श्रीलंकाली सेना प्रमुख नेपालमा



काठमाडौं, (नेस)
नेपाली सेनाका प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र श्रीलङ्काका सेनाप्रमुख लेफ्टिनेन्ट जनरल ए डब्लु जेसी डिइ सिल्भा ६ दिने औपचारिक भ्रमणको सिलसिलामा मंगलबार काठमाडौं आइपुग्नुभएको थियो। सेना प्रमुख सिल्भालाई उपरथी विनोदकुमार श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो।

भ्रमणको क्रममा वहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग छुट्टा–छुट्टै भेट्ने कार्यक्रम रहेको छ। भम्रणको दौरान वहाँले नेपाली सेनाको पोखरास्थित पश्चिम पृतना हेडक्वाटर तथा विभिन्न शिक्षण संस्थाहरूको निरीक्षण भ्रमण गर्नुका साथै नेपालको केही महत्त्वपूर्ण पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया दिनुहोस्