कि मलाई मेरा बुबा चाहिन्छ, कि प्रश्नको जवाफ



बुबाको अवस्था सार्वजनिक गर्न माग दश वर्षे सशस्त्र युद्धका बेला अपहरणमा परेका मिरुल, रोल्पाका पत्रकार धनबहादुर रोकामगरकी छोरी पवित्रा रोकामगर । उनी सरकारसँग बुबाको अवस्था सार्वजनिक गर्न माग गरेकी छिन । तस्बिर, कविता उपाध्याय, लिबाङ(रोल्पा), रासस

कविता उपाध्याय

लिबाङ ९रोल्पा०, २४ फागुन । दश वर्षे सशस्त्र युद्धका बेला अपहरणमा परेका मिरुल, रोल्पाका पत्रकार धनबहादुर रोकामगरकी छोरी पवित्रा रोकामगरले रुँदै भनिन्, “मेरा बुबाको कलमले कस्को के बिगारेको थियो रु किन अनाहकमा मेरा बुबालाई बेपत्ता पारियो रु किन अझै पनि मेरा बुबाको अवस्थाका बारेमा राज्य बेखबर छ रु प्रचण्ड सरकार, कि मलाई मेरा बुबा चाहिन्छ, कि यो प्रश्नको जवाफ दिनुहोला ।”

धनबहादुरकी छोरी पवित्रा हाल १८ वर्ष पुगिसकेकी छिन् । उनीलगायत उनका दुई साना भाइ सदरमुकामस्थित होलिभिजन आवासीय माध्यमिक विद्यायल लिबाङ, रोल्पामा अध्ययनरत छन् । आगामी प्रवेशिका परीक्षामा सहभागी हुनका लागि पवित्राको तयारी तीव्ररुपमा चलिरहेको छ । तर पनि बुबाको सम्झनाले बेलाबेला उनलाई भावविह्वल बनाउने गरेको उनको भनाइ छ ।

पवित्राको ठूलोभाइ वसन्त हाल १६ वर्ष अनि सानो भाइ १४ वर्षका छन् । तर पनि अझै उनीहरुका बुबाको बारेमा परिवार बेखबर छ ।

पवित्राका बुबा युद्धका बेला रेडियो नेपाल, सुर्खेतमा मगरखाम भाषाको समाचार वाचन गर्नुहुन्थ्यो । पारिवारिक स्रोतका अनुसार त्यसबेलाको देशको बिग्रँदो परिस्थितिका कारण धनबहादुरलाई घरमा सहजै आउने जाने वातावरण थिएन । यसकारण धनबहादुर चाहेको समयमा परिवारसँग भेट्न तथा घर पुग्न सक्नुहुन्नथ्यो ।

पवित्रा नजन्मदै धनबहादुरका बुबा र फुपाजुलाई तत्कालीन माओवादीले घरमै आएर रातको समयमा गोली हानेका थिए । गोली लागेर छटपटाइरहेका दुवैजनालाई उनीहरुले पटकपटक धारिलो हतियार प्रयोग गरेर छियाछिया पारेपछि घरमै एकैसाथ दुवैजनाको मृत्यु भएको धनबहादुरकी श्रीमती दिलकुमारीले जानकारी दिनुभयो ।

त्यसबेला धनबहादुरका भाइलाई पनि गोली लागेको थियो । युद्धकै समयमा नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगन्ज लगेर उपचार गरेपछि धनबहादुरका भाइको ज्यान बचेपनि धनबहादुरका बुबा र फुपाजुको एउटै चिहान बनेको उहाँले बताउनुभयो । त्यसबेला भर्खरै विवाह बन्धनमा बाँधिएको धनबहादुरको जोडी भने ससुराली गएको हुँदा बाँच्न सफल भएको उहाँको भनाइ छ ।

दिलकुमारीका अनुसार तीन पटकसम्म तत्कालीन माओवादीले धनबहादुरको घर जलायो जसका कारण परिवारको सदस्य गुमाएको पीडा हुँदाहुँदै धनबहादुरको परिवारले अर्को ठूलो पीडा सहनुपरेको थियो । त्यसैले जीवन रक्षाका लागि पछिल्ला दिनमा धनबहादुर कहिल्यै घर फर्कनुभएको थिएन ।

