भाषण मात्र होइन काम गरेर देखाऊ



बागमती सफाइ अभियानले दुई सय हप्ता पार गरिसकेको छ । दुई सय हप्तालाई भव्य बनाउन लामो समयदेखि प्रचारप्रसारसमेत गरिएको थियो । बागमती नेपालीहरूको सभ्यताको प्रतिक पनि हो । अहिले बागमती ढलमतीमा परिणत भएपछि नेपालीको सभ्यताको रूपमा रहेको बागमतीलाई बचाउन पूर्व मुख्य सचिव तथा हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललगायतका टिम लामो समयदेखि बागमती बचाउ अभियानमा लागेका थिए । यसले केही हदसम्म बागमतीलाई बचाउने काम पनि गरेको छ । यसका अभियन्ताहरूको कामलाई प्रशंसा गर्नुपर्छ ।

बागमती सफाइ अभियानको दुई सय हप्ता पुगेको उपलक्ष्यमा बागमती सफाइ अभियानमा सहभागी हुनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले राजनीतिको फोहोरलाई पनि बागमतीको फोहोरजस्तै सफाइ अभियान चलाउनुपर्ने प्रतिक्रिया दिएका छन् । यसका लागि प्रधानमन्त्रीले नै राजनीतिक फोहोर सफाइ अभियानको नेतृत्व लिन सके जनताले इतिहासमा उहाँको नाम सम्झने थिए कि । आफूबाटै प्रदूषित राजनीतिलाई सफाइ अभियान सञ्चालन गर्ने हिम्मत प्रधानमन्त्रीले गर्ने हो भने मुलुकले अहिलेको बेथिती भोग्नुपर्ने थिएन कि भन्दा फरक नपर्ला । अहिलेको राजनीति बागमतीको फोहोरभन्दा पनि बढी मात्रामा प्रदूषित हुँदै गएको कारण मुलुक कति बेला कहाँ दुर्घटनामा पर्ने हो भन्ने आशंका नेपाली राजनीतिको आकाशमा मडारिएको छ । दलका नेता आ–आफ्नै तालले मुलुकलाई अगाडि बढाउन खोजिरहेका छन्, जसका कारण मुलुक अधोगतितर्फ उन्मुख हुँदै गएको छ ।

नेपाली राजनीतिमा देखिएको यायावर शैलीले नेपाली जनतालाई बेचैनी बनाइदिएको छ । मुलुकका विकास निर्माणका काम ठप्प प्रायः छन् भने भएका काम पनि राम्रोसँग हुन नसक्दा जनताले चयन महसुस गर्न नसक्नु अर्को विडम्बना मान्नुपर्छ । जुन सरकार आए पनि जनतालाई सपना देखाउने तर सपना कार्यान्वयन नगर्ने परिपाटीका कारण २०४७ सालपछि बनेका सबै सरकार असफल मात्रै भएका छन् । नेता र नेतृत्वमा हुनुपर्ने भिजन नभएकै कारण मुलुक अहिले विश्वका गरिब मुलुकको अग्रभागमा आइसकेको छ । त्यसैले अब यो भाषण गर्ने समय होइन, काम गरेर देखाउने समय हो ।

प्रतिक्रिया दिनुहोस्