राजधानीमा भुस्याहा कुकुरको बिगबिगी



काठमाडौं, (नेस)
केही दिनअघि काठमाडौं भीमसेनस्थानकी लक्ष्मी श्रेष्ठलाई हिँडिरहेका बेला बाटोमै कुकुरले टोक्यो। लगत्तै आत्तिँदै उनी भीमसेनस्थानमा चलिरहेको निःशुल्क स्वास्थ्य जाँच भएको शिविर स्थलमा पुगिन्। र, रेविजविरुद्धको सुई लगाइन्। अन्ततः उनको उपचार सल्टियो।

काठमाडौं बौद्ध निवासी सोनाम यानुङ बस्ने घर नजिक राति १० बजेपछि भुस्याहा कुकुर खुबै कराउँछन्। जसले गर्दा उनलाई रातभरि निद्रा पुग्दैन। अहिले कुकुर भुक्दा मानसिक समस्या झेलिरहेको उनी बताउँछिन्। यानुङ भन्छिन्– ‘कुकुर देख्दा टिठ लाग्छ। कराएर निद्रा पर्दैन। कमसेकम सरकारले पोथी कुकुरको बन्ध्याकरण अभियानलाई तीव्र बनाए केही नियन्त्रण त हुने थियो।’

अहिले काठमाडौं उपत्यकामा विभिन्न गैरसरकारी संघसंस्थाहरू कुकुरको अधिकार र कुकुरहरूको दीर्घकालीन व्यवस्थापन गर्न लागिपरेका छन्। क्याट संस्थाका अनुसार पछिल्लो तथ्यांक हेर्दा काठमाडौं उपत्यकामा मात्रै २३ हजार कुकुर छन्। दैनिक ४ वटा कुकुरको बन्ध्याकरण गर्ने गरेको संस्थाका सूचना अधिकारी दीपेश ढकाल बताउनुहुन्छ। सरोकारवालाले पोथी कुकुरको बन्ध्याकरणका लागि सरकारी तवरवाट योजना बने केही हदसम्म कुकुरहरूको संख्यामा कमी आउने बताएका छन्।

उता सरकारले कुकुरहरूको व्यवस्थापनका लागि भन्दै तीनवर्षे कार्ययोजना ल्याएको छ। जसका लागि साढे ३ करोड रुपियाँ बजेट छुट्याइएको काठमाडौं महानगरपालिका शहरी स्वास्थ्य महाशाखाका प्रमुख हरि श्रेष्ठले जानकारी दिनुभयो। कुकुरहरूको बिगबिगी बढिरहेको छ नि भन्ने जिज्ञासा राख्दा प्रमुख श्रेष्ठ भन्नुहुन्छ– ‘अहिलेसम्म १ हजार १ सय कुकुरको बन्ध्याकरण गरिसकेका छौं। साथै वडा वडामा जनचेतनाका कार्यक्रमहरू, स्वास्थ्य उपचार, भ्याक्सिन लगाउनेलगायतका काम पनि तीव्र रूपमा अघि बढेका छन्। साथै अब योजना बनाएर अघि बढ्ने सोच बनाएका छौं।’

प्रतिक्रिया दिनुहोस्