प्रमाणपत्ररूपी शिक्षाको परिवर्तन जरुरी



डा. देवीप्रसाद आचार्य

शिक्षा जीवनको तयारी र समाज विकासको भरपर्दो माध्यम हो। हाम्रो देशमा २००७ पछाडि शिक्षालाई समयसापेक्ष, गतिशील र प्रजातान्त्रिक परिवेश अनुकूल बनाउने उद्देश्यले विकासका प्रयासहरू गरिएको पाइन्छ। राज्यले विभिन्न कालखण्डमा शिक्षा आयोगहरूको निर्माण गरी शिक्षाविद्हरूका रायसल्लाह लिने गरेको छ। तथापि यी सबै प्रयासको बाबजुद पनि शिक्षामा प्राविधिक ज्ञान र व्यावसायिक सीपसहितको गुणस्तरीय शिक्षाको विकास नभएको जनगुनासो छ।

हाम्रो देशमा राज्यको लगानीमा सञ्चालित सामुदायिक विद्यालय र निजी लगानीमा सञ्चालित अंग्रेजी वोर्डिङ विद्यालयहरू गरी दुई थरीका शिक्षालयहरू छन्। यी दुबै थरीका शिक्षालयहरूमा पठनपाठन गरिने पाठ्यक्रम र पाठ्यपुस्तकको स्तर समानान्तर छ। एकै प्रकारका पाठ्यक्रम र पाठ्यपुस्तकको विषयवस्तुमा पढाइ हुने यी विद्यालयहरूमा सरकारी शिक्षालयमा भन्दा निजी शिक्षालयको परीक्षा नतिजा राम्रो देखिन्छ। प्राप्ताङ्कको आधारमा मात्र शिक्षाको गुणस्तरलाई मूल्याङ्कन गरिनु न्यायोचित हुँदैन भन्ने शिक्षाविद्हरूको मतलाई आधार बनाउने हो भने हाम्रो देशका यी दुबै थरी शिक्षालयहरू प्रमाणपत्रमुखी, बेरोजगार जनशक्ति उत्पादन गर्ने शैक्षिक प्रयोगशालाको रूपमा रहेको बहस छ।

राज्यले शिक्षाको विकासका लागि तहगत, संरचनागत, पाठ्यक्रम र पाठ्यपस्ुतकमा परिवर्तन गर्ने प्रयास गरेको भए तापनि समयसापेक्ष शिक्षा नीति, पाठ्यपुस्तकहरूमा परिवर्तन, संशोधन र परिमार्जन हुन नसक्दा समाजको आवश्यकता र समयको मागअनुसार विकास हुन नसकेको हो। शिक्षाले शिक्षितहरूमा जीवन निर्वाह गर्न सक्ने ज्ञान, सीप र सिर्जनाको विकास गर्न नसकेको हो ।

आधारभूतरूपमा शिक्षाले विद्यार्थीको प्रतिभालाई जागृत गराउनुपर्दछ। कुनै पनि विषयको आत्मबोध र आत्मानूभूति गर्न सक्ने सिकाइ मात्र दीर्घकालीन हुन सक्छ। सीपमूलक शिक्षा आजको आवश्यकता हो। व्यावसायिक र प्राविधिक शिक्षाले आयआर्जनका सम्भावनाहरूको अवसर प्रदान गर्न सक्छ। हाम्रा शिक्षालयहरूबाट उत्पादित जनशक्तिलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन भइरहेको अवस्था छ। शिक्षालयबाट प्राप्त गर्ने प्रमाणपत्रको आधारमा अनिश्चित भविष्यको यात्रामा अक्क न बक्क भएका शिक्षित बेरोजगार युवाहरूमा नैराश्यता, कुण्ठा र आर्थिक अभावले विदेश पलायन हुन बाध्य हुनु मुलुकको दुभाग्र्य हो।

शिक्षाले शिक्षित वर्गलाई आफ्नो देशमा भएको प्राकृतिक स्रोत र सम्पदाको ज्ञान र यसको उपयोग गर्न सक्ने सीप सिकाउन सकेको छैन। कृषिलाई आधुनिकीकरण गरी आयआर्जनको स्रोत बनाउन सक्ने क्षमताको ज्ञान र सीप शिक्षाले प्रदान गर्न सकेको छैन। एकातिर शिक्षित जनशक्ति विदेशमा पसिना बगाउन बाध्य छ भने अर्कोतिर गाउँघरका खेतबारी बाँझिएका छन्। मुलुकमा खाद्यान्न, तरकारी, फलपूmल, माछामासुलगायतका खाद्यपदार्थमा परनिर्भरता बढिरहेको अवस्था छ। राज्यले तय गरेको शिक्षा र यसबाट प्राप्त ज्ञान तथा सीपले शिक्षितहरूलाई कृषि क्षेत्रमा स्वरोजगार, आत्मनिर्भर र आयआर्जन स्रोत बनाउन नसक्दा उत्पादन घटेको छ। स्वरोजगार मैत्री आयआर्जनका बाटाहरू खुल्न सकेका छैनन्।

