एमालेप्रति मोर्चाको वक्रदृष्टि कायमै



नेपाल समाचारपत्र
काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची–महाकाली अभियानलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले अवरोध गर्दै आएका छन्। अभियानको विरोध गर्ने क्रममा सप्तरीमा सशस्त्र प्रहरीको गोलीबाट ५ जना मधेसीहरू मारिएपछि मधेसमा एमालेको चर्को विरोध भयो। यस क्रममा एमाले नेताहरूलाई कालोमोसो दल्नेदेखि सामाजिक वहिष्कार गर्ने असामाजिक काम मोर्चाका नेता तथा कार्यकर्ताले गरेका छन्।

एमालेको शीर्ष नेतृत्वको अभिव्यक्ति र संविधान संशोधनमा एमालेले मधेसको मागलाई नजरअन्दाज गरेको आरोप लगाउँदै मधसी दलका नेता तथा कार्यकर्ता आक्रोशित बनेका हुन्। मधेसी मोर्चाका नेता एवं सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहता भन्नुहुन्छ– ‘एमालेले मधेस वा मधेसीलाई नेपाली भनेर बुझ्ने प्रयास नै गरेन।’

आफूहरूले एमालेको प्रतिकार नगरेको बताउनुहुँदै मेहेताले सामाजिक रूपमा वहिष्कार गरेको बताउनुभयो। उहाँले समाजको विरोधमा काम गर्ने मान्छेलाई समाजले वहिष्कार गर्दै आएको बताउनुहुँदै पञ्चेहरूलाई पनि सामाजिक वहिष्कार गरेको दावी गर्नुभयो।’ तराई–मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री बृजेशलाल गुप्ताले एमालेप्रति मधेसीहरूको आक्रोश पोखिएको बताउनुभयो। उहाँले मधेसी मोर्चाले प्रतिकार गर्ने कुनै नीति नलिएको बताउनुहुँदै मधेसी जनताले स्वस्फूत रूपमा विरोध गरेको दाबी गर्नुभयो।

एमाले नेताहरूले मधेसी मोर्चाका नेताहरू पनि प्रतिकारमा पर्ने सक्ने बताउँदै आएका छन्। एमाले नेता भीम रावल भन्नुहुन्छ– ‘अहिले एमालेको प्रतिकार गरेका मोर्चाका नेताहरूलाई भोलि मधेसी जनताले नै प्रतिकार गर्नेछन्। मधसमा एमाले पहिलो पार्टी बनेर आउनेछ भने मधेसी मोर्चा आफ्नै कारणले साफ भएर जानेछ।’

संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादव भन्नुहुन्छ– ‘मधेसी नेताले गल्ती गरेको खण्डमा वा समाज विरोधी गतिविधि गरेको खण्डमा मधेसी नेताहरू पनि वहिष्कृत हुनसक्छन् तर अहिले एमालेले मधेस विरोधी गतिविधि गरेको छ।’

प्रतिक्रिया दिनुहोस्