हिरासतका ७९ मध्ये ५३ जना लागूऔषध कारोबारी



 

हेटौंडा, (नेस)
मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय कारागारमा जेल जीवन बिताइरहेका कैदीबन्दीमध्ये अधिकांश लागूऔषध कारोबारमा सजाय भोग्नेहरू छन्।

लागूऔषधको मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ मानिने मकवानपुरका युवा लागूऔषध ओसारपसार मुद्दामा देशका विभिन्न क्षेत्रका कारागारमा जेलजीवन बिताइरहेका छन्।

आर्थिक विपन्नता र रोजगारीका कारण बाध्य भएर लागूऔषध बोक्ने भरिया बन्दा जिल्लाका पश्चिमोत्तर १२ गाविसका ३ सय ५० भन्दा बढी युवा जेल जीवन बिताउन बाध्य भएका हुन्। युवा शक्ति विदेश पलायन हुनु सामान्य बन्दै गएको अवस्थामा युवाले जेल जीवन बिताइरहँदा गाउँको विकास ओझेलमा परेको छ।

मध्य तराईका जिल्लामा गाँजा खेती फस्टाइको छ। शान्तिसुरक्षाको स्थिति कमजोर भएको मौका छोपी कृषक गाँजा खेतीतर्फ आकर्षित हुने गरेका छन्। अन्य बालीभन्दा गाँजा खेतीबाट बढी आम्दानी हुने भएकाले मध्यतराईका केही जिल्लामा सयौं बिगाहा जग्गामा गाँजा खेती हुने गर्दछ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा अधिकांश थुनुवा लागूऔषध मुद्दाका छन्। जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार प्रहरी हिरासतमा रहेका ७९ जनामध्ये ५३ जना लागूऔषध कारोबार, ओसारपसार र प्रयोगकर्ताको आरोपमा हिरासतमा छन्।

लागूऔषधको मुद्दामा प्रहरीले ९० दिनसम्म हिरासतकक्षमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिन्छ। अन्य थुनुवा भने सार्वजनिक मुद्दा, झैझगडा, सवारी मुद्दाका छन्। लागूऔषधको कारोबारीमाथि प्रहरीको विशेष निगरानी रहने गरेको छ। विशेषतः प्रहरीले सुराकीका आधारमा लागूऔषध कारोबारी, प्रयोगकर्ता र ओसारपसार गर्नेहरूलाई पक्राउ गर्न सफल हुने गरेको छ। लागूऔषध कारोबारमा अधिकांश भारतीय गाडी छन्।

मकवानपुर र धादिङ जिल्लाबाट लागूऔषध गाँजा र चरेश ढुवानी गर्न भारतीय नम्बर प्लेटका गाडी धेरै प्रयोग हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्