संयमता अपनाऊ



लोकतन्त्रमा राजनीतिक दलहरुले देशको जुनसकै क्षेत्रमा गएर पनि आफ्ना कार्यक्रम सञ्चालन गर्न पाउने अधिकार संविधानमा नै व्यवस्था गरिएको छ । एमालेले शुरु गरेको मेची–महाकाली अभियानमा मधेसी मोर्चाले अवरोध गर्नु लोकतान्त्रिक मूल्य–मान्यता विपरीत छ । सप्तरीको राजविराजमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीको झडपमा परी तीनजनाको ज्यान गएको छ । कुनै पनि घटनामा नागरिकले ज्यान गुमाउनु दुःखद हो । राजनीतिक दलहरुले निर्बाधरुपमा कार्यक्रम गर्न पाउँछन् । एमाले मात्र नभई सबै राजनीतिक दलहरुले मधेसमा कार्यक्रम सञ्चालन गर्न पाउँछन् । विचार नमिल्नेबित्तिकै निषेधको राजनीति गर्ने संस्कार अलोकतान्त्रिक हो ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको अवस्थामा राजनीतिक दलहरु मिलेर अगाडि बढ्नुको सट्टा दलहरुबीच आपसमा विभाजित हुनुहुँदैन । असमझदारी बढाउने होइन, समस्याको समाधान गर्न जुट्नुपर्छ । निषेधको राजनीतिक संस्कारले समाजिक सद्भाव बिथोलिने खतरालाई पनि राजनीतिक दलहरुले समयमा नै सोच्नुपर्ने आवश्यकता देखिन्छ ।
राजविराजको घटनाबाट सरकार, प्रमुख प्रतिपक्ष दल र मधेसी मोर्चा आक्रोशित हुनुभन्दा धैर्य, सहमति, सहकार्य र वार्तामार्फत समस्याको समाधान खोज्ने बाटोमा लाग्नुपर्छ । आरोप–प्रत्यारोपभन्दा पनि घटना के कारणले भएको हो, सत्यतथ्य बाहिर ल्याउनुपर्छ । आगामी दिनमा नागरिकहरुको ज्यान जाने गरी हुने घटना दोहोरिन नदिन सरकारले चलाखीपन अपनाउनुपर्छ । राजनीतिक दलहरु आन्तरिक किलचोमा रमाउँदा बाह्य शक्तिले चलखेल गर्ने मौका पाउँछन् । देशभित्रको समस्या समाधान गर्ने काम राजनीतिक दलहरुले आपसी समझदारीबाट गर्नुपर्छ । अडान राख्ने भन्दा पनि देश र जनताको राष्ट्रिय हितलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ ।

हरेक क्षेत्रमा समस्या हुन्छन् । समस्या हुनेबित्तिकै समस्या बल्झाउने भन्दा पनि उचित समाधान खोज्नु राजनीतिक दलहरुको दायित्व र कर्तव्य हो । समस्यामाथि समस्या थप्ने भन्दा पनि समस्यालाई निकास दिनु नै सरकार र राजनीतिक दलहरुको बुद्धिमता हुन्छ । सदियौंदेखि मिलेर बसेको सामाजिक सद्भाव भड्किन नदिन पनि राजनीतिक दलहरु चलाखो हुनुपर्छ । राजनीतिक दलहरुले निषेधको राजनीतिको सट्टा सहमति, सहकार्यमार्फत अगाडि बढ्नुपर्छ । संविधान जारी भए पनि देखिएका समस्याको उचित समाधान निकाल्न सरकार, प्रमुख प्रतिपक्ष दल र मधेसी मोर्चा सबै जिम्मेवार हुनुपर्छ । एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्ने भन्दा पनि देश र जनताको चाहना र भावनालाई आत्मसात् गर्दै अगाडि बढ्नु नै लोकतन्त्रको मुख्य मान्यता हो ।

प्रतिक्रिया दिनुहोस्