यस्तो रहेछ सुन तस्करको जालो



दीपक रिजाल, काठमाडौं
झन्डै ढेड महिनाअघि राजधानीबाट बरामद भएको ३३ किलो सुन तस्करीमा राजधानीका दुई नाम चलेका सुन पसलका मालिक संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानका क्रममा न्युरोडमा रहेको आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र के शाक्य, मालिका शाक्य र सालिमार ज्वेलर्सका मालिक रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयलको संलग्नता रहेको तर उनीहरूलाई पक्राउ गरिनसकेको सीआईबीले जानकारी दिएको छ।
उनीहरूले भारतीय नागरिक विभूति बालाचन्द्रनलाई नेपालबाट सुन पठाउने गरेको र उनलाई प्रमोद श्रेष्ठ नाम गरेका व्यक्तिले नेपालबाट भारतसम्म सुन पुर्याउने व्यवस्था गरेको पनि प्रहरीले जानकारी दिएको छ। ३३ किलो सुन काण्डमा ३० जनाको संलग्नता रहेको र अहिलेसम्म १२ जनालाई पक्राउ गरी कारबाही अगाडि बढाइएको सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले जानकारी दिनुभयो।

सीआईबीले सुन तस्करीमा संलग्न रहेका अभियुक्तहरूलाई पहिलोपटक संगठित अपराध ऐन २०७० अन्तर्गत कारबाही अगाडि बढाएको छ। दुबईमा बसेर नेपालमा सुन तस्करी गर्ने कार्यमा संलग्न रहेका हरिशरण खड्का र रोशन भुसाल उर्फ गुप्तलाल भुसाललगायत ५ जनालाई रेडकर्नर नोटिस जारी गर्ने अन्तिम तयारी गरिएको डीआईजी सिलवालले जानकारी दिनुभयो।

दुबईमा बसेका ५ जना नेपालीले भरियामार्फत् सुन नेपाल पठाउने र नेपालमा उक्त सुन आरके ज्वेलर्स, सालिमार ज्वेलर्स र बैभव लक्ष्मी गोल्ड सिल्भर प्यालेसका सञ्चालक सुनील श्रेष्ठ, सपन श्रेष्ठ र मनोज श्रेष्ठले उक्त सुन संकलन गरेर नेपाली बजारमा बिक्रीवितरण गर्नुका साथै बढी भएको सुन नेपालको बाटो हुँदै भारतको दिल्ली, मुम्बई, कोलकाता, राजस्थानलगायतका क्षेत्रमा भारतीय सुन तस्करलाई बिक्री गर्ने गरेको अनुसन्धानका क्रममा पत्ता लगाएको पनि डीआईजी सिलवालले जानकारी दिनुभयो।

प्रहरीले दुबईबाट नेपालमा सुनको संगठितरूपमा तस्करी हुन थालेको सुराकी पाएपछि लामो समयदेखि सुन तस्करको खोजीलाई तीव्र बनाएको थियो। दुबईबाट ल्याई नेपालमा सुन तस्करी हुने गरेको सुराकी पाएको सीआईबीले दुबई प्रहरीसँग समन्वय गरेर गत पुस २० गतेबाट अनुसन्धान शुरु गरेको थियो। फ्लाई दुबईबाट नेपाल आएका भोलाबहादुर मगरसमेत सुन तस्करीमा संलग्न रहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा ती अभियुक्तहरू पक्राउ परेको पनि सीआईबीले जानकारी दिएको छ।

प्रहरीले सुन तस्कर र विमानस्थलका कर्मचारीबीच फेसबुकमा भएको कुराकानीसमेत सार्वजनिक गरेको छ। सुन तस्करीमा रहेका विमानस्थलका कर्मचारीले आफू बिदा बस्न परे सुन तस्करको अनुमति लिएर मात्रै बिदा बस्ने गरेको र सुन तस्कर र कर्मचारीबीच फेसबुक म्यासेन्जरमा भएका कुराकानी हेर्दा उक्त गिरोहमा अन्य ठला सुन तस्करको समेत सम्लग्नता रहेको आशंका गरिएको छ।

सुन तस्करले सुन कहाँ पुग्यो कस–कसले सुन पायो कि पाएन सुन बोकेर जाने मान्छे कहाँ पुग्यो भन्नेबारेमा फेसबुक म्यासेन्जरबाट जानकारी लिने र विमानस्थलका कर्मचारीले सुन भएको लगेज र सुन लिएर हिँडेका भरियाको फोटो खिचेर सुन तस्करको फेसबुक म्यासेन्जरमा हालिदिने गरेको रहस्यसमेत प्रहरीले पत्ता लगाएको छ।

प्रहरीले अनुसन्धानका क्रमा सुन तस्करीमा संलग्न रहेका विष्णु सुवेदीले १७ महिनामा १ सय ८ पटक दुबई पुगेर नेपालमा अवैधरूपमा सुन ल्याएको समेत पत्ता लगाएको छ।

नेपाल प्रहरीले त्रिभुवन विमानस्थल तथा अन्य नाकाबाट पक्राउ गरी विगत ५ वर्षमा ३ सय १४ जना सुन तस्करलाई कारबाहीका लागि राजस्व अनुसन्धान विभाग र भन्सार विभागमा बुझाएको भए पनि ती सुन तस्करमाथि कुनै कारबाही नभएको र धरौटीमा छुटेर पुन सुन तस्करीमा संलग्न हुन थालेपछि प्रहरीले सुन तस्करविरुद्ध संगठित अपराधमा मुद्दा चलाएको हो।

सीआईबीले सुन तस्करीमा संलग्न रहेका १२ जनाविरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा संगठित अपराध निवारण ऐन २०७० अनुसार मुद्दा दर्ता गराएको छ। मुद्दा दर्ता गराएकामा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक श्याम खड्का, गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्ले, रामहरी कार्की, श्रीनारायण यादव, राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठ च्वामु, वैभव लक्ष्मी गोल्ड एन्ड सिलभर प्यालेसका सञ्चालकहरू रोजेश शाक्य, सुनील श्रेष्ठ, सपन श्रेष्ठ र मनोज श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ।

फरार भनिएका बाँकी १८ जनाविरुद्ध समेत मुद्दा दायर गरिएको र उनीहरूको खोजीलाई तीव्र बनाएको पनि प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्