को–कोविरुद्ध मुद्दा ?



विकास भट्टराई, काठमाडौं
३३ हजार ५ सय ग्रामभन्दा बढी सुन अवैध रूपमा ल्याएको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीसहित ३३ जनाविरुद्ध सरकारले काठमाडौं जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको छ।

ती प्रतिवादीबाट बिगो र जरिवाना गरी जनही ३३ करोड ६५ लाख ७७ हजार ४ सय १ रुपियाँ ३२ पैसा असुल उपर गर्नुपर्ने सरकारले अदालतसँग माग गरेको छ।
ती ३३ जनालाई भन्सार ऐन, २०६४ बमोजिम प्रत्येकलाई पाँच वर्ष कैद गर्न पनि सरकारले माग गरेको छ। सो ऐनको दफा ५७ मा भन्सार ऐनअन्तर्गतको अपराध गर्नेलाई २ देखि ५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ। काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार ध्रुवकुमार उप्रेतीले सो मुद्दामा प्रतिवादीहरू प्रत्येकलाई पाँच वर्षको कैद गर्न सरकारले माग गरेको जानकारी दिनुभयो।

सरकारले मुद्दा दर्ता गर्नका लागि अभियोगपत्रका साथमा एसएसपी खत्रीसहितका प्रतिवादीहरूलाई अदालतमा हाजिर गराएको छ। अदालतले आइतबारबाट नै उनीहरूसँग बयान लिन थालेको छ। स्रेस्तेदार उप्रेतीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले आजै (आइतबार) बाट प्रतिवादीहरूसँग बयान लिने कार्य थालनी गरेका छौं। उनीहरूको बयान लिने कार्य केही दिन जारी रहनेछ।
सो मुद्दामा प्रतिवादी बनाइएकाहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा तथ्यांक अधिकृतका रूपमा कार्यरत श्रीनारायण यादव, सोही कार्यालयमा रेडियो अपरेटरका रूपमा कार्यरत श्यामकृष्ण श्रेष्ठ (च्याबु) रहेका छन्।

यसै गरी, सोही कार्यालयमा रेडियो टेक्निसियनको रूपमा कार्यरत कर्मचारीहरू गंगाप्रसाद भुर्तेल, प्रधुम्नहरि श्रेष्ठ र तेजबहादुर च्यामु श्रेष्ठलाई सो अभियोगमा प्रतिवादी बनाइएको छ।

सो मुद्दामा विभिन्न संस्थाका सुन चाँदीका सञ्चालकहरू पनि परेका छन्। तीमध्ये प्रतिवादी बनाइएकाहरूमा वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस प्रालि, न्युरोडका सञ्चालक प्रमोद श्रेष्ठ, सालिमार ज्वैलर्स, विशालबजारमा कार्यरत रवि भन्ने राजेश बोगटी, आरके डाइमन्डका सञ्चालक राजेन्द्रकुमार शाक्य र उनकी श्रीमती मल्लिका वज्राचार्य शाक्य, वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस प्रालि, न्युरोडका सञ्चालकहरू रोजेश शाक्य, सुनील श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठ र गीता श्रेष्ठलाई पनि प्रतिवादी बनाई उनीहरूबाट ३३ करोड ६५ लाख ७७ हजार ४ सय १ रुपियाँ ३२ पैसा असुल गर्नुपर्ने माग सरकारको छ।

नेपालगन्जका गोपालबहादुर शाही, मोरङका दिलबन्धु थापा, काभ्रेपलाञ्चोकका रामहरि कार्की, जनकपुरका सन्तोष काफ्ले, सोही जिलाका रामकुमार ढकाल, सिराहाका संकेत उपाध्यायलाई पनि सरकारले सुन काण्डमा प्रतिवादी बनाएको छ। उनीहरूको पनि सुन तस्करीमा केही न केही भूमिका देखिएको अभियोगपत्रमा उल्लेख गरिएको छ।

सो सुन तस्करी काण्डमा ती ३३ जना प्रतिवादीहरू संगठितरूपमा मिली अपराध गरेका पनि आरोप लगाइएको छ। सोबापत पनि उनीहरूलाई सजाय हुनुपर्ने माग सरकारले अदालतसँग गरेको छ।
संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ मा गम्भीर अपराधमा हुने सजायमा संगठितरूपमा अपराध गर्नेलाई थप ५० प्रतिशत सजाय गर्नुपर्ने प्रावधान राखिएको छ। सो बापतको सजाय गर्न पनि सरकारले अभियोगपत्रमा उल्लेख गरेको छ।

गएको पुस २१ गते ३३ हजार ५ सय ७७ दशमलव ४ ग्राम सुन विमानस्थलबाट अवैधरूपमा छुटाई भन्सार पार गरेको आरोप लगाएर सोही ठाउँमा कार्यरत एसएसपी खत्रीलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो।

प्रहरीले सार्वजनिक सेवामा कार्यरतविरुद्ध भ्रष्टाचारमा छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पत्र पठाएको छ। यसै गरी सार्वजनिक सेवामा कार्य नगरेका अन्य प्रतिवादीविरुद्ध कारबाही गर्न सम्पत्ति शुद्धीकरण विभागमा सरकारले पत्र पठाएको छ।

प्रतिक्रिया दिनुहोस्