पाँच व्यवसायीलाई ‘सुमार्गी स्मृति पुरस्कार’



हेटौँडा,(नेस)

नेपालका चर्चित व्यवसायीका सम्मानमा स्थापित पुरस्कार हेटौंडामा समर्पण गरिएको छ ।

मकवानपुर लामो समयदेखि विभिन्न उद्यममा संलग्न रहँदै आएका विभिन्न क्षेत्रका व्यवसायीहरुलाई ‘माधवराज सुमार्गी स्मृति पुरस्कार’ बाट सम्मान गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवका अवसरमा उनीहरुलाई पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार प्राप्त गर्नेमा मकवानपुरका पुराना यातायात व्यवसायी करण क्षेत्री, निर्माण व्यवसायी विजय जोशी, राइस मिल व्यवसायी टीकाप्रसाद चौलागाईं, किराना व्यवसायी भीमसेन श्रेष्ठ, आवासीय विद्यालय सञ्चालक टासीडोल्मा तुम्बाहाङ्फे छन् ।

पुरस्कृत यातायात व्यवसायी क्षेत्रीका हजुरबुबा मानसिंह महतराले पेशा शुरु गरेका हुन् । छोरा शंकर महतराहुँदै हाल यसको जिम्मेवारी नाति करणले लिइरहँदा यातायात व्यवसायको दायरा निकै फराकिलो बनिसकेको छ ।

किराना व्यवसायी श्रेष्ठ उद्यमी कृष्णकुमार श्रेष्ठका छोरा हुन् । उनलाई हेटौंडा क्षेत्रमा काले साहुका रुपमा चिनिन्छ । महिला उद्यमीका रुपमा परिचित तुम्बाहाङ्फेले २०३६ देखि हेटौंडामा उज्ज्ल शिशु निकेतन नामक आवासीय विद्यालय सञ्चालन गरेकी हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष पशुपति मुरारका र कोष संरक्षक तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीकी आमा विश्वकान्ति कलावतीबाट उनीहरुलाई सम्मान गरिएको थियो । प्रतिष्ठानले हरेक वर्ष सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।

माधवराज सुमार्गी आफैं एक उद्यमी थिए । उनले मकवानपुरमा शुरु गरेको खानी उद्योग हाल विविधीकरण भएर अन्य विभिन्न क्षेत्रमा समेत लगानी विस्तार गर्न सफल भइसकेको छ । हाल सुमार्गी समूहका रुपमा परिचित व्यावसायिक घरानाले अन्य नयाँ उद्यमीलाई पनि उद्यमशील बन्न प्रोत्साहन मिलोस् भनेर कोष खडा गरेको हो ।

पिता स्व. माधवराज सुमार्गी तथा माता विश्वकान्ति सुमार्गीको अग्रसरतामा २०२९ सालदेखि सञ्चालित हेटौंडा चुन उद्योग, कलात्मक काष्ठ उद्योग स्थापना गरिएकोमा सो व्यवसायलाई निरन्तरता दिँदै २०६० वैशाखदेखि दुरसञ्चार, खनिज, मिनरल, पूर्वाधार विकास, जस्ता क्षेत्रमा कार्य गर्ने ती क्षेत्रहरुमा आवश्यक लगानी व्यवस्थापन, सञ्चालन सहकार्य गर्ने समेतका उद्देश्यसाथ मुक्तिश्री प्रालिले विभिन्न क्षेत्रमा उद्योग व्यवसाय स्थापना र सञ्चालन गर्दै आएको छ ।

कम्पनीले राष्ट्रिय आवश्यकताहरुलाई परिपूर्ति गर्ने उद्देश्यसाथ नेपालमा रहेको राष्ट्रिय तथा बहुर्राष्ट्रिय रंगरोगन (पेन्ट) बनाउने उद्योगको कच्चापदार्थ डोलामाइट तथा नेपालमा फस्टाएको पोल्ट्री व्यवसायको दाना बनाउने उद्योगको कच्चापदार्थ क्याल्सियम कार्बोनेट तथा कृषकहरुले माटोमा बढ्दो अम्लीयपनका कारण भोग्नुपरेको समस्यालाई समाधान गर्न कृषिचुन र भवन निर्माणमा प्रयोग हुने मोज्याइक दानासमेत उत्पादन गर्ने देशको अग्रणी खानीजन्य उद्योगको रुपमा हेटौंडा चुन उद्योग प्रालि नामक उद्योग २०२९ सालदेखि मकवानपुरको निबुवाटार हुँदै भैंसे–७ मा सञ्चालनमा छ ।

२०३४ सालमा कलात्मक काष्ठ उद्योग र यातायात क्षेत्रमा काम गर्दै २०५५ सालमा एभरेष्ट मिनरल प्रोडक्ट प्रालिमा मिनरल उद्योग स्थापना गरी सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्