विवाह भोजको रकम सेलोघरलाई



प्रथम म्हेन्दोमाया गायक लेक योञ्जनले सेलोघरलाई सघाएका छन्। उनले बिहेको भोज–भतेरमा हुने फजुल खर्चलाई सामाजिक काममा लगाएका हुन्।

उनले काभ्रे बालुवापाटी–६ स्थित सामुदायिक सेलोघरलाई ५० हजार रुपियाँ सहयोग हस्तान्तरण गरे। गणेश हिमाल आसपासमा प्रचलित लोकगीत म्हेन्दोमायालाई लेकले रेडियो नेपालमा पहिलोपटक गाएर राष्ट्रियरूपमा चिनाएका थिए। उनी तामाङ समाज यूएईका संस्थापक महासचिवसमेत हुन्। हालै सलिना पाख्रिनसँग विवाह बन्धनमा बाँधिएका उनले सेलोघरका उपाध्यक्ष विकिराम तामाङ र कोषाध्यक्ष सानुमाया तामाङलाई सहयोग हस्तान्तरण गरेका हुन्। बाँकी रकम उनले आफ्नै गाउँ धादिङ सेम्जोङस्थित गुम्बालाई सहयोग गर्ने जनाए। ‘रामरमाइलोमा पैसा सकाउनुभन्दा केही अर्थपूर्ण काम गर्न मन लाग्यो, उनले भने– ‘त्यही भएर भूकम्पपीडित यो थलोमा आइपुग्यौं।

पर्यटकीय थलो नगरकोट छेवैको यो बस्तीमा म्यानमारका रक गायिका सी र बौद्धगुरू विन मिन थ्वेको पहलमा ६ महिनाअघि सामुदायिक सेलोघर निर्माण गरिएको थियो। बालशिक्षासँगै महिलालाई सीपमूलक प्रशिक्षण र रंगमञ्चीय अभ्यासको साझा थलो बनाउने ध्येय रहेको सेलोघरमा पुस्तकालय र फर्निचर व्यवस्थापनका लागि सहयोग रकम प्रयोग गरिने उपाध्यक्ष्य विकिराम तामाङले जनाए।

प्रतिक्रिया दिनुहोस्