महिला अन्तर्राष्ट्रिय तेक्वान्दो अर्को महिना



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल तेक्वान्दो संघअन्तर्गतको महिला सशक्तिकरण समितिको आयोजनामा प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता चैत २३ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भएको छ।

प्रतियोगितामा दक्षिण एसियाली राष्ट्र नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान गरी ६ राष्ट्रका करिब १ सय ६९ खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक नन्दा बस्यालले जानकारी गराइन्।

तेह्र स्पर्धामा समावेश दुईदिने प्रतियोगितामा गेरोगीमा सिनियर र जुनियर गरी विभिन्न ९ तौलसमूह तथा पुम्सेमा ४ विधामा खेल हुनेछ। हालै पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेताले प्रतियोगितामा भाग लिन पाउने छैनन्। पाँच क्षेत्र, विभागीय टोली नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब गरी ८ टिमका ९६ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। २० महिला निर्णायक परिचालन गरिने छ।

४५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि गठन गरिएको जानकारी दिइयो।

प्रतिक्रिया दिनुहोस्