“ओलम्पिक जित्ने आँट छ”



उनी त्यति बेला फुच्ची थिइन्। उनको दिनचर्या नयाँ बजारस्थित जुडो हलमा खेलाडीहरूले गरेको अभ्यास हेर्ने थियो। उनका बाबुले नयाँ बजारमा रेस्टुरेन्ट खोलेकाले पनि उनलाई जुडो खेलाडीको अभ्यास हेर्ने मौका मिलेको हो। प्रशिक्षक चन्द्र डंगोलले उनलाई जुडोमै लाग्न त्यति बेला प्रेरणा दिए भने उनका बाबुले पनि छोरीलाई नेपालको सफल जुडो खेलाडी बनाउने प्रण गरे। अहिले उनी नेपालकै सबैभन्दा सफल जुडो खेलाडी बनिसकेकी छिन्। हो, उनी हुन्– फुपु ल्हामु खत्री। फिरोज राजोपाध्यायसँगको कुराकानीमा उनले अगाडि भनिन् ः

एक सफल खेलाडी बन्दा कस्तो लागिरहेको छ ?

एकदम रमाइलो लागेको छ। तर यसको श्रेय गुरु चन्द्र डंगोल र लीला अधिकारीलाई जान्छ। उहाँहरू नभइदिएको भए म अहिले यो स्थानमा हुने थिइनँ होला।

कत्तिको संघर्ष गर्नुभएको छ सफल खेलाडी बन्न ?

धेरै नै संघर्ष गरेको थिएँ। धेरै दुःख खाएको थिएँ मैले। शुरूशुरूमा अभ्यासमा लाग्दा म केवल १२ वर्षकी थिएँ। ६ कक्षामा पढिरहेकी मलाई अभ्यास पहिले त सजिलै जस्तो लागेको थियो। तर एकपटक अभ्यास गरेपछि कति दिनसम्म जीउ दुखेर स्कुल नै जान सक्दिनथें।

तपाईं अभ्यास नगरी भाग्नुहुन्थ्यो भनिन्छ नि ? यसमा कति सत्यता छ।
–(हाँस्दै) बुबाले मलाई जुडो हलमा राखेर जानुहुन्थ्यो। तर, म प्रशिक्षणमा नबसी अन्तै जाने गरें। कहिले साइकल चलाएर दिन बिताउने र कहिले यताउता डुल्ने गरें।

तपाईंले एकपटक जुडो खेल नै छाडेको होइन र ?

हो। अभ्यास ज्यादै कडा हुने हुँदा मलाई जुडो खेल्नै मन लागेन। मैले २⁄३ वर्ष जुडो नै नखेल्ने निर्णय गरे।

फेरि कसरी जुडोमा फर्किनुभयो त ?

पछि मलाई लाग्यो बुबाले सपना देख्नुभएको थियो कि म एक सफल जुडो खेलाडी बनुँ। मैले बुझ्न थालेपछि फेरि जुडो खेल्ने निर्णय गरेँ।

कहिले देखि शुरू भयो जुडोको व्यावसायिक करिअर ?

–सायद मैले सम्झन त सक्दिनँ। तर मलाई लाग्छ त्यो २०६५⁄६६ साल थियो। मैले पहिलो प्रतियोगिता खेलेको। राजविराजमा भएको राष्ट्रिय स्तरको जुडो प्रतियोगितामा मैले सहभागिता जनाएको थिएँ।

के भयो पहिलो प्रतियोगितामा ?

–महिलातर्फको ५२ केजी तौल समूहमा भाग लिएको थिएँ। तर, म पहिलो खेलमै हारेँ। शुरूमै झट्का लाग्दा अलि निराश भएको थिएँ त्यति बेला। त्यसपछि नयाँ बजारमै भएको नेवाः राज्यको जुडो प्रयितोगितामा मैले ५२ केजीमै पदक जितेको थिएँ।

अन्तर्राष्ट्रियरूपमा करिअर कहिले शुरू गर्नुभयो ?

–मैले अन्तर्राष्ट्रिय करिअर सन् २०१० बाट शुरू गरेको हो। भारतको जयपुरमा भएको जुडो प्रतियोगितामा मैले कांस्य पदक जितें। यो नै मेरो पहिलो अन्तर्राष्ट्रिय पदक थियो। त्यसपछि अवसर आउन थालेको हो।

यसपछि पनि स्वर्ण जित्न धेरै ढिलो भएजस्तो लाग्दैन ?