विसं २०६० तिरको कुरा हो धनबहादुरकी श्रीमती दिलकुमारी सुत्केरी भएपछि सुत्केरी सामग्री तथा केही रुपैयाँ लिएर धनबहादुर सुर्खेतबाट लिबाङ आउनुभएको थियो । १७ दिनकी सुत्केरी बुहारी घरमा छोडेर धनबहादुरकी आमा छोरालाई भेट्न लिबाङसम्म आउनुभयो । आमाछोरा दुइरात लिबाङ बसेपछि तेस्रो दिनमा उहाँकी आमा घर जानुभयो भने धनबहादुर कार्य क्षेत्र सुर्खेत । तर दुर्भाग्य उहाँको अन्तिम यात्रा प्यूठानको जलुकेमै रोकियो ।

धनबहादुर प्युठानको जलुकेबाट अपहरणमा पर्नुभयो । धनबहादुरसँगै अपहरणमा परेका अर्का एकजना शिक्षकले अपहरणमा परेको करिब तीन महिनापछि भागेर मुक्ति पाउनु भयो, तर धनबहादुरको अवस्थाका बारेमा हालसम्म कसैलाई कुनै किसिमको आधिकारिक जानकारी छैन ।

पवित्राका अनुसार उनका बुबा अपहरणमा पर्दा पवित्रा पाँच वर्षकी थिइन् । अपहरणमा पर्नुभन्दा करिब एक वर्ष पहिले आमासँग आएकी पवित्राले लिबाङमा आफ्ना बुबालाई भेटेकी थिइन् । पवित्राको स्मरणमा बुबासँगको पहिलो तथा अन्तिम भेट त्यही थियो ।

त्यसबेला पवित्रा करिब चार वर्षकी थिइन् सबै कुरा उनले सम्झिराखेकी छैनन् तर पनि आफूहरु होटलमा बास बसेको र बुबाले किनेर ल्याइदिएको राम्रो फ्रक लगाएको कुरा उनको मानसपटलमा अझै ताजै छ । त्योबाहेक बुबाको बारेमा पवित्रालाई केही स्मरण छैन ।

आँसु पुछ्दै पवित्राले भनिन्, “धेरै वर्ष भयो बुबा बेखबर भएको अब त बुबा फर्कनु हुन्न भन्ने थाहा छ, तर पापी मन मान्दैन । बुबा फर्कने आशमा दिन गुजारीरहेका छौँ अझै पनि बुबा फर्कने झिनो आशा मनभित्रै लुकेको छ । यदि बुबा मारिएकै भए पनि आधिकारिक जानकारी पाए बुबाको काजकिरिया गर्ने थियौँ, अनिमात्र मनले शान्ति पाउने थियो ।”

गएको दसैँमा स्कुल बिदा भएपछि पवित्रा घर गएकी थिइन् । उनलाई यसपालिको दसैँमा बुबाको धेरै याद आयो । अनि एल्बममा सजिएका फोटो हेर्दै गर्दा उनका बुबाले अपहरणमा पर्नुभन्दा अगाडि लेखेर पठाएको चिठ्ठी फेला  पर्यो । पवित्राले  दोहोर्याइ तेहेर्याइ त्यो चिठ्ठी पढिन् ।

त्यसमा लेखिएको थियो, “छोरी पवित्रा र छोरा वसन्तलाई मीठो प्यार, अनि सम्झना । के गर्नु रु सन्तानको मायाले छट्पटाउँदा पनि घर आउन पाइँदैन । तिमीहरु ठूला भयौ भने मसँगै राखेर पढाउनेछु । चिठ्ठीमा राखेर रु छ हजार पठाएको छु घरखर्च चलाउनु । अपुग भए गाउँमा सापटी लिएर चलाउनु । नआत्ती बस जिन्दगी लामो छ । सधैँ समय निष्ठुरी बन्ने छैन । आज दुःख गरे भोलि सुखको दिन फर्कनेछ । उही तिमीहरुलाई माया गर्ने धनबहादुर ।”

