रेकर्ड तोडे रामचन्द्रले,२२ मिनेटमा ८ सय ६७ पटक सिटअप



हेटौंडा,

अमेरिकी नागरिकले कायम गरेको विश्व कीर्तिमान रेकर्ड (गिनिज बुक अफ वल्र्ड रेकर्ड) मा ६० मिनेटमा २ हजार ६ सय १ पटक सिटअपको रेकर्ड छ । उक्त रेकर्ड तोड्दै नेपालका ६० वर्षीय रामचन्द्र खनालले ६० मिनेटमा २ हजार ६ सय २५ पटक सिटअप गरेका छन् ।

उनले जिल्ला खेलकुद विकास समिति मकवानपुरको संयोजनमा भएको उत्प्रेरणा तथा प्रदर्शन कार्यक्रममा २२ मिनेटमा ८ सय ६७ पटक सिटअप गरेर चकित बनाए । उनको प्रदर्शन हेर्न हेटौंडा–४ मा रहेको हुप्रचौरमा खेलप्रेमीहरु पुगेका थिए । खनाललाई जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाले मायाको चिनो प्रदान गरे ।

सामान्यतया सिटअप सेना वा प्रहरीले गर्छन् भन्ने सोच हुन्छ । तर, पाल्पाको रामपुर नगरपालिका– ५, दर्छाका खनाल सिटअप गरेर विश्व कीर्तिमान कायम गर्ने तयारीमा छन् । आफूले यो उमेरमा सिटअप गरेर आप्mनो स्वास्थ्य अवस्थासमेत सुधारेको बताए ।

उनले काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको पछिल्लो रेकर्ड तोड्दै १० वटा नयाँ कीर्तिमान बनाएका छन् । खनाल १ मिनेटमा ५८ पटक सिटअप गर्छन् । उनले दुई मिनेटमा १ सय १५ तथा ५ मिनेटमा २ सय ७८ पटक सिटअप गरेर देखाएका छन् । उनी १० मिनेटमा ५ सय ३५, १५ मिनेटमा ७ सय ७०, ३० मिनेटमा १ हजार ४ सय ३६ पटक सिटअप गर्न सक्छन् । आफूले १ घण्टामा २ हजार ६ सय २५ पटक सिटअप गरेको उनले बताए ।

रक्तचाप र मधुमेहका रोगीले नियमित औषधि सेवन गर्दछन् । तर, पाल्पा रामपुर नगरपालिकाका खनालले भने औषधि सेवन गर्न छाडेर नियमितरुपमा सिटअप व्यायाम गरेर निरोगी बन्दै अहिले विश्व कीर्तिमान नै जितेका छन् ।

अमेरिकी नागरिकले कायम गरेको विश्व कीर्तिमान ६० मिनेटमा दुई हजार ६ सय एक पटकलाई तोडेर खनालले ६० मिनेटमा दुई हजार ६ सय २५ पटक सो व्यायाम गरी विश्व रेकर्ड राख्न सफल भएको खनाल बताउँछन् ।

खनाललाई डाक्टरले दिएको रक्तचाप र सुगरको औषधि नियमित खानुपर्ने सल्लाह लिएर घरमा आए । औषधि खानुभन्दा व्यायामतर्फ नै दैनिक सक्रिय भएसँगै रोगी होइन, कुशल खेलाडीका नामले चिनिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्