चेल्सी एफए कपको सेमिफाइनलमा



लन्डन, (एजेन्सी)
फेन्डिङ च्याम्पियन म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिताअन्तर्गत सोमबार राति भएको क्वार्टरफाइनल खेलमा चेल्सीले १० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेडलाई १(० गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। योसँगै चेल्सीले २२औं पटक एफएकपको अन्तिम चारमा स्थान पक्का गरेको छ। साथै चेल्सीले एएफए कपको सेमिफाइनलमा टोटनह्यामसँग खेल्ने तय गरेको छ।

टोटनह्यामले लिग वानको क्लब मिलवाललाई हराएको थियो। अर्को सेमिफाइनल खेलमा म्यानचेस्टर सिटी र आर्सेनल भिड्नेछन्। आर्सेनलले लिंकन सिटीलाई ५(० ले हराएको थियो भने सिटीले मिडल्सब्रागलाई २(० ले पराजित गरी अन्तिम चारमा स्थान बनाएका थिए। सेमिफाइनल खेलहरू वेम्बलीमा आगामी अप्रिल २२ र २३ मा खेलाइनेछन्।
सोमबार रातिको खेलको ५१औं मिनेटमा चेल्सीका नगोलो काटेले गरेको गोल नै निर्णायक बनेपछि नीलो जर्सीको अन्तिम चार पक्का भएको थियो। जबकि खेलको ३५औं मिनेटमा एन्डर हेरेरा दोहोरो पहेंलो कार्डको सिकार भएर बाहिरिँदा बाँकी ५५ मिनेटको खेल युनाइटेडले १० खेलाडीबाट खेलेको थियो।

तुलनात्मकरूपमा चेल्सीले खेल अवधिभर युनाइटेडमाथि दबाब सिर्जना गरे पनि गोलसंख्या भने बढाउन सकेन। जसअनुसार चेल्सीले गोलका लागि २० पटक प्रहार गर्दा म्यानचेस्टर युनाइटेडले जम्मा ४ प्रहार मात्र गर्न सकेको थियो। यता खेलमा युनाइटेड निकै कमजोर देखिएको थियो। खेल अवधिभर युनाइटेडको जम्मा २८ प्रतिशत मात्र बल पोजेसन रहेको थियो। टोलीका प्रमुख स्ट्राइकरहरूले यो खेलमा सहभागिता जनाएका थिएनन्। एफए कपको क्वार्टरफाइनलमा पाएको जितसँगै चेल्सी लगातार १२ खेलसम्म म्यानचेस्टर युनाइटेडसँग अपराजित रहन सफल भएको छ। चेल्सीले युनाइटेडसँगको पछिल्ला सात खेल जितेको छ भने पाँच खेल बराबरीको नतिजा निकालेको छ।

प्रतिक्रिया दिनुहोस्