सिनियर डिभिजन १२ औं ब्याच तालिमको दीक्षान्त समारोह सम्पन्न



राष्ट्रिय सेवा दलद्वारा उपत्यका भित्रका ९ वटा विद्यालयहरु सम्मिलित गराई संचालित सिनियर डिभिजन १२ औं व्याच तालिमको दीक्षान्त समारोह राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक एवम् कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहालको प्रमुख आतिथ्यतामा लगनखेल स्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भव्यताका साथ सु(सम्पन्न भएको छ ।

उक्त दीक्षान्त समारोहमा काठमाण्डौं, भक्तपुर तथा ललितपुर जिल्लाको विभिन्न शाखाहरुका गरी ४३५ जना छात्र÷छात्राहरुले दीक्षान्त कवाज प्रदर्शन गर्नुका साथै खुकुरी ड्रिल, नृत्य, तेक्वान्दो पि.टी., डेमोन्स्ट्रेशन, एरोविक्स, मास पि.टी., आईकिदो तथा सामुहिक नृत्यहरु उत्कृष्ट ढंगले प्रदर्शन गरेका थिए ।

उक्त अवसरमा राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार उपरथी श्री रमीन्द्र क्षत्री (पी.एच.डी.) ले राष्ट्रिय सेवा दलको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो क्रममा वहांले राष्ट्रिय सेवा दलको तालिममा सहभागी छात्र÷छात्राहरुले तल्लो तहको तालीमको साथमा विपद् व्यवस्थापन, मानव सेवा, प्राथमिक उपचार लगायतका विषयहरुमा तालिम प्राप्त गरेको बताउनु भयो ।

त्यसैगरी वहांले दीक्षान्त समारोहमा गरिमामय उपस्थिति जनाउनु भएका राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक एवम् प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्णलाई हार्दिक कृतज्ञता ज्ञापन गर्नु भएको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री श्री दाहालले वार्षिक सामुहिक क्याम्पमा सर्वोत्कृष्ट हुने छात्रा रिमा मिधुन मगर र सर्वोत्कृष्ट छात्र युवराज तामाङ तथा वार्षिक सामुहिक क्याम्पमा सर्वोत्कृष्ट हुने से.मु. श्री विजेश्वरी ज्ञान मन्दिरलाई पुरस्कार प्रदान गर्नुका साथै सर्वोत्कृष्ट छात्र÷छात्राहरुलाई दज्र्यानी चिन्ह, शिल्ड तथा प्रमाण–पत्र प्रदान गर्नु भएको थियो ।

उक्त दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी सम्माननीय प्रधानमन्त्री श्री दाहालले राष्ट्र विकासको मूल मेरुदण्डको रुपमा रहेका युवाहरुलाई समय सापेक्ष रुपमा अनुशासन, नेतृत्व विकास, बफादारिता, राष्ट्रिय एकता र विपद् व्यवस्थापन सम्बन्धी ज्ञान दिलाउन सकेको खण्डमा हाल बढ्दो युवा पलायनलाई रोक्न सकिने तथा राष्ट्र विकासको लागि पर्याप्त जनशक्ति निर्माण हुने बताउनु हुँदै तालिमको दायरालाई थप फराकिलो पार्ने स्पष्ट योजनाहरुको कार्यान्वयनको लागि नेपाल सरकारले कुनै कसर बाकीं नराख्ने प्रविबद्धता समेत जनाउनु भयो ।

त्यसैगरि, सेवा दलको तालिमलाई लोकप्रिय र स्थापित गर्न नेपाली सेनाले खेलेको भूमिकाको उच्च प्रशंसा सहित नेपाली सेनाका वर्तमान प्रतिनिधि तथा विगतमा समेत अमूल्य योगदान दिनु भएका सम्पूर्ण सेना प्रमुख र सकलदर्जालाई आभार व्यक्त समेत गर्नु भयो ।

युवा शक्तिको महत्व तथा आवश्यकतालाई मनन गरि वि.सं.२०२२ साल कार्तिक ७ गते नेपाली सेनाको मातहतमा रहने गरि स्थापना भएको राष्ट्रिय सेवा दलले हालसम्म २६,८३८ जना छात्र÷छात्राहरुलाई सफलतापूर्वक तालिम प्रदान गरिसकेको छ ।

उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, राष्ट्रिय सेवा दलका सह संरक्षक माननीय रक्षामन्त्री, प्रधान सेनापति, रक्षा सचिव लगायत नेपाल सरकारका पदाधिकारीहरु, रथीबृन्द, राष्ट्रिय सेवादलका पूर्व प्रमुख सल्लाहकारहरु एवं अधिकृतहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु तथा शिक्षक वर्गहरु, संचारकर्मी लगायत अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्