कामरेडको हास्यास्पद अभिव्यक्ति



फणीन्द्र फुयाल ज्वाला

यति बेला पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रलाई दिएको अभिव्यक्तिप्रति सार्वजनिक स्थल तथा चिया चौतारीहरुमा निकै चर्चा चुलिन थालेको छ। एमालेद्वारा आयोजित एक सार्वजनिक सभामा ओलीले माओवादी केन्द्रको प्रधानमन्त्री भएपछि देशमा गाडी दुर्घटना नभएको कुनै दिन नभएकाले यो सरकार अलच्छिना भन्दै धारेहात लगाएका थिए।

ओलीलाई बौद्धिक र तार्किक नेताका रुपमा चिन्ने एमालेजनहरुले समेत ओलीले गएगुज्रेको, क्षणिक मनोरञ्जनका लागि प्रदर्शन गरिएको प्रहसन र हास्य टेलिसियलजस्तो भाषण गरेको भन्दै सामाजिक सञ्जालका भित्ताहरु रंगिन बनाएका छन्।

केपी शर्मा ओली भाषणमा निकै दम र तागत राख्ने नेताका रुपमा चिनिँदै आएका छन्। उनका भाषणमा शत्रु र विरोधीहरुलाई ठेगान लगाउन सक्ने उखान टुक्काहरुको व्यापक प्रयोग हुने गरेको छ। उनको भाषण सुन्दा लाग्ने गथ्र्यो( उनी निकै अध्ययनशील छन्, विगत र वर्तमानको राम्रो अध्ययन गर्छन् अनि त्यसको सही विश्लेषण गरी शब्दवाण हिर्काउँछन्।

मेची महाकाली अभियानको क्रममा भैरहवा पुगेर अध्यक्ष केपी ओली यसरी कुर्लिए कि यो देशमा प्रकृतिक रुपमा भएका दुःखद घटनाहरु सबै माओवादीको नेतृत्वमै सरकार गठन भएका कारण भैरहेका हुन्। उनले माओवादी अलच्छिना भएको भन्दै देशमा सवारीसाधन दुर्घटना भएको बताए। उनले त्यसो भनिरहँदा मञ्चमा विराजमान उनकै पार्टीका नेताहरुले ओठ लेप्राएको उनलाई के थाहा ? विनातुक र विनातर्कका कुरा गरेर क्षणिकका लागि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेजनको ताली त पाए होलान्, त्यसभन्दा बढी उनले गालीका पर्राहरु सामाजिक सञ्जालमार्फत बेहोर्नुपरिरहेको छ। राजनीति गर्ने नेताले यो बुझ्न जरुरी छ कि, विरोधी र अन्य पार्टीका जनता आफूप्रति आकर्षित गर्न सक्ने पो महान् नेता त। अर्काले भेला परिदिएको भीडमा गएर बोल्ने के नेता ? आफैंले भीड जम्मा गरेर त्यसको बीचमा उभिई भाषण गर्न सक्ने पो नेता त।

यदि केपी ओलीकै तर्कमा कुरा गर्ने हो भने पनि यसभन्दा अघि सुशील कोइरालाको नेतृत्वमा सरकार गठन भएका बेला २०७२ वैशाखमा महाभुकम्प गई करिब १० हजार नेपाली जनताको ज्यान गएको थियो। उसो भए के कांग्रेसको नेतृत्वमा सरकार गठन भएका कारण भूकम्प गयो भनेर प्रचार गर्ने ? त्यसैले यस्ता काइते तर्क गर्ने हो भने राजनीति गर्नुको अर्थ छैन। यदि जात, धर्म, भूगोल, लिंग कोही कसैको पनि भेद्भाव नगरी राजनीति गर्ने हो भने त्यस्ता नेता र दलको भविष्य सुनिश्चित छ, होइन भने क्षेत्रीय राजनीति र विनातर्कका कुरा गरेर आपसी झगडा निम्त्याउने राजनीति गर्ने कसैले पनि चेष्टा नगर्दा बेस हुन्छ।

फेरि वर्तमान परिप्रेक्षमा नेपालको राजनीतिले बिस्तारै ट्रयाक छोड्न लागेको हो कि भन्ने भान जनतामा पर्न थालेको छ। परम्परागत, पुराना र स्थापित भनिएका राजनीतिक दलहरु जनताबाट बिस्तारै तिरस्कृत हुँदै गएको सन्दर्भमा पुराना भनिएका दलहरु यदि नसच्चिने हो भने र आफ्ना छुद्र बोली नसच्याउने हो भने अबको केही वर्षमा राजनीतिमा नयाँ(नयाँ तरंगहरु देखा नपर्लान् भन्न सकिन्न।

यसको पछिल्लो ज्वलन्त उदाहरण नयाँ शक्ति नेपाल पार्टी पनि हो। पुराना दलहरुबाट जनता वाक्क बनिरहेको र नयाँ एजेन्डाहरु दलहरुले अगाडि सार्न नसकेको सन्दर्भमा नयाँ शक्ति नेपाल पार्टी खोलेर डा. बाबुराम भट्टराईले जुन हिम्मत गरे, त्यसको देश(विदेशमा भइरहेको विस्तारले नै प्रमाणित गर्दै गएको छ। फेरि यता, पुरानै शक्तिहरुलाई चुनौती दिँदै बीबीसीका पत्रकार रवीन्द्र मिश्रले साझा पार्टी नाम दिएर अर्को दल जन्माएका छन्। त्यसले पनि आगामी दिनमा पुराना भनिएका दलहरुलाई एउटा गतिलै जवाफ दिँदै जाला।

त्यसैले पुराना र ठूला दल भनेर गमक्क परी बस्नेहरुको पनि बेतर्कका बकम्फुसे भाषणले साख गिर्दै गएको छ। अबको एक महिनाको अवधिमा त्यसको परिणाम हात पर्ने नै छ। राजनीति गर्नेहरुले यो कुरा कहिल्यै बिर्सनुहुँदैन कि एकपटक पहिलो भएको दल सधैँ पहिलो मात्रै भइरहँदैन, नयाँ जन्मिएको दल सधैँ नयाँ मात्रै भइरहने होइन। ऊ एक दिन पक्कै पनि पहिलो दल अनि पुरानो दल हुँदै नेतृत्व गर्नेछ। के त्यस बेला उसले नेतृत्व गरेकै कारण खँडेरी प))यो, बाढी(पहिरो गयो, भूकम्प गयो आदि भनेर दोष दिने ? त्यसैले सबै दलहरुले एक(अर्काको अस्तित्व स्वीकार गर्दै अहंकार त्यागेर राजनीतिक संस्कारको विकास गर्नु उत्तम हुनेछ, यसैमा सबैको कल्याण हुनेछ।

प्रतिक्रिया दिनुहोस्