संविधान संशोधनको विपक्षमा राप्रपा ‘प्रस्ताव संसद्मा पेस भए समर्थन फिर्ता’



नेपाल समाचारपत्र
काठमाडौं
ष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले संविधान संशोधनको पक्षमा आफ्नो पार्टी नरहेको प्रस्ट पार्दै संविधान संशोधन प्रस्ताव संसद्मा निर्णयार्थ पेस भए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको छ।

उहाँले स्थानीय निर्वाचनको सुनिश्चितताका लागि मात्र आफूहरू सरकारमा सहभागी भएको बताउनुभएको छ।

अघिल्लो दिन राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले अध्यक्ष थापाले मधेसी दलहरूले आफ्ना मागको सन्दर्भमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेपछि सरकार टिकाउन राजनीतिक सौदा गरी सत्तामा थपिन जानुलाई नै प्राथमिकता दिनु दुर्भाग्यपूर्ण भएको बताउँदै राप्रपा परित्याग गरेको भोलिपल्टै सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी उपप्रधानमन्त्री थापाले संविधान संशोधनको सवालमा आफ्नो पार्टीको पूर्ववर्ती अडानमा कुनै पनि परिवर्तन नहुने बताउनुभएको हो।

पार्टी पतित्याग गर्दै डा. लोहनीले एकता अधिवेशनपछि राप्रपा अब एउटा सानो समूहको स्वार्थपूर्ति गर्ने एउटा झुन्डको रूपमा मात्र प्रयोग हुन थालेको भन्दै राप्रपा नेतृत्वले राजसंस्था र हिन्दु धर्मप्रतिको भावनात्मक समर्थनलाई सत्ता स्वार्थका लागि प्रयोग गरिरहेको आरोप लगाउनुभएको थियो। डा. लोहनीले राप्रपा नेतृत्वमाथि विभिन्न आरोप लगाउँदै पार्टी परित्याग गरेको सन्दर्भलाई अध्यक्ष थापाले भन्नुभयो– ‘डा. प्रकाशचन्द्र लोहनीले हिजो पार्टी परित्याग गरेको घोषणालाई मैले त्यति महत्त्व दिएको छैन।’

‘अहिले सरकारको स्थायित्वमाथि गम्भीर प्रश्नचिह्न खडा भएकाले र चुनावको सुनिश्चितता र संविधान कार्यान्वयनका लागि हामी सरकारमा सहभागी भएका हौं’, अध्यक्ष थापाले भन्नुभयो– ‘संविधान संशोधन प्रस्तावलाई पारित गराउनका लागि सरकारले सदनमा निर्णयार्थ पेस भयो भने हामी त्यतिखेर सरकारबाट बाहिरिई, सबै मन्त्रीहरूले राजीनामा दिएर प्रस्तावको विपक्षमा मतदान गर्नेछौं।’

प्रतिक्रिया दिनुहोस्