महिलाको आयमूलक व्यावसायिकतामा जोड दिइने



महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खडका १०७औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सिंहदरबारमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै । तस्बिर, कालिका खडका, रासस अन्तर्राष्ट्रिय महिला दिवस

काठमाडौँ, २२ फागुन । सरकारले प्रत्येक वर्षजस्तै यस वर्ष पनि प्रभावकारी तरिकाले एक सय  सातौँ अन्तर्राष्ट्रिय महिला दिवस(यस वर्ष फागुन२५) मनाउने तयारी गरेको छ ।

सो दिवसका अवसरमा मार्च ७ (फागुन २४) मा कपिलवस्तुबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम शुभारम्भ गरिने छ ।

करिब रु २५ करोडको कार्यक्रमले महिलालाई आयमूलक सीप दिने जनाइएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कुमार खड्काले महिलाको आर्थिक सबलीकरण गर्नका लागि आयमूलक सीप जरुरी भएको बताउनुभयो । मन्त्री खड्काले महिलाको आयमूलक व्यावसायिकतामा जोड दिने यस वर्षको लक्ष्य रहेको जानकारी दिनुभयो ।

यस वर्षको नारी दिवसको राष्ट्रिय नारा ‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ भन्ने रहनेछ । दिवस सफल पार्न मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन भएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहान भृकुटीमण्डपबाट पदयात्रा सुरु गरी सहिदढोका हुँदै शान्तिबाटिका पुगेर समापन गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस्