काभ्रे

आपुर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा आयोजित विश्व उपभोक्ता अधिकार दिवसमा उपभोक्ता अधिकारबादी अनुपस्थित भएका छन् ।

जिल्लामा उपभोक्ताहरु ठगिँदा विज्ञप्ती समेत ननिकाल्ने उपभोक्ता अधिकार मञ्चका पदाधिकारीहरुले विश्व उपभोक्ता अधिकार दिवसमा शुभकामना त परै जाओस् जिल्लामा आयोजित कार्यक्रममा सहभागिता समेत जनएनन् । जिल्लामा नेपाली कांग्रेस निकट उपभोक्ता अधिकार मञ्चमा बारका पुर्व अध्यक्ष रमेश हुमागाई अध्यक्ष छन् भने एमाले निकट उपभोक्ता अधिकार मञ्च पनि कृयाशिल छ ।

दल विशेषका उपभोक्ता अधिकार मञ्चले अरु दिन त काम गरेनन गरेनन उपभोक्ता अधिकार दिवसमा समेत वेवास्ता गरेपछि उपभोक्ताहरु राजनीति गर्न मात्रै गठित उपभोक्ता अधिकार मञ्चको उपयोगिता समात्त भएको टिप्पणी गरेका छन् । कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरु बाहेक उपभोक्ताहरुको सहभागिता रहेन ।

केन्द्रिय र स्थानीय तहमा उपभोक्ताको हक, हित र अधिकार संरक्षण गर्न भएका संस्थागत तथा प्रकृयागत ब्यवस्थाहरुका बारेमा सोहि कार्यक्रममा जानकारी गराईएको थियो । प्रमुख जिल्ला अधिकारी शिव सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्र नम्वर १ का सांसद तिर्थ लामा प्रमुख अतिथी थिए । जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु सहभागि कार्यक्रममा अधिकारकर्मी तथा राजनीतिक दलहरुको सहभागिता नहुँदा उपभोक्ताहरुले खल्लो महसुस गरेका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा पौड्यालको संचालनमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सहकुलबहादुर थापा, विष्णु दल गण धुलिखेलका गणपति रामहरी केसी, काभ्रे उद्योग बाणिज्य संघका उपाध्यक्ष प्रकाश मानन्धर, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष भवानी जोशी, जिल्ला लघु उद्यमी समुहका अध्यक्ष, पोल्ट्रि ब्यवसायी मञ्चका सचिव दयाराम महत, पत्रकार महासंघका उपाध्यक्ष रमा दाहाल, क्यान महासंघका अध्यक्ष नवराज भुर्तेल लगायतले उपभोक्ताहरुले प्राप्त गर्ने अधिकारका बारेमा चर्चा गरेका थिए ।
सहभागिहरु धुलिखेल नगर परिक्रमा गरी ताजा तथा चाँडै विग्रने खालका बस्तुहरु धेरै समय नराख्न र उपभोक्तारुको हितलाई ध्यानमा राखेर मात्रै खरिद विक्री गर्न अनुरोध गरिएको थियो । कार्यक्रममा प्रजिअ सिंखडाले केन्द्रिय स्तरका संस्थागत ब्यवस्थाहरुमा आपुर्ति मन्त्रालय, आपुर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, उपभोत्ता, संरक्षण परिषद्, केन्द्रिय अनुगमन समिति रहेको जानकारी गराए भने स्थानीय स्तरमा जिल्ला अनुगमन समिति प्रमुख जिल्ला अधिकराीको संयोजकत्वमा रहने, निरिक्ष अधिकृत, क्षतिपुर्ति समिति समेत रहेको जानकारी गराए ।

त्यस्तै प्रकृयागत ब्यवस्थाहरु, क्षतिपुर्ति माग गर्ने उजुरी, उजुरी गर्ने निकायहरु लगायतका बारेमा जानकारी गराईएको थियो । उपभोक्ताहरु विभिन्न माध्यमबाट ठगिने गरेको भए पनि गुनासो कम आउने, आएका गुनासाहरुलाई तत्काल सम्बोधन नहुने, बजार अनुगमन हुन नसक्ने जस्ता विषयमा सोहि अवसरमा जानकारी गराईएको थियो ।

सहभागिहरुले नियमित बजार अनुगमन गर्न, विक्री हुने बस्तुहरुको लेभल, उत्पादन मिति र अवधी, उत्पादन गर्ने कम्पनीको पुरा ठेगाना जस्ता कुरा नहुने, फलफुल तरकारी जस्ता दैनिक उपभोग्य बस्तुहरुमा उपभोक्ताहरु ठगिने गरेको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्