रोलिङ स्टोन्सका विद्यार्थीलाई राजेशपायलको सरप्राइज



लोकप्रिय युवा गायक राजेशपायल राई सामान्यतः थोरै दर्शकका बीच जान चाहँदैनन्। ठूलो संख्याका दर्शक, त्यस्तै हुटिङ अनि राजेशपायलको जोडदार सांगीतिक प्रस्तुति। सधैं यस्तै देखिने गर्छ। हालैको एक दिन भने गायक राई स्कुले विद्यार्थीका बीच देखिए। राजेशपायल गीत गाइरहेका र उनका साथमा विद्यार्थी रमाइरहेका।

यो दृश्य थियो राजधानीस्थित मरू, भीमसेनथानमा अवस्थित द रोलिङ स्टोन्स स्कुलको अभिभावक दिवसको। अभिभावक दिवसको विशेष अतिथिका रूपमा पुगेका गायक राईले विद्यार्थी, अभिभावक तथा शिक्षक शिक्षिकाको मागपछि गीत नगाई बस्नै सकेनन्। ‘प्रायः म स्कुलको कार्यक्रममा जान्नँ। तर, यस्तो भव्य कार्यक्रम तथा म्युजिक र आर्टिसलाई फोकस गरेर सञ्चालन गरिएको स्कुलको बारेमा सुनेपछि आज तपाईंहरुसमक्ष छु, राजेशपायलले विद्यार्थीलाई जोस्याउँदै ठट्टा पनि गरे– ‘पढाइमा म कहिले पनि पहिलो भइनँ। संगीतमा कहिल्यै दोस्रो भइनँ।

तर, तपाईंहरुचाहिँ पढाइमा पनि पहिलो नै हुनोस् है। अरू क्षेत्रमा पनि दोस्रो नहुनूस्।’ उनले कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावक तथा कार्यक्रम सञ्चालिकाको हुटिङपछि जोशिएर ‘विद्यार्थीको हौसलाका लागि’ भन्दै गीत पनि गाएर सुनँए। नौजाले गायक राईले हास्दै, मस्किँदै, डान्स स्टेप पस्किँदै आफ्नो पछिल्लो एल्बम दर्शन नमस्ते–३ मा संगृहित शीर्ष गीत दर्शन नमस्ते गाएर कार्यक्रमको रौनकता बढाए। विद्यार्थीले राजेशपायलको स्वरसँगै स्वर मिलाउँदै नाचगान पनि गरे। कतिपय विद्यार्थी त उनीसँगै मञ्चमा पुगेर नाचे। ‘नानीहरुले गीत गाएको र नाचेको देखेर म त छक्कै परें। पढाइसँगै संगीतलाई पनि यसरी प्राथमिकता दिने स्कुल देखेर खुसी लागेको छ’ –विशेष अतिथिका रूपमा विद्यार्थीको प्रस्तुतिसमेत नियालेका गायक राईले भने। गायक राईले अतिथिहरुका साथ स्कुलद्वारा आयोजित विभिन्न कार्यक्रमका विजयीहरुलाई पुरस्कार पनि प्रदान गरेका थिए।

कार्यक्रममा स्कुलका प्रिन्सिपल तथा नेप्लिज अमेरिकन रक ब्यान्ड द भाइब्ज ब्यान्डका ड्रमर दिरेकलाल श्रेष्ठले विद्यार्थीमा मञ्चमा जाने बानीको विकास भएको खण्डमा आत्मविश्वास वृद्धि हुने भएकाले संगीत र कलालाई पनि केन्द्रित गरेर स्कुल सञ्चालनमा ल्याएको खुलाए। ‘पढाइको साथसाथै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिइयो भने विद्यार्थीले अध्ययनलाई बोझको रूपमा लिँदैनन् भन्ने सोचले हामीले यसलाई प्राथमिकतामा राखेका छौं’, दिरेकले भने– ‘५ वर्षअगाडि ३८ जना विद्यार्थीबाट शुरु गरिएको स्कुलमा ३ सय विद्यार्थी पुग्नुले पनि हाम्रो सोचले आकार लिइरहेको प्रस्ट हुन्छ।’ त्यसै गरी प्रमुख अतिथि नेपाल मिडिया सोसाइटीका अध्यक्ष तथा नेपाल समाचारपत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले गुणस्तरीय पढाइ र व्यवहारिक ज्ञान दिएकाले नै स्कुलले फड्को मारेको पाइएको बताए। स्कुलका अध्यक्ष सुनीलकृष्ण श्रेष्ठले कार्यक्रम हेरेर पहिलो अभिभावक दिवस नभई रजत वर्षको कार्यक्रम हेरेको महसुस भएको चर्चा गरे। ‘स्कुलका टिचरहरुले लुकेको प्रतिभालाई यसरी बाहिर ल्याइदिएकोमा खुसी लागेको छ’, उनले भने– ‘संगीत, कला र व्यवहारिक ज्ञानमा जोड दिएकाले स्कुलले छोटो समयमै फड्को मार्न सफल भएको छ।’

अभिभावक दिवसमा स्कुलका विद्यार्थीले गीत–संगीत र नृत्य प्रस्तुत गरी सबैलाई चकित तुल्याएका थिए। कार्यक्रम पनि शिक्षिकाहरु रोशमी श्रेष्ठ र मञ्जरी आचार्यको मार्गनिर्देशनमा विद्यार्थीले नै सञ्चालन गरेका थिए। करिब ८ सय अभिभावक र विद्यार्थीका बीच सम्पन्न कार्यक्रममा स्पोर्ट डेका विजयी विद्यार्थीलाई स्कुलका अध्यक्ष सुनीलकृष्ण श्रेष्ठ, प्रिन्सिपल दिरेकलाल श्रेष्ठ, एकेडेमिक कोअडिनेटर विमला श्रेष्ठ, वडा नं. १९ का प्रशासकीय प्रमुख रकी शर्मा र गायक राजेशपायल राईले तक्मा र प्रमाणपत्र प्रदान गरेका थिए। सो अवसरमा विश्वमणि न्यौपाने, अरुण थापा र राजेशध्वज जोशीलाई उत्कृष्ट अभिभावकको रूपमा सम्मानित गरिएको थियो। कार्यक्रममा स्कुलका विभिन्न कक्षामा अध्ययनरत सबै ३ सय विद्यार्थीलाई विविध प्रस्तुतिका साथ मञ्चमा उतारिएको थियो।

प्रतिक्रिया दिनुहोस्