पत्रकारलाई नयाँ शैलीमा स्वागत



हेटौंडा,(नेस)

मकवानपुर जागरण अभियानले नेपाल पत्रकार महासंघ मकवानपुरको नयाँ कार्यसमितिलाई नयाँ शैलीमा स्वागत गर्दै शुभकामना व्यक्त गरेको छ ।

आइतबार हेटौंडामा अभियानले महासंघका नवनिर्वाचित अध्यक्षसहित टोलीलाई ढाकाटोपी, ढाकाकै खादा तथा पेन र डायरी प्रदान गर्दै स्वागत गरेको हो । अभियान अध्यक्ष कृष्णराज कोइरालाले नेपाल राष्ट्र र नेपालीको शिर उच्च पार्न पत्रकारले उल्लेखनीय भूमिका खेल्ने विश्वाससाथ उच्च शिरको प्रतीकका रुपमा ढाकाटोपीले सम्मान गरेको बताए ।

कार्यसमितिमा पत्रकारहरु विभिन्न राजनीतिक संगठनबाट आए भए पनि स्वतन्त्रढंगबाट अभिप्रेरित भएर कलम चलाउन सकुन् भन्दै पत्रकारलाई कलम र डायरी दिएर सम्मान गरिएको पनि उनले बताए । अभियान अध्यक्ष कोइरालाले समाजमा भएका घटनालाई उजागर गर्दे निष्पक्ष पत्रकारितालाई थप मर्यादित बनाउन पत्रकार महासंघलाई शुभकामना दिए ।

नवनिर्वाचित अध्यक्ष हरि हुमागाईंले मकवानपुर जागरण अभियानले गरेका राम्रा कामको प्रशंसा गर्दै अभियानको सहयोगीका रुपमा पत्रकार महासंघको सहयोग रहने बताए । अध्यक्ष हुमागाईंले पत्रकार महासंघ साझा संगठन भएकाले सोहीअनरुप आफू चल्ने बताए । निष्पक्ष पत्रकारिताको आफूहरु सदैंब क्रियाशील हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्