रूपन्देहीसँग मनाङ स्तब्ध



कुमार श्रेष्ठ, बाँके

एक गोलले पछि परेको रूपन्देही–११ ले अन्तिम १२ मिनेटमा दुई गोल गर्दै नेपालगन्जमा जारी दोस्रो टुबोर्ग नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई स्तब्ध बनाएको छ।

खेलमा २–१ गोलले पराजित भएसँगै प्रतियोगिताको प्रमुख दाबेदार मानिएको मनाङ घर फर्किएको छ। लगातार आक्रमण गरेको मनाङले ७५ मिनेटमा सुशील लामाको गोलबाट अग्रता लिएको थियो। एक गोलले पछि परेपछि आक्रमक भएको रूपन्देहीले ८७औं मिनेटमा उत्तम गुरुङको गोलबाट बराबरी गरेको थियो। प्रायः छोटो पास खेलेको रूपन्देहीका लागि ८९औं मिनेटमा अमर डंगोलले विजयी गोल गरेका थिए। त्यसपछिका केही समय मनाङले काउन्टर अट्याक गरे पनि गोल फर्काउन सकेन।

रूपन्देहीबाट खेलेका विदेशी खेलाडी मुसाले स्तरीय प्रदर्शन गरे। उनैले म्यान अफ द म्याचको पुरस्कारसमेत पाए। रूपन्देहीले मनाङका विदेशी खेलाडी अफिज ओलावालालाई कडा निगरानी राखेको थियो। अति नै प्रतिस्पर्धात्मक खेलमा मनाङका दुई र रूपन्देहीका एक जनाले पहेंलो कार्ड पाएका थिए।

यसअघिका पछिल्लो चार भेटमा रूपन्देहीले मनाङलाई तीन पटक पराजित गरेको थियो। सुरु·ा गोल्डकप, सिमरा गोल्डकपमा रूपन्देहीले मनाङलाई पराजित गरेको थियो। यस्तै रमपम गोल्डकपमा भने मनाङले रूपन्देहीलाई पाखा लगाएको थियो।
मनाङका ८ जना खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेकाले नेपालगन्ज आउन पाएनन्। प्रशिक्षक छिरिङ लोप्सनले सिनियर ८ जना बन्द प्रशिक्षण रहेको र जुनियरलाई मिलाएर नेपालगन्ज आउँदा खेलको तालमेल नमिलेको बताउनुभयो। प्रशिक्षक लोप्सन मैदान र रेफ्रीको निर्णयप्रति पनि सन्तुष्ट भएनन्। ‘दोस्रो गोल पूरै अफसाइडमा थियो, लाइन्समेनले हेरेनन्, प्रशिक्षक लोप्सनले भन्नुभयो– ‘ए डिभिजन प्रतियोगिता गराउने हो भने मैदान र रेफ्री स्तरीय राख्नूस्। होइन भने, अर्को पटक हामीलाई नबोलाउनुहोला। क्याप्टेन निराजन मल्लले नयाँ र पुरानाका बीचमा तालमेल नमिलेको र एक गोलले अग्रता लिइसकेपछि पनि अन्तिममा सम्हालिन नसक्दा पराजित हुनुपरेको बताउनुभयो।

रूपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले अन्तिम १२ मिनेट खेलाडीले बढी मिहेनत गरेकाले जित सम्भवको बताउनुभयो। कप्तान दिलीप क्षत्रीले गोल खाएपछि आक्रामक खेल्दा नतिजा आफ्नो पक्षमा निकाल्न सकेको बताउनुभयो।
रूपन्देहीको विजयसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ। आज सोमबार पहिलो सेमिफाइनल संकटा र सुदूरपश्चिम–११ का बीच हुनेछ। रूपन्देहीले भने सेमिफाइनलमा प्रहरीसँग भेट पक्का गरेको छ। ५ लाख पुरस्कार रहेको नेपालगन्ज गोल्डकपमा म्यान अफ द सिरिज हुने खेलाडीलाई मोटरसाइकल पुरस्कार दिने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्