कृषिप्रधान देश भएकोले कृषि, पशुपालन, माहुरीपालन, रेसम खेती, तरकारी खेती, फलपूmल खेती, पुष्पखेती, माछापालन, अदुवा, अलैंची अम्रिसो आदि नगदेबालीहरूको व्यावसायिक खेती गर्न सक्ने सैद्घान्तिक ज्ञानसहितको प्रयोगात्मक सीप शिक्षित वर्गको आयआर्जनको स्रोत हो। यस अर्थमा आत्मनिर्भर हुन सक्ने ज्ञान र सीपमा आधारित शिक्षा प्रणाली अहिलेको अनिवार्य सर्त हो। शिक्षाले आत्मनिर्भर, स्वावलम्बी, स्वरोजगार र उद्यमकर्मी बनाउनुपर्दछ। व्यावसायिक ज्ञान र प्रयोगात्मक सीपमा आधारित शिक्षाले मात्र व्यक्ति आत्मनिर्भर बन्न सक्छ।

देशबाट लाखौंको संख्यामा शिक्षित युवाहरू रहरले विदेशिएका होइनन्। शिक्षालयहरूले प्रदान गरेका प्रमाणपत्ररूपी ज्ञानले स्थानीय बस्तीहरूमा आयआर्जनका सम्भावनाको खोजी गरी आत्मनिर्भर बनाउन सकेन। त्यसैले युवाहरू विदेशिएका हुन्, खेतबारी बाँझिएका हुन्, उत्पादन घटेको हो, परनिर्भरता बढेको हो। यस अर्थमा हाम्रा शिक्षालयहरू अनुत्पादक शिक्षाको प्रमाणपत्र वितरकको रूपमा चित्रित भएका छन्।

देशमा एकातिर शिक्षालयहरूमा अध्यापनरत विषयगत शिक्षक तथा प्राध्यापकहरूको शिक्षण सीप, पेसाप्रतिको जवाफदेहीता र शैक्षिक व्यवस्थापन गुणस्तरीय नभएको जनगुनासो छ भने अर्कोतिर राज्यले तय गरेको शिक्षा नीति र पठनपाठनको विषयवस्तु समयसापेक्ष नभएको शिक्षा विज्ञहरूको तर्क छ। प्राविधिक र व्यावसायिक शिक्षाको सीपमा आधारित प्रयोगात्मक सीपको लागि युवा स्वरोजगार आयोजना स्थापना गरी उनीहरूलाई शैक्षिक योग्यता र सीपको आधारमा आर्थिक आयआर्जनका क्षेत्रमा आत्मनिर्भर बनाउन राज्यले अवसर दिनुपर्दछ।

अहिलेको युग ज्ञान, विज्ञान र प्रविधिको युग हो। ज्ञान, विज्ञानका नवीन चमत्कारहरूसँग पनि शिक्षा सामञ्जस्य हुन जरुरी हुन्छ। प्रविधिको क्षेत्रअन्तर्गत कम्प्युटरको ज्ञान हरेक कार्यक्षेत्रमा जोडिएकोले शिक्षालयहरूले कम्प्युटरको ज्ञान र सीपलाई आधुनिक शिक्षा प्रणालीमा अवलम्बन गर्न आवश्यक छ। कम्प्युटरभित्र जोडिएका वैज्ञानिक र सामाजिक सञ्जालहरूसँग गाँसिएका क्षेत्रहरूमा ज्ञान आर्जन गर्दै इन्टरनेटलाई गुरु बनाउन सकिन्छ। घरमै बसेर वैज्ञानिक खोज, अनुसन्धान, अन्वेषण र आविष्कारहरूको सूचना प्राप्त गर्न सकिन्छ। गुगललाई शिक्षक, प्रशिक्षक, निर्देशक वा मार्गदर्शकको ज्ञानगुरु बनाउन सकिन्छ। प्रमाणपत्ररूपी शिक्षाको परिवर्तन गर्न सम्बन्धित निकायको ध्यान केन्द्रित हुनु जरुरी छ।
(लेखक शिक्षाविद् हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्