रुकुमका राजनितिक दललाई पनि लाग्यो स्थानीय चुनाव



धनवीर दाहाल,रुकुम

जनप्रतिनिधि नहुँदा हैरानी खेपीरहेका जनताहरु यतिबेला सरकारले स्थानीय तहको चुनावको घोषणा गरेपछि हर्षित भएका छन् । झन्डै २० बर्ष पछि हुन लागेको स्थानीय तहको निबार्चनले स्थानीय जनता मात्र होइन रुकुमका राजनितिक दललाई पनि तताएको छ ।

रुकुमका मुख्य राजनितिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओबादी केन्द्रका स्थानीय नेता कार्यकर्ताले आ आफ्नो पार्टीको पक्षमा मत माग्न थालीसकेका छन् । जनप्रतिनिधि नहुँदा कर्मचारीले चलाउँदै आएको स्थानीय निकायप्रति त्यति खुशी नभएका उनी निर्वाचित हुने जनप्रतिनिधिप्रति उनी निकै आशावादी समेत छन् ।

यहाँका वासिन्दाहरुको दुई दशक पछिको खुशी फर्किएको छ । उनीहरु आफैले स्थानीय प्रतिनिधि छनौट गर्न नपाउँदा निराश थिए । सरकारले देशभरी एकैसाथ २०७४ साल वैशाख ३१ गते स्थानीय तहको चुनाव हुने घोषणा गरेसंगै यहाँका स्थानीयहरु खुशी हुन् । दुई दशक पछि जनप्रतिनिधि छनौट गर्ने निर्णयले आफुलाई निकै हर्षित बनाएको रन्मामैकोटका दयराम बुढाले बताए । जनप्रतिनिधि नहुँदा जनताले चाहे जस्तो गाउँमा विकास गर्न नसकेको उनले बताए ।

जनप्रतिनिधि बिहिनताले ग्रामिण क्षेत्रको विकास पछाडि धकेलिएको भन्दै उनले सरकारको यो निर्णय स्वागत योग्य भएको उनको भनाई छ । सरकारले तोकिएकै मितिमा स्थानीय चुनाव गराउनु पर्छ मुसीकोट नगरपालिकाका कालीबहादुर खत्रीले भने, ‘जति छिटो चुनाव हुन्छ त्यति नै छिटो गाउँमा विकास हुन्छ ।’ गाउँको विकास संग जोडिएको स्थानीय निकायको चुनाव सम्पन्न गराउने वातावरण सृजना सबै आफ्नो आफ्नो ठाउँबाट लाग्नु पर्ने उनको धारणा छ ।

निर्वाचन घोषणासँगै यहाँका वासिन्दाहरुले स्थानीय जनप्रतिनिधि छनोट गर्ने मतदानको अधिकार प्राप्त हुन लागेको प्रति खुशी छन् । स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा व्यापक भ्रष्टाचार बढेको र स्थानीय तहको विकास निर्माणसमेत ठप्प हुँदै आएको थियो । जनप्रतिनिधिको जिम्मा संगै कार्यालयको काम सम्हाल्नु पर्दा कर्मचारीहरुले काम समेत ढिला सुस्ती गर्दै आएका थिए ।

नगरपालिका कार्यकारी प्रमुख र गाविसमा गाविस सचिवले स्थानीय निकायको नेतृत्व गर्दै आएका थिए । स्थानीयहरु बीच कसलाई स्थानीय तहको प्रतिनिधि बनाउने भन्ने विषयमा समेत बहस हुन थालेको छ । स्थानीय तहका प्रतिनिधिहरु प्रति निकै आशावादी देखिएका यहाँका स्थानीयहरु भनेको समयमा चुनाव सम्पन्न हुनु पर्ने बताएका छन् । यता राजनितिक दलहरु पनि कार्यकर्ता प्रशिक्षण, जनतासँग घरदैलो लगाएतका कार्यक्रमलाई तिब्र बनाएका छन् ।

नेकपा माओबादी केन्द्रले रुकुमका प्रस्तावित १० वटा प्रस्तावित स्थानीय तहमा गएर कार्यकर्ता प्रशिक्षण तथा जनतासँग भेटघाटलाई तिब्र पारेको बताएको छ । नेकपा एमाले रुकुमले पनि प्रस्तावित सानीभेरी गाँउपालिकाबाट कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । रुकुमका राजनितिक दलहरुको सहमतिबाट १० वटा स्थानिय तह प्रस्ताव गरिएपनि स्थानीय तह पुर्नरसंरचना आयोगले ९ वटा स्थानीय तहको निर्णय रुकुम पठाएको छ ।

तर रुकुम जिल्लालाई पुर्वी र पश्चिम रुकुम भनि २ भागमा बिभाजन गरिएपछि रुकुम ठाँउ कहाँदेखी पुर्व र पश्चिमको स्थानीयवासी त अन्यौलमा छन नै यहाँका राजनितिक दल पनि अन्यौलमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्