यो चिठ्ठी पढेर पवित्रा धेरै रोएकी थिइन् । घरखर्च चलाउँदा अपुग भए सापटी काढेर चलाएको ऋण तिर्ने मान्छे नै बेखबर भएपछि पवित्राको परिवारमा ठूलो बज्रपात परेको छ ।

विद्यालयमा उनका सहपाठी साथीका अभिभावक आएर आफ्ना बालबच्चाको रेखदेख गर्दा पनि उनको मन पटकपटक छियाछिया भएको छ । कति पटक त उनी साथीको माझमा नै बुबालाई सम्झेर भक्कानो छोडेर रोएको उनका सहपाठीले बताए ।

पवित्रा भन्छिन् “जनताका पक्षमा काम गर्ने भन्दै पटकपटक शासन सत्ता बदलियो । तर बेपत्ता परिवारको न जीवन फेरियो न जीवनचर्या नै ।”

पवित्रा जतिजति ठूली हुँदै गइन् त्यति त्यति बुबाको अभाव महसुस हुन थालेको छ । पवित्राका अनुसार हालसम्म नेपाल चिल्ड्रेन्स् एजुकेसन फन्डले उनीहरुको शैक्षिक क्षेत्रमा सहयोग गरिराखेको छ । यसले गर्दा उनीहरु शिक्षाको उज्यालो पाउनबाट वञ्चित बनेका छैनन् तर पवित्रालाई आगामी भविष्यको चिन्ताले पनि उत्तिकै पिरोल्ने गरेको छ । तीन सन्तानमध्येमा जेठी छोरी भएकै कारण उनलाई अझ बढी जिम्मेवारी थपिएको उनको भनाइ छ ।

हाल पवित्राले अध्ययन गर्दै आएको होली भिजन आवासीय माध्यमिक विद्यालय लिबाङ, रोल्पाका प्रिन्सिपल ओमप्रकाश केसीका अनुसार पवित्रा र उनका दुई भाइ पढाइमा उत्तिकै लगनशील र मेहनती छन् । अब निकट भविष्यमा पवित्रा एसएलसी उत्तीर्ण गरेर जाँदैछिन् ।

अबको उनको भविष्यका बारेमा विद्यालयले केही गर्न नसक्ने भएको हुँदा यस विषयमा सरोकारवाला निकायले सोच्नुपर्ने बेला आएको उहाँको भनाइ छ । उहाँका अनुसार अवसर पाए यी तीनै दिदीभाइ सक्षम र सबल नागरिकको रुपमा परिचित हुन सक्नेछन् ।

यस्तै, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रोल्पाका अध्यक्ष महेश न्यौपानेले पत्रकार धनबहादुर रोकाको अवस्थाबारेमा राज्यले चासो र चिन्ता गर्नैपर्ने बताउनुभएको छ । पत्रकार धनबहादुरको अवस्था यथाशीघ्र सार्वजनिक हुनुपर्ने उहाँको जोड छ ।

उहाँका अनुसार धनबहादुरका परिवारका सदस्य धनबहादुरलाई जिउँदो भेट्ने तीव्र चाहना बोकेर बाँचिराखेका छन् । उनीहरुको आर्थिक अवस्था पनि कमजोर भएका कारण सामान्य नागरिकभन्दा पत्रकारको परिवारलाई फरक ढङ्गबाट हेर्नुपर्ने उहाँको भनाइ छ ।

हाल छात्रवृत्तिकै भरमा अध्ययन गरिराखेका बालबालिकाको रोजगारीको ग्यारेन्टी राज्यले लिनैपर्छ, उहाँले भन्नुभयो । यसका साथै आयआर्जनका लागि पनि सोच्न सकेमात्र उनीहरुको परिवारलाई थप राहत मिल्नेछ भने धनबहादुरकी श्रीमतीलाई पनि आयआर्जनका लागि राज्यले व्यवस्था मिलाउनु पर्ने अध्यक्ष न्यौपानेको माग छ । रासस

प्रतिक्रिया दिनुहोस्