नगर बस समितिको अध्यक्षमा रुचाल



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर बस इकाइ समितिको अध्यक्षमा दीपक रुचाल मगर चयन भएका छन्।

आइतबार राजधानीमा भएको १३औं अधिवेशनले दीपक रुचालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

कार्यसमितिको उपाध्यक्षमा कुमार नगरकोटी, सचिवमा प्रकाश थापा, सहसचिव मनोज महर्जन, कोषाध्यक्ष बद्रीराज पुरी चयन हुनुभएको छ। त्यसै गरी सदस्यहरूमा डोरबहादुर रिजाल, धनबहादुर श्रेष्ठ, चन्द्रलाल श्रेष्ठ, सालिग्राम पन्डित, जीवन रानामगर, रामप्रसाद उप्रेती, रमेश तामाङ र निरज गुरुङ रहनुभएको छ। त्यसै गरी जिफन्ट प्रतिनिधिमा रामकृष्ण न्यौपाने चयन हुनुभएको छ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष राजिव घिमिरेले ड्राइभरलाई एसएलसी पासको योग्यता तोक्नु गलत भएको बताउनुभयो।
सरकाले ल्याउन लागेको नयाँ नीतितर्फ लक्षित गर्दै घिमिरेले भन्नुभयो– ‘ड्राइभिङ भनेको प्राविधिक विषय हो। दुर्घटना एमए पढेर सवारी चलाउनेले पनि गराएका छन्। घिमिरेले नयाँ संघीय प्रदेशअनुसार नयाँ यातायात नीति आउने भन्दै त्यो यात्रु र व्यावसायीको हितमा हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघका सदस्य तुलसी सिवाकोटीले सरकारले २० वर्ष पुराना गाडी हटाएर व्यवसायीलाई मर्कामा पारेको बताउनुभयो। अब ती गाडीहरू कवाडीको भाउमा जाने र कवाडीको मूल्य भारतले घटाएको उहाँले बताउनुभयो।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष माया वेगा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीलगायतले यातायात क्षेत्रमा रहेका समस्याहरूबारे बोल्नुभएको थियो।
विगतमा स्वयम्भु यातायात समितिका रूपमा सञ्चालित वस समितिको नाम परिवर्तन गरी गत अधिवेसनबाट नगर बस इकाइ समिति राखिएको हो।

प्रतिक्रिया दिनुहोस्