हाइटी जाने प्रहरी टोलीको बिदाइ



नेपाल समाचारपत्र
काठमाडौं
संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ हाइटीस्थित एफपीयू मिनुस्ताह मिसन २२औं समूहमा खटी जाने प्रहरी कर्मचारीहरूलाई निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोख्रेलले बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाइ गर्नुभयो।

बिदाइ समारोहमा निमित्त प्रहरी महानिरीक्षक पोख्रेलले उक्त टोलीका कन्टिनजेन्ट कमान्डर प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुको साथै खटी जाने प्रहरी कर्मचारीहरूको निरीक्षणसमेत गर्नुभयो।

सो अवसरमा मिसनमा खटिने प्रहरी कर्मचारी देश, प्रहरी संगठन र राष्ट्रसंघको शान्तिदूत हुने भएकाले यसको बहुआयामिक पहिचान र भूमिकालाई बुझेर उच्च मर्यादामा रही संयुक्त राष्ट्रसंघ तथा मिसनको म्यान्डेटलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो।

प्रहरी महानिरीक्षक पोख्रेल नेपाल प्रहरीको मात्र नभई मुलुकको प्रतिनिधित्व गरेर शान्ति सद्भावदूतका रूपमा जाने हुँदा टोलीले दायित्व र अवसर दुवैलाई मनन गरी आफ्नो पेसागत दक्षता, क्षमता र व्यावसायिकताको उच्चतम् उपयोग गर्दै राष्ट्र र संगठनको गरिमालाई उच्च राख्न उत्कृष्ट ढंगले कार्यसम्पादन गर्नसमेत निर्देशन दिनुभयो।

समारोहमा प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय यूएन महाशाखाका प्रहरी उपरीक्षक सुरेश बस्नेतले फागुन २८ गते त्यसतर्फ खटी जाने टोलीमा प्रहरी उपरीक्षक १, प्रहरी नायव उपरीक्षक ४, प्रहरी निरीक्षक ६, प्रहरी नायव निरीक्षक २१, प्रहरी सहायक निरीक्षक २१, प्रहरी हवल्दार ५४, प्रहरी जवान २८ र प्रहरी कार्यालय सहयोगी ५ जना गरी जम्मा १ सय ४० जना रहेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्