प्रदूषण घटाउन समितिको निर्देशन सडक बढार्न खटिए कुचिकार



नेपाल समाचारपत्र
काठमाडौं
काठमाडौं उपत्यकामा मेलम्ची खानेपानीको पाइप विच्छ्याउने भत्काइएका सडकका कारण बढेको धुलो र प्रदूषण नियन्त्रण गर्न संसद्को वातावरण संरक्षण समितिले सरोकारवाला निकायलाई निर्देशन दिएको छ।

सडक भत्काएर पाइप पुरिएका ठाउँमा अस्थायी पीच गर्न र अलकत्राको झोल छर्कन समितिले खानेपानी मन्त्रालय, आयोजना कार्यान्वयन निर्देशनालय, मेलम्ची खानेपानी आयोजनालगायतका निकायलाई निर्देशन दिएको हो।

खानीपानीको पाइप विस्तारका क्रममा सडक भत्काइँदा सोही सडकमा गुड्ने सवारीका कारण उपत्यकामा प्रदूषणको मात्रा उच्च रहेको वातावरणविद्हरूको ठहर छ। उपत्यकामा अहिले करिब ३५ प्रतिशत वायु प्रदूषण सडकबाट निस्किने धुलो र धुलाका कारणले बढेको विज्ञहरूको तर्क छ।

मंगलबारको बैठकमा बोल्दै समितिका सदस्यहरूले सरोकारवाला मन्त्रालयहरू कार्यगत तालमेल हुन नसक्दा भत्काइएका सडकको समयमा मर्मत संभार हुन नसकेको बताए। मेलम्ची खानेपानी आयोजनाका अनुसार अहिले उपत्यकाका विभिन्न ४० स्थानमा हरेक दिन २ सय मजदुरले पाइपलाइन विच्छ्याउने र पुर्ने काम गरिरहेका छन्।

यसैबीच आयोजना कार्यान्यवन निर्देशनालयले सोमबारदेखि खानेपानीको पाइप पुर्ने क्रममा धुलाम्य भएका सडक बडार्न कुचिकार खटाएको छ। सोमबार रातिदेखि २५ जना मजदुर सडक बडार्नका लागि खटाइएको निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकालले बताउनुभयो।

‘सोमबार राति जमल–कान्तिपथ क्षेत्र सफा गर्नका लागि २५ जनाको टोली खटिएको थियो, उहाँले भन्नुभयो– ‘धुलो प्रभावित क्षेत्रमा यातायात आवागमन अवरुद्ध नहुने गरी सडक बडार्ने टोली खटिनेछ, सफा गर्ने जनशक्ति पनि थपिँदै जानेछ।’

मध्य वर्षा शुरु नहुञ्जेलसम्म पाइपलाइन विस्तार भएका र विस्तार हुने क्रममा रहेका सडकमा वर्षा शुरु नहुञ्जेलसम्म सडक सफा गर्ने टोली खटाउने निर्देशनालयले तयारी गरेको छ।

निर्देशनालयले पहिलो चरणमा काठमाडौं र ललितपुरका विभिन्न स्थानमा ६ सय ७० किलोमिटर क्षेत्रमा पाइप लाइन विच्छ्याउने लक्ष्यअनुसार काम अघि बढाइरहेको छ। ६ सय ७० किमी क्षेत्रमध्ये ५ सय ५० किमी क्षेत्रमा पाइपलाइन विस्तारको काम सम्पन्न भएको सो कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्