मण्डल परिवारलाई जापानबाट सहयोग



टोकियो (जापान), १ चैत । चरम गरिबी र स्वास्थ्य समस्याले पीडित सप्तरीको एक परिवारलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।

गरिबी र आँखा नदेख्ने भएर खान–लाउन समस्यामा परेका सप्तरीको गम्हरियाका शिवनारायण मण्डल परिवारलाई राहतस्वरुप जापानमा सङ्कलन भएको रकम सहयोग गरिएको हो ।

जापानमा पीडितका नाममा एक महिनाअघि देखि सहयोग अभियान चलाइएको थियो । अभियानअन्तर्गत दिनमा एक हजारदेखि पाँच हजार येनसम्मका सहयोगी हात बढ्दै गएर सङ्कलन भएको रकम एकलाख १४ हजार चारसय ६६ जापानी येन पठाइएको अभियानकर्ता शिव तण्डुकारले जानकारी दिनुभयो ।

सोह्र सदस्यमध्ये पाँचजनाले आँखा नदेख्ने मण्डल परिवार गरिबीका कारण स्वास्थ्य तथा शिक्षाबाट वञ्चित मात्रै नभएर खानलाउनसमेत अपुग भई सङ्घर्ष गर्दै आएको छ । मण्डल परिवारलाई सहयोग गर्ने उद्देश्यले नेपालमा हास्यकलाकार कुमार कट्टेल (जिग्री)ले सुरु गरेको सहयोग अभियानमार्फत एकलाख १४ हजार चारसय ६६ जापानी येन पठाइएको तण्डुकारले बताउनुभयो ।

नेपालका विभिन्न सञ्चारमाध्यममा गरिबीले ठगेको मण्डल परिवारका पाँचजनालाई आँखाको समस्या भएपछि परिश्रम गरेर खान र लगाउनसमेत मुस्किल भएको देखाइएको थियो । पीडित परिवारलाई थोरै भए पनि राहत होस् भन्ने अभिप्रायले अभियान चलाइएको थियो ।

रकम प्राप्त गरेपछि सोमबार नेपालका अभियानकर्ता कट्टेलले विश्वभरिबाट सहयोग आउने क्रम जारी रहेको र सहायोगी हातबाट आएको रकमले मण्डल परिवारको उपचार र गरिबी उन्मूलन कार्यमा खर्चने बताउनुभएको छ । जापानमा सङ्कलन भएको रकम जापान मनी एक्सप्रेसबाट पठाइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्