लोकमार्ग खुलाउन काम सुरु



बागलुङ, २४ फागुन । सुख्खा पहिराका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको बागलुङ– बुर्तिवाङ खण्ड पुनःसञ्चालन गर्न काम सुरु भएको छ ।

रिघा– ७ मनेवापाटामा आइतबार बिहान गएको पहिराले रोकिएको सडक खुल्न अझै तीन दिन लाग्ने जनाइएको छ । सोमबारदेखि ‘स्काभेटर’ लगाएर पहिरो हटाउन सुरु गरिएको लोकमार्गका इ राजु रानाभाटले जानकारी दिनुभयो ।

दुई सय मि फराकिलो र एक सय ५० मि माथिबाट खसेको पहिरो हटाउन सोमबारदेखि थप यन्त्र प्रयोग गरिने उहाँको भनाइ छ । “ठूलो पहिरोसँगै ठूला ठूला ढुङ्गा खसेकाले सडक सुचारु गर्न समय बढी लाग्ने भएको छ” रानाभाटले भन्नुभयो । सडक खुलाउने कार्यमा सोही स्थानमा निर्माणाधीन दरमखोला हाइड्रो इनर्जी लिले पनि सघाएको छ ।

पहिराले सडक लगेपछि लोकमार्ग भएर चल्ने सिधा यातायात बन्द भएको छ । बाग्लुङदेखि बुर्तिवाङ चल्ने र बुर्तिवाङबाट बाग्लुङ, काठमाडौँ लगायत क्षेत्रमा चल्ने यातायात अवरुद्ध छ । सदरमुकामसम्म आउजाउ गर्ने साना सवारी साधनले भने ग्रामीण भेगका वैकल्पिक सडक प्रयोग गरेका छन् । बस, ट्रक जस्ता ठूला सवारी साधान भने ठप्प भएको धवलागिरि अञ्चल जिप व्यवसायी समितिले जनाएको छ ।

सिधा यातायात नचलेपछि लोकमार्गमा यात्रा गर्ने सर्वसाधारणले सास्ती पाएका छन् । सडकमाथिबाट खसेको पहिराले स्थानीय दरमखोला थुनिएपछि कृत्रिम तलाउसमेत बनेको छ । तलाउ भरिएर पानी आफँै बग्न थालेपछि जोखिम कम भएको जनाइएको छ । बहाव नियमित भए पनि ताल भने यथावत् रहेको स्थानीयवासीले बताएका छन् ।

खोला किनारका बस्ती जोखिममुक्त रहेको र तालको पानी बिस्तारै घटिरहेको खर्वाङ प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिनुभयो । पहिराका कारण विद्युत् खम्बा ढली उच्च विद्युत् प्रवाह हुँदा ‘करेन्ट’ लागेर रिघा– ७ की ५६ वर्षीया मनकुमारी नेपालीको मृत्यु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्