जनभावना बुझ



नेपाल–भारत सीमावर्ती क्षेत्र कञ्चनपुरको आनन्दबजारमा बिहीबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट स्थानीय बासिन्दा गोविन्द गौतमको मृत्यु भएपछि अझै सो क्षेत्र अशान्त बनेको छ। बिहीबारदेखि अशान्त बनेको सो क्षेत्रमा शनिबार पनि पीडित परिवारका आफन्त र स्थानीय बासिन्दा स्वतःस्फूर्तरूपमा विरोध प्रदर्शनमा उत्रिएका थिए। कञ्चनपुर मात्र होइन, अन्यत्र पनि विरोधका कार्यक्रम जारी छन्।

दशजगा क्षेत्रभन्दा करिब आधा किलोमिटर वर नालामा बनाइएको कल्भर्टमा माटो पुर्ने क्रममा सीमावारी आएका एसएसबीका जवानले बुधबार स्थानीयलाई गाली गर्दै कुटपिट गरेपछिको विरोधमा स्थानीयले बिहीबार प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा एसएसबीले स्थानीयलाई प्रहार गरेको गोली लागेर ३२ वर्षीय गौतमले अकालमा ज्यान गुमाउनुपर्यो भने अन्य केही घाइते भएका छन्। घटनाको एक दिनपछि शुक्रबार सरकारले गौतमलाई शहीद घोषणा गर्दै पीडित परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ। यससँगै गौतमका छोरा–छोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने र परिवारका एक जना सदस्यलाई रोजगारीको व्यवस्था गर्ने भएको छ।

मृत्तकलाई शहीद घोषणा र उचित क्षतिपूर्तिको माग गर्दै प्रदर्शन जारी राखेका स्थानीयको माग सरकारले सम्बोधन गरेको छ। यससँगै स्थानीयले सीमा क्षेत्रमा पूर्ण सुरक्षाको प्रत्याभूति गराउन ध्यानाकर्षण गराए पनि यसबारेमा अझै सरकारको स्पष्ट धारणा आएको छैन। यसअघि पनि एसएसबीले नेपाल प्रवेश गरेर आफूहरूलाई अनावश्यक धम्कीसहित कुटपिट गरेको स्थानीयको भनाइ छ। काठमाडौंस्थित भारतीय दूतावासले सो घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गर्दै दुवै पक्षका सर्वेक्षण अधिकारीहरूको छलफलको खाँचो औंल्याएको विज्ञप्ति जारी गर्यो। घटनाबारे भारतीय सरकारको स्पष्ट धारणा नआएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन संवाद गरेपछि मात्र भारतले घटनालाई दुर्भाग्यपूर्ण भनेको छ।

घटनाबारे भारत सरकारले छानविन शुरू गरिसकेकाले दोषीलाई कारबाही गर्ने, परिस्थितिलाई सामान्य बनाउने र आगामी दिनमा त्यस्ता घटना दोहोर्याउन नदिने विदेशमन्त्री स्वराजको प्रतिबद्धता आएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेर गौतमको निधन भएकोमा दुःख व्यक्त गर्नुभएको बताइएको छ।

दुवै मुलुकको सीमा क्षेत्रमा भएको एसएसबी ज्यादतीको घटना कञ्चनपुर पहिलो पक्कै होइन। तर, अहिलेको घटनापछि जसरी भारतीय अधिकारीहरूको प्रतिबद्धता आएको छ, त्यो केवल कञ्चनपुर घटनालाई सामान्य बनाउने आश्वासनको रूपमा मात्र सीमित हुनुहुँदैन। आगामी दिनमा पूर्व–पश्चिम सीमा क्षेत्रको कुनै पनि भू–भागमा यस्ता घटना दोहोरिनुहुँदैन। यस्ता गतिविधिले दुई मुलुकबीचको बहुआयामिक सम्बन्ध अप्ठेरोमा पर्न सक्ने भएकाले भारत सरकारले नेपाली भावना बुझेर दोषीउपर कडाभन्दा कडा कारबाही गर्नु जरुरी रहेको छ। त्यसो हुन नसके त्यसले अवाञ्छित गतिविधिलाई प्रश्रय दिने र दुई देशको सम्बन्धलाई अप्ठेरो पार्न सक्ने कुरालाई नकार्न सकिँदैन।

प्रतिक्रिया दिनुहोस्