जनही १ लाख सहित २ मजदुर सम्मानित



मोतीराम तिमल्सिना, काभ्रे

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट ईकाईले उत्कृष्ट कार्य गरे बापत दुई मजदुरलाई नगद १ लाख ५ हजार सहित जेष्ठ यातायात मजदुरबाट सम्मान गरेको छ । नगद २५ सय सहित अन्य चार मजदुर सम्मानित भएका छन् ।

हरेक वर्ष फागुपुर्णिमाको अवसर पारेर संगठनले मजदुर सम्मान गर्दै आएको अध्यक्ष भिमसेन लामाले बताए । दशौ र एघारौ मजदुर सम्मानका रुपमा पनौती २ घर भएका राजकुमार श्रेष्ठ र बनेपा १ घर भएका भक्तलाल कर्माचार्यलाई नगद १ लाख ५ हजार, दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

जिफन्टका उपमहासचिव जनक चौधरीले दुई मजदुरलाई सम्मान गर्दै दोसल्ला ओढाएका थिए । श्रेष्ठ ३५ वर्ष देखि यातायात क्षेत्रमा कार्यरत छन् भने कर्माचार्य ३० वर्ष देखि यातायात क्षेत्रमा कार्यरत छन् । त्यस्तै उत्कृष्ट चालकका रुपमा कृष्णबहादुर रञ्जित, नेपाल सिं तामाङ र दिलबहादुर श्रेष्ठ सम्मानित भएका छन् । उनिहरुलाई नगद २५ सय प्रदान गरिएको थियो भने उत्कृष्ट परिचालकका रुपमा दिनेश कार्की सम्मानित भएका छन् ।

सोहि अवसरमा संगठनको १३ औ अधिबेशन सम्पन्न भएको थियो । अधिबेशनमा सचिव होमबहादुर श्रेष्ठले संस्थाले वर्षभरी गरेको गतिविधिका बारेमा जानकारी गराएका थिए भने अध्यक्ष भिमसेन लामाले मजदुरहरुको हक हितका लागि संगठनले खेलेको भूमिकाका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अञ्चल अध्यक्ष नवराज घिमीरे, एमाले काभ्रेका जिल्ला सदस्य एवं मजदुर इन्चार्ज केशवमणी पौड्याल, काभ्रे ब्यवसायी संघका अध्यक्ष दिलबहादुर शाही, सचिव वर्ण शाक्य, हिमाल तराई यातायात सेवा समितिका अध्यक्ष आत्मराम थापा, मजदुर संगठन पनौतीका अध्यक्ष बेदप्रसाद घिमीरे लगायतले मजदुरहरुले खेल्नु पर्ने भूमिकाका बारेमा मन्तब्य राखेका थिए ।

अधिबेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा भिमसेन लामा र अर्जुन लामाको प्रतिस्पर्धा भएको थियो भने उपाध्यक्षमा धनबहादुर ठकुरी, सचिव होमबहादुर श्रेष्ठ, सह सचिव गंगाश्वर खड्गी रहेका छन् । कोषाध्यक्षमा दिनेशलाल श्रेष्ठ र राहुल तामाङ बीच प्रतिस्पर्धा भएको छ ।

प्रतिक्रिया दिनुहोस्