राजदूतसँग लिखित असन्तुष्टी



प्रमलाई मोदीका सुरक्षा सल्लाहकारको फोन

काठमाडौं, (नेस)

कञ्चनपुरमा भारतीय प्रहरी सीमा सुरक्षा बल(एसएसवी)को गोली प्रहारबाट गोविन्द गौतमको निधनसँगै अन्य स्थानीय घाइते भएको विषयमा परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले भारतीय विदेशमन्त्री सुषमा स्वराजको ध्यानाकषर्ण गराउनु भएको छ।

घटनाबारे भारत सरकारका तर्फबाट आधिकारिक धारणा नआएकोमा मन्त्री महतले स्वराजसँग जिज्ञासा राख्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रवार विहानको टेलिफोन संवादमा मन्त्री महतले घटनाको छानबीन गरी यसमा संलग्न दोषीमाथि कारबाही गर्न र आगामी दिनमा त्यस्तो घटना हुन नदिन भारतीय पक्षबाट प्रतिवद्धता आउनुपर्ने धारणा राख्नु भएको मन्त्रालयले जनाएको छ।

जवाफमा विदेशमन्त्री स्वराजले सो घटनाबारे भारत सरकारले गम्भीर रुपमा लिएको र घटनाबारे स्थानीय स्तरमा यथार्थ बुझ्ने काम भइरहेको जवाफ दिनु भएको बताइएको छ।

सो वार्तामा मन्त्री महतले कञ्चनपुर घटनाबारे भारत सरकारका तर्फबाट अहिलेसम्म पनि धारणा नआएकोप्रति उहाँको ध्यानाकर्षण गराउनुभएको मन्त्री महतका प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो। यसैवीच परराष्ट्र मन्त्रालयले नेपालका लागि भारतीय कार्यवाहक राजदूत बिनयकुमारलाई मन्त्रालयमा बोलाएर घटनाबारे ध्यानकर्षण गराएको छ।

परराष्ट्र सचिव शंकरदास वैरागीले विनयकुमारलाई हस्तान्तरण गर्नुभएको कूटनीतिक नोटमा घटनाको तुरुन्त छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ। साथै आगामी दिनमा सीमा क्षेत्रमा त्यस्ता गतिविधि हुन नदिन भारतीय पक्षलाई आग्रह गरिएको बताइएको छ।

उता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित दोवलले फोन गरेर घटनाप्रति दुःख व्यक्त गर्दै मृतकको पोस्टमार्टम र फरेन्सिक रिपोर्ट कूटनीतिक माध्यमबाट पठाइदिन आग्रह गर्नुभएको छ। उता भारतीय विदेशमन्त्रालयले भने घटनाका बारेमा एसएसबीसँग बुझ्ने काम भइरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्