चमत्कारी नेपालको पहिलो महिला स्टन्ट राइडर



फिरोज राजोपाध्याय
पाली समाजमा महिलाले कुनै पनि चुनौती काम गर्दा यसले के गरेकी यो भनेर कुरा काट्ने चलन छ। महिलाले घरको हेरचाह गर्ने वा बिहे गरी गृहिणीमै सीमित हुनुपर्ने नेपाली समाजको हेर्ने दृष्टिकोण अहिले पनि विद्यमान छ। तर राजीव थापा र रिग्मा थापाको कोखबाट जन्मेकी शुभानी थापाले भने सबैलाई चकित पारिदिइन्। उनले पढाइको साथ साथ आफ्नो रुचि भएको स्टन्टलाई पनि जारी राखेकी छिन्। उनी नेपालकी पहिलो महिला स्टन्ट राइडर हुन्। हाल उनी स्टन्टसँगै वातावरण विज्ञानमा मास्टर्स गर्ने सुरसारमा छिन्।

२३ वर्षीया शुभानीको मोटोरबाइकलाई खेलौनाझैं खेलाउने बानी पनि पाँच वर्ष बितिसकेको छ। हाल बाइक नै आफ्नो अभिन्न मित्र भइसकेको शुभानीका लागि बाइकबाट स्टन्ट गर्न रमाइलो लाग्ने गर्छ। उनले बाइक स्टन्टको थालनी गर्दा केटाहरूमाझ उनी एक्ली महिला स्टन्ट थिइन्। तर अहिले धेरै महिलाहरू यसमा आएकोमा शुभानी खुसी छिन्। महिलाको सहभागिता बढ्दै जाँदा उनलाई यो क्षेत्र अंगालेकोमा कुनै ग्लानि भएन अहिले।

शुभानीले ६ वर्ष अगाडि चोभारस्थित मलपोखरीमा साथीहरूसँग बाइक स्टन्ट गर्न शुभारम्भ गरेकी थिइन्। उनले त्यसबारे भनिन्– बच्चादेखि नै मलाई बाइकसँग लगाव लाग्यो। बुबासँग बच्चा बेला बाइकमा बस्दा म अगाडि नै बस्थें। त्यसमा मलाई आफैंले बाइक चलाएझैं रमाइलो लागेको थियो। अर्को टेलिभिजनमा प्रसारित महिला बाइक रेसले पनि मलाई यसतिर धकेल्न सहयोग गर्यो। त्यसैले पनि मलपोखरीमा सायद सन् २०११ तिर होला, साथीले भनेपछि मैले स्टन्ट गर्न कोसिस गरेको थिएँ। त्यति बेला क्यामराबाट सुन्दर दृश्यको फोटो खिच्नका लागि यता उता गइन्छ। तर त्यस बेला भने पहिलोपटक क्यामरा छाडेर बाइकको ह्यान्डल समातें। मैले ल्यान्डस्केप स्टन्ट गरे र पहिलो सटमै सफल पनि भयो। त्यसपछि मलाई स्टन्ट गर्न चासो बढ्दै गयो।

शुभानीले बाइक स्टन्टमा करिअर शुरू गर्दा १७ वर्षको उमेरकी थिइन्। कलेजमा पढाइलाई असर नगरेर उनले स्टन्टमा आफ्नो प्रभाव जमाउँदै गइन्। उनका बुबाआमा उनको भयानक बाइक स्टन्टबाट अनभिज्ञ थिए। तर अहिले भने बुबाआमाले उनीमाथि गर्व गरिरहेका शुभानीले बताइन्। उनले भनिन्– यस्तो क्षेत्रमा लाग्नु आफैंमा चुनौती थियो। मैले स्टन्ट गरेको मेरा बुबामुमाले थाहा थिएन। पछि थाहा पाउन्जेलसम्म उहाँहरूले गाली गर्नुको सट्टा हौसला बढाउनुभयो। त्यसपछि मलाई स्टन्ट गर्न सहज भयो। कहिलेकाहीं उहाँहरूले भन्नुहुन्छ– ‘नयाँनयाँ बाइक बिगार्यौ तिमीले किन यस्तो रोजेको ?’

