नेवाः पत्रकार दबूको पाँचौ साधारण सभा



SONY DSC

 

भक्तपुर। (नेस) । नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाको शनिबार भएको पाँचौं वार्षिक साधारणसभाका वक्ताहरूले पत्रकारहरू विकासका संबाहक हुनुपर्नेमा जोड दिएका छन् ।
पत्रकारहरूले समाजको सकारात्मक परिवर्तनको निम्ति काम गर्नुपर्नेसमेत उनीहरूको भनाइ थियो । पाँचौं वार्षिक साधारणसभा उद्घाटन गर्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले तीन दशकमा भक्तपुरमा धेरै सुधार र परिवर्तन भएको आफूले पाएको र त्यसमा जिल्लाका सञ्चारकर्मीहरूको योगदान हुने बताउनुभयो ।
भक्तपुरको शैक्षिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा धेरै सुधार भए पनि विकासको दृष्टिले संक्रमणकालको अवस्थमा रहेको उहाँको भनाई रहेको छ । ‘शैक्षिक, साँस्कृतिक र सामाजिक क्षेत्रमा भक्तपुरले फड्को नै मारेको छ’, प्रजिअ पोखरेलले भन्नुभयो ‘तर विकासको दृष्टिमा भक्तपुर संक्रमणकालको अवस्थामा छ । यहाँ औद्योगिक र विकासको पूर्वाधारको क्षेत्रमा धेरै काम गर्न बाँकी छ ।’
उहाँले नजिकिँदै गरेको बिस्केट जात्रामा परम्परागत विकृति विसंगति हटाउन यहाँका स्थानीय पत्रकार लाग्नुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले पत्रकारहरूले सरकार र जनताबीचको पुलको काम गर्नुपर्ने धारणा राख्नुभयो । शिल्पकार समाज नेपालका अध्यक्ष पुरुषोत्तम शिल्पकारले पत्रकारमाथि सबैको आशा र भरोसा हुने भएकाले सबैले सत्यतथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै भक्तपुर पर्यटन विकास समितिका उपाध्यक्ष रामसुन्दर भेलेले भक्तपुरको पर्यटन, सांस्कृतिक र ऐतिहासिक महत्वबारे उजागर गर्न पत्रकारहरूसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्