ढिलो त लाग्यो, तर मैले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाटै केही सिक्न सकिरहेको छु। मैले सन् २०११ मा थाइल्यान्डमा भएको जुडो प्रतियोगितामा कांस्य जिते।

त्यसपछि पाकिस्तानमा दक्षिण एसिया च्याम्पियनसिपमा रजत जितें। हङकङ र मकाउमा भएको प्रतियोगितामा पनि रजत पदक जितें। मलाई लाग्यो मैले प्रगति गरिरहेको छु। मैले हालै १२औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितें भने भर्खरै पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेको छु। यसले मेरो करिअर सफलतातिर लागेको महसुस हुन्छ।

हंगेरीमा कस्तो अनुभव भयो तपाईंलाई ?

हंगेरीमा खेल्न पाउनु मेरा लागि करिअरमै सबैभन्दा ठूलो उपलब्धि बनेको छ। किनभने त्यहाँ मैले जुनियर क्याडेट जुडो च्याम्पियनसिपमा स्वर्ण र सिनियरतर्फ रजत जितें। त्यहाँको सिस्टमले भने मलाई प्रभावित गर्यो। यस्तो सिस्टम नेपालमा भइदिए हुन्थ्यो जस्तो लाग्छ।

कस्तो सिस्टम ?

हंगेरीमा खेलाडीको बिमा गरिएको हुन्छ। यस्तो बिमा नेपालमा भएकै छैन।

तपाईंको करिअरमा सबैभन्दा बिर्सन नसक्ने क्षण ?

मैले भारतमा सम्पन्न १२औं सागमा स्वर्ण जित्नु मेरो करिअरको सबैभन्दा बिर्सन नसक्ने क्षण हो। मैले नेपालका लागि स्वर्ण जित्न पाउँदा गर्व गरेको छु। यस्तो क्षण पछि आउँछ कि आउँदैन त्यो पछिको कुरा भयो। तर अहिलेलाई मेरा लागि त्यो स्वर्ण जित्दा खुसीको क्षण बनेको छ। किनभने हंगेरीमा खेल्दा र अभ्यास गर्दा मलाई त्यहाँ घाउचोट पनि धेरै लाग्यो। चोट लाग्दा म धेरै रोएँ पनि। तर पनि त्यहींबाट सीधै भारतमा भएको १२औं सागमा मैले सहभागिता जनाएँ। त्यो स्वर्णले मैले भोगेको दुःखपीडा सबै भुलाइदिएको थियो।

नराम्रो क्षण पनि छ कि ?

मैले जुडोमा स्थापित हुन गरेको दुःखपीडालाई नराम्रो क्षणका रूपमा लिएको छु। कतिपटक त झन्डै जुडो खेल नै छाड्ने मनस्थितिमा पुगेको थिएँ।

सबै खेलाडी सरकारप्रति उदासिन पाइन्छन्। तपार्इंको यसमा के धारणा छ ?

नेपालको सरकार फेरिरहने अनि खेलकुदलाई हेर्ने दृष्टिकोण अझै माथि आउन सकिरहेको छैन। सरकारको नीति भनौं भने वास्ता नगर्ने खालको छ। खेलाडीको बिमा गर्ने, आवश्यक आधारभुत चीजहरू उपलब्ध गराइदिनुपर्ने तर सरकारले यस्तो गरिरहेको छैन।

नेपाललाई ओलम्पिक पदक दिलाउने आशा गर्न सकिन्छ तपाईंबाट ?

मनमा आँट छ मेरो। ट्रेनिङ, कोचिङ यदि राम्ररी लिने वातावरण बनाइदिएमा म पदक ल्याउन तयार छु। रियो ओलम्पिक २०१६ मा मैले पूरै चार मिनेट समय टिकेर खेलें। यसैले पनि मलाई आँट छ।

प्रसंग बदलौं अब, तपाईं खेलाडी नबनेको भए के बन्नुहुन्थ्यो होला ?

म पत्रकार बन्थें होला ?

जीवनमा के गरौं जस्तो लाग्छ तपाईंलाई ?

मलाई ट्राभल गर्न मन छ। नयाँनयाँ ठाउँमा गएर रिसर्च गर्न मन छ। यस्तो गर्न अहिले समय छैन।

अहिले प्रशिक्षणमा व्यस्त हुनुहुन्छ। नयाँ खेलाडी ल्याउने कोसिस गरिरहनुभएको छ ?

म बिहान २ घण्टा जति यही रंगशालामा प्रशिक्षण गर्छु। खेल नभए पनि प्रशिक्षण गर्नु आवश्यक छ। यसपछि नयाँ बजारको डोजाङमा मैले नयाँ खेलाडीलाई प्रशिक्षण दिइरहेको छु।

प्रतिक्रिया दिनुहोस्