झापा गोल्डकपको नाफा ५६ लाख



नेपाल समाचारपत्र
बिर्तामोड
मोफसलकै सर्वाधिक पुरस्कार राशिको दोस्रो रमपम झापा गोल्डकपको आय(व्यय विवरण मंगलबार सार्वजनिक गरिएको छ।

गोल्डकप मूल आयोजक समितिले झापाको पर्यटकीयस्थल जामुनखाडीमा एक कार्यक्रमको आयोजना गरी हिसाब सार्वजनिक गरेको हो। मूल आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले गोल्डकपबाट ५६ लाख २१ हजार ५ सय ३२ रुपियाँ नाफा भएको प्रतिवेदन प्रस्तुत गरे। आर्थिक प्रतिवेदनअनुसार दोस्रो रमपम झापा गोल्डकपमा १ करोड ४४ लाख ९३ हजार २५६ रुपियाँ आम्दानी र ८८ लाख ७१ हजार ७२४ रुपियाँ खर्च भएको छ। दोस्रो संस्करणको झापा गोल्डकप गत माघ १५ देखि २४ गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सञ्चालन भएको थियो। ७ लाख पुरस्कार राशिको प्रतियोगिताको उपाधि मनाङमस्र्याङ्दीले जित्दा आयोजक टोली झापा(११ उपविजेता बन्दै नगद ३ लाख ५० हजारमा चित्त बुझाएको थियो। मूल आयोजक समितिले यसपटक झापा गोल्डकपको सम्पूर्ण विवरण समेटेर ३६ पेजको स्मारिकासमेत प्रकाशन गरेको छ।

खेलाडीलाई बोनस
दोस्रो रमपम झापा गोल्डकपमा उपविजेता बनेको घरेलु टोली झापा(११ का खेलाडीलाई बोनस रकम वितरण गरिएको छ।

मंगलबार गोल्डकपको आय(व्यय सार्वजनिक कार्यक्रममा झापा(११ का खेलाडीलाई जनही २५ हजार रुपियाँ प्रदान गरिएको हो। गोल्डकप आयोजना भएकै बेला गोल्डकप मूल आयोजक समितिले झापा(११ ले उपाधि जिते खेलाडीलाई जनही ५१ हजार र उपविजेता बने २५ हजार रुपियाँ दिने घोषणा गरेको थियो। मंगलबार पैसा पाएपछि झापा(११ का खेलाडी निकै खुसी देखिन्थे।

प्रतिक्रिया दिनुहोस्