पुल जिर्ण बन्दा जोखिम पुर्ण यात्रा



धनवीर दाहाल,रुकुम

राप्ती लोकमार्ग अन्र्तगत रुकुमको मुसिकोट नगरपालिका ५ सोलावाङ र वैरागिठाटीको विचमा पर्ने बेली ब्रिज जिर्ण बन्दा यायातायातका साधनहरु जोखिम मोलेर आवत जावत गर्न बाध्य भएका छन् । २०६२ सालमा निर्माण भएको उक्त बेली ब्रिजको त्यसपछि मर्मत नगरिदा जिर्ण बनेको हो ।

अहिले बेली ब्रिजका सतहमा रहेका अधिकांश पाता (प्लेट)हरु उप्किएका छन् भने बाँकी उप्किने क्रममा छन् । त्यस्तै उप्किएका पाताहरुपनि टुक्रिन थालेका छन् । जसका कारण यातायातका साधनहरु जोखिम मोलेर दैनिक आवत जावत गर्ने गरेका छन् । बेली ब्रिज जिर्ण बन्दा दुर्घटनाको जोखिम बढेको छ । उक्त बेली ब्रिजमा हाल दैनिक १ सय देखि डेढसय सम्म साना, ठुला गाडी जोखिम मोलेरै गुड्ने गरेका छन् ।

सडक डिभिजन कार्यालय चौरजहारीले सेनाले ब्रिज निर्माण गरिएको भन्ने सम्म थाहा पाएको र त्यो भन्दा अरु कुनै जानकारी कार्यालयसंग नभएको बताएको छ । कार्यालयका इन्जिनियर शुशिल पौडेलले ब्रिज कति सालमा निर्माण भएको हो, कति लागत लागेको हो, यसको आयु तथा भार बहन क्षमता कति छ जस्ता कुनैपनि जानकारी कार्यालयमा नभएको बताए । यसबारेमा जानकारी लिनका लागि पहल गरिएपनि कहि कतै त्यसको जानकारी फेला पार्न नसकिएको उनको भनाई छ ।

सडक डिभिजन कार्यालयले ब्रिज मर्मतका लागि टेण्डर आह्वान गर्न लागिएको जनाएको छ । आगामी चैत्र पहिलो साता सम्म टेण्डर आह्वान गरिने कार्यालयका इन्जिनियर पौडेलले जानकारी दिए । ब्रिज मर्मतका लागि ३७ लाखको टेण्डर आह्वान गर्न लागिएको उनले बताए । संकटकालको समयमा नेपाली सेनाले पुल निर्माण गरिदिएपछि त्यसको संरक्षणमा कुनै निकायले चासो नदेखाएको स्थानियले गुनासो गरेका छन् ।

बेली ब्रिजका बारेमा जिल्लाका सबै सरोकारवाला निकाय जानकार रहेपनि यसको मर्मतमा कसैले ध्यान नदिएको स्थानिय लोकवहादुर ददेलले बताए । यस सम्वन्धी काम गर्ने सडक डिभिजन कार्यालयले पनि यसमा ध्यान दिन नसकेको स्थानियको गुनासो छ । ब्रिज जिर्ण भन्दा सानातिना दुर्घटना बढ्न थालेको र अव तत्काल त्यसको मर्मत गर्ने होईन भने ठुलो दुर्घटना निम्तिने स्थानिय ददेलले बताए । उनका अनुसार ब्रिज जिर्ण बनेकै कारण अहिले सम्म २ ओटा मोटरसाईकल दुर्घटनामा परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्