नेपाल अटोमोबाइल स्पोर्टस् संघ (नासा) ले सन् २०१४ मा आयोजित रेसमान्डुमा शुभानी दोस्रो भएकी थिइन्। नासाले मात्रै रोड रेस गरेकोमा अरू होन्डा कम्पनीले पनि यस्तै रेस आयोजित गराएमा यो क्षेत्र अझ विस्तारित हुने शुभानीको भनाइ छ। उनले भनिन्– ‘अहिले नासाले मात्रै रेसमान्डु गरिरहेको छ। यसलाई फैलाउन त अरू होन्डा कम्पनीले पनि रेस आयोजना गरेमा वर्षमा कम्तीमा चार⁄पाँचवटा बाइक रेस हुनेछ।’

शुभानीले अहिलेसम्म धेरै रोड शोमा स्टन्ट गरिसकेकी छिन्। उनले यसको गिन्ती गर्न नसकिने बताइन्। उनका अनुसार पहिलोपटक दरबार मार्गस्थित डान्स पार्टी विथ स्टन्ट शोमा धेरै मान्छेको बीच उनले स्टन्ट देखाइन्। खुट्टाकै भरमा बाइकलाई घुमाउने, गुडिरहेको बाइकमा विभिन्न कला उनले देखाइन्। धेरै मान्छेले एउटी केटीले बाइकसँग गरेको साहसिक कलाप्रति आश्चर्य जनाएका थिए। यसपछि नेपालको विभिन्न स्थानमा उनले यस्तो कलालाई निरन्तरता दिइन्।

यसै वर्षमा मात्र पनि पहिलो महिला रेसनारी च्याम्पियनसिप सम्पन्न गरियो। जसमा शुभानीले प्रतिस्पर्धा गरेकी थिइन्। तर उनको यस च्याम्पियनसिप जित्ने धोको भने पूरा भएन। उनले यस च्याम्पियनसिपमा कुनै पनि स्थान हासिल गर्न सकिनन्। उनले स्थान हासिल गर्न नसके पनि नेपालमा महिलाका लागि छुट्टै च्याम्पियनसिप आयोजना गर्नु नै ठूलो विषय भएको छ।

हालै मात्र पनि नेपाली सेनाको राज दलको १७३औं वार्षिकोत्सवमा पनि स्टन्ट गरेर शुभानी प्रशंसाको पात्र बनेकी छिन्। लगनखेलस्थित सेनाको मैदानमा उनले बाइकको स्टन्ट देखाउँदा सेनाका चिफ ज्यादै खुसी भएको बताइन्। उनले भनिन्– ‘म यो क्षण कहिल्यै बिर्सन सक्दिनँ। उहाँले मलाई स्टन्ट गरेको हेर्नुभएपछि ओहो केटी मान्छेले पनि यस्तो स्टन्ट गरेको हेरेको छैन भनेर भन्नुभयो। उहाँले मलाई प्रशंसा गर्नुभएको करिअरमै अविस्मरणीय क्षण बनेको छ।’

तर, यति नाम कमाए पनि दामचाहिँ कम कमाइएको उनको भनाइ छ। उनको अहिलेसम्म आफ्नै बाइक छैन। उनी स्कुटर चढ्छिन्। उनलाई कहीं जानुपर्यो भने भाडामा बाइक लिएर जाने गर्छिन्। उनले भाडाको बाइक लिएर शिवपुरी डाँडामा गुडाएको अनुभव छ। डाँडामा मोटरबाइक गुडाउन गाह्रो भए पनि यो नै मजाको क्षण भएको बताइन्। उनले बताइन्– ‘शिवपुरी डाँडामा बाइक लिएर जानुको मजा अर्कै छ। त्यसो त म लडे पनि तर अहिलेसम्म भगवानको कृपा भनौं न सामान्य चोटपटक मात्रै लागेको छ। बाइकमा बस्दा भिन्नै अनुभव हुन्छ। आफूलाई छुट्टै संसारमा भएको महसुस हुन्छ। यो जतिसुकै डरलाग्दो भए पनि यसलाई विश्राम दिने मेरो चाहना छैन। म स्टन्ट गरिरहन्छु।’
साथीले भनेपछि मैले स्टन्ट गर्न कोसिस गरेको थिएँ। त्यति बेला क्यामराबाट सुन्दर दृश्यको फोटो खिच्नका लागि यताउता गइन्छ। तर त्यस बेला भने पहिलोपटक क्यामरा छाडेर बाइकको ह्यान्डल समातें। मैले ल्यान्डस्केप स्टन्ट गरें र पहिलो सटमै सफल पनि भयो। त्यसपछि मलाई स्टन्ट गर्न चासो बढ्दै गयो।

प्रतिक्रिया दिनुहोस्