मोर्चाका नेतालाई प्रमले भने– “यो सरकारजत्तिको अरू हुँदैनन्”



काठमाडौं, (नेस)
सरकारले संविधान संशोधन प्रक्रिया अगाडि नबढाउँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र सरकारबाट समर्थन फिर्ता लिने विषय उठ्दै आएको थियो। मोर्चाका शीर्ष नेताहरूले पनि मौखिकरूपमा प्रधानमन्त्रीलाई समर्थन फिर्ता लिने धम्की दिँदै आएका थिए।

तर बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी मोर्चाका नेताहरूले लिखितरूपमै अल्टिमेटम दिएका छन्।

सप्तरी घटनापछि मोर्चाका नेताहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले छलफलका लागि मंगलबार बोलाउनुभएको थियो।

प्रधानमन्त्रीसहित कांग्रेस र माओवादी केन्द्रका नेताहरू सहभागी बैठकमा मोर्चाका तर्फबाट रामसपाका महासचिव केशव झाले ज्ञापनपत्र पढेर सुनाउनुभयो भने तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाउनुभएको थियो।

मोर्चाको ज्ञापनपत्रमा पहिलो नम्बरमा निर्वाचन स्थगनको माग रहेको छ भने दोस्रो नम्बरमा संविधान संशोधन र स्थानीय तहको संरचनामा मोर्चाको सहमतिमा हुनुपर्ने माग गरिएको छ।

त्यस्तै, मोर्चाले तीन बुँदे सहमति कार्यान्वयनको माग गरेको छ भने सप्तरी घटनाका मृतकहरूलाई शहीद घोषणा र क्षतिपूर्ति तथा उच्चस्तरीय छानबिन आयोगको माग गरेको छ।

बैठकको शुरूमा बोल्दै मोर्चाका नेता एवम् तमलोपा अध्यक्ष महन्थ ठाकुरले अब सरकारसँग छलफल गर्ने वातावरण नभएको बताउँदै अब छलफल हुन नसक्ने दाबी गर्नुभयो। ठाकुरले मधेसी मोर्चाको समर्थन रहेको सरकारले मधेसीमाथि गोली चलाउनु जायज नभएको बताउँदै सरकारमाथि शंका व्यक्त गर्नुभयो।

अध्यक्ष ठाकुरले आफूहरूले सरकारसमक्ष वार्ता गर्दा पनि सरकारले मधेसको माग पूरा नगरेको आरोप लगाउनुभयो। उहाँले सात दिनभित्र सरकारले मधेसी मोर्चाको माग पूरा नगरे सरकारलाई दिइएको समर्थन फिर्ता लिने बताउनुभयो।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कांग्रेस माओवादी र मधेसी मोर्चाको गठबन्धनको औचित्य सकिएको प्रधानमन्त्रीलाई बताउनुभयो। उहाँले भन्नुभयो– ‘हाम्रै गठबन्धनबाट हामीमाथि प्रहार हुनुभनेको गठबन्धनको औचित्य सकिनु हो।

मधेसी मोर्चाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारभन्दा बढी मधेसमैत्री कुनै पनि सरकार हुन नसक्ने बताउनुभयो।

सत्तारूढ दलहरूसँग छलफल गरेर मधेसी मोर्चाको मागबारे प्रतिक्रिया दिने बताउँदै प्रचण्डले अहिलेकै सरकारले मोर्चाको माग पूरा गराउन सक्ने बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै नेसपाका अध्यक्ष अनिल झाले भन्नुभयो– ‘हामीभन्दा बढी सहयोगी सरकार पाउनुहुन्न। तपाईंहरू नै भन्नुस्, कुन सरकारले मधेसीको अधिकार सुरक्षित गर्न सक्छ?

मधेस आन्दोलनमा लागेका मुद्दाका विषयमा प्रधानमन्त्रीले भन्नुभयो– ‘म प्रधानमन्त्री भए पनि मेरो कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता हुन सकेको छैन। मधेस आन्दोलनमा लागेका मुद्दाहरू पनि फिर्ता हुनेछ। अहिले तत्कालै गर्न सम्भव छैन। प्रधानमन्त्रीले अन्तिममा मधेसी मोर्चाले अल्टिमेटम दिन नहुने बताउनुभयो।
कांग्रेस सभापति शेरबहादुर देउवाले सप्तरी घटनाप्रति दुःख व्यक्त गर्दै मोर्चाको माग सम्बोधनका लागि छलफल जारी रहेको बताउँदै माग पूरा हुने बताउनुभयो।

मोर्चासहितको संघीय गठबन्धनले बिहीबार देशैभरि प्रदर्शन गर्ने भएको छ। विरोधसभा तथा र्याली गठबन्धनले गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्