आर्थिक सहयोग पाए तर मृगौला पाएनन्



ज्ञानमणि नेपाल कालोटोपी,काभ्रे
दुवै मृगौला पीडित काभ्रेको चण्डेनीमण्डनका २२ वर्षिय विशाल नेपालका लागि आर्थिक सहयोग आउनेक्रम विगत २ महिना यता निरन्तर छ ।

बुबाको प्यारालाइसिस र छोराको दुवै मृगौला फेल सम्बन्धि समाचार विभिन्न संचारमाध्यममा आएपछि उनलाई देशविदेशबाट सहयोग गर्नेहरु ह्वात्तै वढेका थिए । यो समय अवधिमा उनलाई विदेशमा र स्वदेशमा रहेका साथीभाई, आफन्त र अपरिचत मित्रहरुले समेत विशाल नेपाल बचाउ अभियान नै संचालन गरि सहयोग जुटाइरहेका छन् ।

हालसम्म उनका लागि कुन्तावेसि स्थित मण्डनदेउपुर साकोस र स्थानिय युवाक्लव मार्फत संकलित ६ लाख ७८ हजार रुपैयाँ विशालको बैंक खातामा जम्मा गरिएको कुन्तावेसिबाट कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । त्यसैगरि अमेरिकाबाट चण्डेनीमण्डनकै देवेन्द्र नेपालले त्यहाँ संकलित २ लाख १८ हजार रुपैयाँ पठाइसक्नु भएको छ भने अन्य सहयोग पनि उठिरहेको जानकारी दिनु भएको छ । अमेरिकामै रहनुभएका हिंगुवापाटीका महेश नेपालले पनि सहयोग संकलन गरिरहेको खबर पठाउनु भएको छ ।

त्यस्तै अष्टेलियाबाट रानीटारका सुनिल सापकोटाले ७० हजार सहयोग पठाउनु भएकोछ भने कोरियाबाट दिलबहादुर लामा र तेज दाहाल लगायत अन्य साथीहरुको सहयोगमा १ लाख ५७ हजार सहयोग आइसकेको छ । व्यक्तिगत रुपमा हिंगुवापाटीका मधुसुदन नेपाल र धाइटारका राममणि सापकोटाले एक ÷एक लाख सहयोग गर्नु भएको छ ।

त्यसैगरि कान्तिटारका शंकरमणि नेपालले आफ्नो पहलमा २ लाख ७० हजार जति सहयोग संकलन गरि पीडितलाई बुझाइसकेको जानकारी दिनुभएको छ । दुबइबाट रायोवारीका दयाराम नेपालले ५७ हजार र ओमानबाट वसन्त नेपालले १३ हजार सहयोग गर्नु भएको छ । अमेरिकाबाटै दिपक सापकोटाले २१ हजार पठाउनु भएको छ । त्यस्तै यूकेबाट रायोबारीका नारायण नेपालले ७९ हजार सहयोग गर्नु भएको छ ।

चण्डेनीमण्डन स्थित माइटार, जोगिटार, ज्वानेटार, कान्तिटार र डडालीथोकबाट राजधानी आइ बसोबास गरिरहनु भएका युवाहरुले पनि विशाललाई करिव २ लाख ५० हजार संकलन गरि सहयोग गर्नुभएको छ । पेप्सिकोला निवासि मिलन नेपालले पनि सहयोग संकलन गरिरहनु भएको छ । मलेसियाबाट विमल पौडेलले ६८ हजार ५ सय संकलन गरेर पठाउनुभएको छ । मलेसियाबाटै चण्डेनीमण्डनका सरोज पराजुली र हर्क माझीले ८ हजार २ सय सहयोग पठाउनुभएको छ ।

विशालकै निवासमा पुगेर व्यक्तिगत सहयोग गर्नु हुने दाताहरुको संख्या पनि उल्लेख्य छ भने अझै सहयोग गर्न इच्छुक व्यक्तिहरु पनि देखिनु भएको छ । यसरी विशाललाई नसोचिएको आर्थिक सहयोग आएको भएपनि मृगौलादाताको अभावले हालसम्म उनको मृगौला फेर्न भने सकिएको छैन । अस्पताल र डाक्टरहरुको प्रत्यक्ष निगरानीमा रहेका उनलाई आफ्नै बुबाले मृगौला दिनुहुने भनिए पनि रगत समुह नमिलेका कारण सम्भव हुन सकेन ।

उनको परिवारमा रहनुभएका सदस्यहरुको बि पोजेटिभ रगत समुह रहेको र विशालको भने ओ पोजेटिभ समुह भएकाले चाहेर पनि परिवारबाट मृगौला दान हुन सकेको छैन । अस्पतालले पनि उनको लागि विशेष प्राथमिकता दिएर दाताहरुलाई अनुरोध गरेको छ । परिवारले कुनै इच्छुक दाता हुनुभए खबर गरिदिन सबैलाई अनुरोध गरेको छ । विशालका बुबा राजु नेपाल भन्छन् – “आर्थिक सहयोग गर्नु हुने सबै दाता प्रति आभारी छु । रगत किने जस्तो मृगौला किन्न नपाइने रहेछ । त्यसैले हामी दाताको खोजीमा छौं । यदि नेपालमा दाता भेटिएन भने म भारत पठाएर भएपनि विशालको मृगौला फेर्ने प्रयासमा छु ।”

अहिले अस्पतालले केहि हप्ता नेपालमै उपचार गराउन र यहाँ सम्भव नभए मात्र बाहिर लैजाने सल्लाह दिएको उहाँले जानकारी दिनुभयो । गएको असोज देखि यता विशालको उपचारको लागि मात्र करिव ४ लाख ५० हजार रुपैयाँ खर्च भइसकेको पारिवारिक स्रोतले जानकारी दिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्