पदमुक्त पार्क अझै राष्ट्रपति भवनमा



सोल, (एजेन्सी)
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति पार्क गेयुन ह्ये आफ्नो गिरफ्तारीका लागि शनिबार आवाज उठाइँदासम्म पनि मौन रहेकी छिन्। संवैधानिक अदालतको एक संयुक्त इजलासले अघिल्लो दिन आफ्नो पदीय अधिकार दुरुपयोग गरेको अभियोगमा उनलाई पदमुक्त गरेको थियो।

पार्कलाई आफ्नो निकतटम मित्र चोइ सुन सिलको भ्रष्टाचार काण्ण्डमा संलग्नता रहेको अभियोग लगाइएको हो। अदलतले पदमुक्त गर्ने निर्णय दिइसके तापनि हिजोसम्म पनि उनी राष्ट्रपति भवन ब्ल्यु हाउसमै रहेकी छिन्। पार्कको समर्थनमा निस्केको जुलुसमा तीन जना प्रदर्शनकारीको मृत्यु भएपछि हिजो पनि राजधानी सोलमा पुनः उनको समर्थनमा विशाल र्यालीहरूको आयोजना गरिएको थियो। तर सो जुलुसको प्रतिकारमा अर्को जुलुस पनि निस्कने अनुमान गरी अप्रिय भिडन्त हुन नदिन थप सुरक्षाबल तैनाथ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

अदालतको निर्णयको समर्थन गर्ने प्रदर्शनकारीका महिला प्रवक्ता चोइ इन सुकले आफूहरूले पूर्वराष्ट्रपति पार्कको गिरफ्तारीको माग गरेको रोयटर्सलाई बताएकी छिन्। अब राष्ट्रपतीय विशेष उन्मुक्ति अधिकार गुमाइसकेकी पार्कले आपराधिक अभियोग पनि भोग्नुपर्ने अनुमान गरिएको छ। यसैबीच दक्षिण कोरियाको निर्वाचन आयोगले आगामी ९ मेमा राष्ट्रपतीय चुनाव हुने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्