पर्वतमा आठौ पटक हात्तिपाईले विरुद्धको औषधी खुवाईदै



पर्वत(नेस)

हात्तिपाईले रोग बिरुद्धको औषधि खुवाउने अभियान अन्तर्गतको आठौ चरणको कार्यक्रम पर्वतमा संचालन हुने भएको छ ।

सातौ चरणसम्म अभियान संचालन गर्दा पनि हात्तिपाईले संक्रमितको संख्या शुन्यमा नझरेपछि पुनः आठौपटक अभियान संचालन गर्न लागिएको छ । पर्वतमा अझैपनि हात्तिपाईले रोगको संक्रमण भएका साढे २ प्रतिशत जनसंख्या रहेकाले सातौ पटक अभियान संचालन गर्नुपरेको हो ।

पर्वतमा आगामी चैत ५, ६ र ७ गते गरी तीन दिन सम्म अभियान संचालन गरिने भएको छ । जिल्लाको कुल जनसंख्या मध्ये १ लाख ३६ हजार ७ सय १० जनालाई औषधी सेवन गराउने अभियानको लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. फणिन्द्र बरालले जानकारी दिए ।

अभियानका लागि ३ सय ८० जना स्वास्थ्यकर्मी र १ हजार ५० जना तालिम प्राप्त स्वास्थ्य स्वयंसेवकलाई परिचालन गर्ने तयारी भएको छ । त्यस्तै ६२ जना सहजकर्ता र २५ जना सुपरभाईजरलाई पनि खटाईने कार्यालयले जनाएको छ ।

दुई बर्ष भन्दा माथिका सबैजनालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी खुवाईने भएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. बरालले जानकारी दिए ।

औषधि खाँदा केही लक्षण देखिने भएपनि पर्वतमा हालसम्म कुनै प्रकारको जटिल समस्या भने नदेखिएको कार्यालयले जनाएको छ । तर गर्भवती, सात दिन सम्मका सुत्केरी, दिर्घरोगीहरु र ७० बर्ष माथिका बृद्ध बृद्धाहरुलाई भने औषधी खुवाउन नहुने कार्यालयले जनाएको छ ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालय पर्वतले सोमवार एक पत्रकार सम्मेलन गरी अभियानका बारेमा जानकारी दिएको छ । जिल्लाका एक नगरपालिका र सवै गाविसमा उक्त अभियान एकैपटक संचालन गरिने भएको छ । कोहिपनि उक्त औषधी खानबाट बञ्चित नहोऊन भनेर सञ्चारकर्मीमार्फत सुचना प्रवाह गर्न उक्त सम्मेलन राखिएको हो ।

नेपालका २५ जिल्लाहरुमा छैटौ पटकसम्म खुवाएपछि अभियान सम्पन्न भएको छ भने पर्वत लगायत ३६ जिल्लामा अझैपनि संक्रमितको संख्या सुन्यमा नझरेपछि यो अभियान जारी रहेको छ । सरकारले सन् २०२० सम्म नेपालबाटै हात्तिपाईले रोग उन्मुलन गराउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्